सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको योजना बनाउन र त्यसमा सहभागी हुन भूमिका खेलेका हमासका एक वरिष्ठ नेता इजरायली हवाई आक्रमणमा मारिएका छन् ।
हमासको सैन्य संगठन अल कासम ब्रिगेडका अनुसार रफाह ब्रिगेडका नवनियुक्त कमान्डर समिर अबु युनिस शनिबार दक्षिणी गाजापट्टीको अल मवासी क्षेत्रमा मारिएका हुन् ।
हमासका एक स्थानीय अधिकारीले युनिसको मृत्यु भएको पुष्टि गरेका छन् । इजरायली सेनाले पनि उनलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
गाजाका प्रत्यक्षदर्शीका अनुसार अल मवासीस्थित अल वाहा शिविरमा रहेको एउटा पालमा चारवटा क्षेप्यास्त्र प्रहार भएका थिए । आक्रमणपछि पालमा आगलागी भएको थियो । उक्त शिविरमा विस्थापित भएका सयौं मानिस बस्दै आएका थिए ।
दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालका एक चिकित्सकीय स्रोतका अनुसार आक्रमणपछि तीन जना घाइते र एक जनाको शव अस्पताल पुर्याइएको थियो ।
इजरायली सेना र सुरक्षा निकाय आईएसएले टेलिग्राममार्फत जारी गरेको संयुक्त वक्तव्यमा युनिस मारिएको पुष्टि गरेका छन् ।
वक्तव्यमा युनिसलाई ‘हमासका वरिष्ठ नेताहरूमध्येका एक महत्वपूर्ण व्यक्ति’ भन्दै उनले आफ्नो ब्रिगेड र हमासको सैन्य क्षमता पुनः विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ ।
इजरायली पक्षका अनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक र सैनिकविरुद्ध आक्रमणको तयारी गर्न तथा त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।
प्रतिक्रिया 4