+
+
Shares

रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरे ।
  • उनले ७६ देशका ४८० प्रतिनिधि सहभागी सम्मेलनमा आर्थिक स्वाधीनता, बहुध्रुवीय विश्व व्यवस्था र दक्षिण–दक्षिण सहकार्यमा जोड दिए ।
  • प्रचण्डले नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको र भूगोल सहयोग तथा साझा समृद्धिको पुल बन्नुपर्ने बताए ।

३० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् ।

सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।

चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे ।

विश्व मानवता र सार्वभौमसत्ताका मुख्य बुँदाहरू–

सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता अपरिहार्य रहेको औंल्याए । उनले सम्बोधनको क्रममा मुख्यतया निम्न विषयहरूमा जोड दिए ।

आर्थिक र राजनीतिक स्वाधीनता: जबसम्म कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकताहरू तय गर्न स्वतन्त्र हुँदैन, तबसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण हुन सक्दैन ।

बहुध्रुवीय विश्व व्यवस्था: कुनै पनि राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने मौलिक अधिकार छ । सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्थाको विकास गर्नुपर्छ ।

दक्षिण–दक्षिण आर्थिक सहकार्य: सीमित बाह्य वित्तीय केन्द्रहरूमा निर्भर रहनुको साटो विस्तारित व्यापार, लगानी र पूर्वाधार साझेदारीमार्फत अर्थतन्त्रहरू बलियो बनाउनुपर्दछ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार: विश्वव्यापी वित्त नियन्त्रण गर्ने संस्थाहरू लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ । जोखिम न्यूनीकरणका लागि स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको खोजी गर्नुपर्नेमा जोड ।

प्रविधि हस्तान्तरण र औद्योगिकीकरण : ‘ग्लोबल साउथ’ केवल कच्चा पदार्थको आपूर्तिकर्ता मात्र बन्न नहुने बताउँदै औद्योगिकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने ।

नेपालको अनुभव र परराष्ट्र नीति

नेपालको शान्ति प्रक्रिया र राजनीतिक रूपान्तरणको चर्चा गर्दै संयोजक प्रचण्डले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको स्मरण गराए ।

छिमेकी मुलुकहरूसँगको सम्बन्धबारे बोल्दै उनले भनेका छन्, ‘भारत र चीनको बीचमा रहेको एक सार्वभौम, भू–परिवेष्ठित विकासोन्मुख देशको रूपमा नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ । हाम्रो भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्छ, न कि भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल ।’

साथै, उनले रसियासँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उच्च कदर गर्दै शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य अझ सुदृढ गर्न चाहेको स्पष्ट पारे ।

सम्बोधनको अन्त्यमा संयोजक प्रचण्डले कुनै पनि राष्ट्र अर्कोको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहोस् र विकासको अधिकारबाट कोही पनि वञ्चित नहोस् भन्दै स्वतन्त्रता, शान्ति, सामाजिक न्याय र उज्ज्वल भविष्यका लागि सङ्घर्षरत सम्पूर्ण जनसमुदायप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गरे ।

मस्कोमा रहँदा संयोजक प्रचण्डले संसारभरिबाट आएका राजनीतिक दलका नेताहरूसँग दुईपक्षीय र बहुपक्षीय भेटघाट गर्ने र अन्तर्राष्ट्रिय रूपमा पार्टीको सम्बन्ध बलियो बनाउँदै नेपाल फर्किने विषय नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग सदस्य माधव पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?