News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए।
- स्याङ्जामा उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्ने भन्दै निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स नपाइने स्पष्ट पारे।
- महामन्त्री पौडेलले वर्तमान सरकारले नागरिकस्तरसम्म काम गर्न नसकेको, संविधान संशोधन र बाढी प्रभावित तथा सुकुम्बासी समस्या समाधानमा अपरिपक्वता देखाएको आरोप लगाए।
२९ कात्तिक, स्याङ्जा । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए।
नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने काङ्ग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताएका हुन्।
निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए।
काङ्ग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पारे। सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे।
वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए। सरकार नागरिकको विश्वास गुमाउँदै गएको उनको भनाइ थियो।
काङ्ग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली काङ्ग्रेस राजनीतिको विश्व विद्यालय भएको बताए। उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौँ’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिए।
प्रतिक्रिया 4