+
+
Shares

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन

‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिक सेट भत्किँदै गएको र नयाँ सेट नबनेको बताए।
  • शनिबार उद्घाटन भएको दुई महिने राष्ट्रिय जागरण अभियान मङ्सिर २५ गतेसम्म चल्नेछ र नेताहरू गाउँ, वडा र टोलमा जनतासँग संवाद गर्नेछन्।
  • प्रचण्डले अमेरिका, चीन, रुस र भारतबीचको प्रतिस्पर्धाले नेपाल भूराजनीतिक चलखेलको केन्द्र बनेको बताए।

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिको सेट भत्किँदैछ । नयाँ सेट पनि बनिसकेको छैन । यसको असर संसाररभर परेको प्रचण्डको दाबी छ ।

शनिवार दुई महिने ‘राष्ट्रिय जागरण अभियान’को उद्घाटन गर्दै प्रचण्डले यसबारे बताएका हुन् ।

‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन्, ‘यो भूराजनीति भनौं या विश्वभरीको दोस्रो विश्वयुद्धपछिको सेट भत्किँदै गरेको र नयाँ सेट बनिनसकेको परिस्थितिको असर सबैतिर परेको छ ।’

संयोजक प्रचण्डका अनुसार शनिबारदेखि आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने जागर अभियानका क्रममा यी विषय जनतामाझ राखिनेछ ।

सन् १९४४ देखि १९४५ को बीचमा बहुपक्षीयता, खुला व्यापार र सामूहिक सुरक्षामा आधारित स्वरूप कोरिएको थियो । यसका मुख्य तीनवटा स्तम्भहरू राजनीतिक/सुरक्षा स्तम्भ, आर्थिक स्तम्भ र सैन्य स्तम्भ थिए ।

दोस्रो विश्वयुद्धपछि राजनीतिक/सुरक्षा स्तम्भ अन्तर्गत सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भयो । यसको मुख्य उद्देश्य भविष्यमा तेस्रो विश्वयुद्ध हुन नदिनु र विश्वमा शान्ति कायम गर्नु थियो । यसको केन्द्रमा पाँच शक्तिशाली राष्ट्रहरू अमेरिका, बेलायत, सोभियत संघ, फ्रान्स, र चीन लाई भिटो पावर सहितको सुरक्षा परिषद् मा राखिएको छ ।

आर्थिक स्तम्भ अन्तर्गत सन् १९४४ मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको जग बसालिएको थियो । यसले अमेरिकी डलरलाई विश्वको सञ्चिति मुद्रा बनाएको हो । पछि सन् १९४७ मा खुला र स्वतन्त्र व्यापारको नियम बनाइएको थियो ।

सैन्य स्तम्भ अन्तर्गत सन् १९४९ मा सोभियत संघको विस्तार रोक्न अमेरिकाको नेतृत्वमा उत्तर एटलान्टिक सन्धि संगठन स्थापना गरिएको थियो ।

यस्तो सेट बनाउन शृङखलाबद्ध वार्ता र शक्ति प्रदर्शन भएका थिए ।

दोस्रो विश्वयुद्धपछि बेलायत र फ्रान्स जस्ता युरोपेली शक्तिहरू कमजोर भए । एसिया र अफ्रिकाका दर्जनौं देशहरू स्वतन्त्र भए र विश्वको राजनीतिक नक्सा बदलियो ।

अमेरिकाले युद्धले ध्वस्त भएको युरोपलाई पुनर्जीवित गर्न अर्बौँ डलरको आर्थिक सहयोग उपलब्ध गरायो । जसले गर्दा पश्चिमी युरोप अमेरिकी क्याम्पमा बलियो गरी बाँधियो ।

नेकपाका संयोजक प्रचण्डले यसरी बनेको दोस्रो विश्वयुद्धपछिको सेट भत्किँदै गरेको बताएका हुन् ।

साथै, नयाँ सेट बनिनसकेको र यस परिस्थितिको असर सबैतिर परेको बताएका छन् । तर नयाँ सेट बनाउन क–कसले के कस्ता कार्य गरिरहेका छन् भनेर व्याख्या गरेनन् ।

बरू प्रचण्डले विश्व राजनीतिको बदलिँदो परिस्थितिबाट नेपाल पनि प्रभावित भएको भन्दै उनले जनतामा सही जागरण आवश्यक रहेको बताएका छन् ।

‘हाम्रो नेपाल त झन दुइटा विशाल छिमेकीको बीचमा हुनुको कारणले र अर्कोतिर जियोपोलिटिक्समा यी दुई वटा शक्तिहरूसँग पनि विश्वमहाशक्तिहरूको प्रतिस्पर्धा चर्को भएका कारणले पनि हाम्रो देश भूराजनीतिक चलखेल या भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन ।’

अर्थात्, प्रचण्डका नजरमा विश्वमहाशक्तिहरू अमेरिका, चीन र रुसबीचको चर्को प्रतिस्पर्धा र नेपालका दुई छिमेकीहरू चीन र भारतको उदीयमान शक्तिका कारण नेपाल प्रत्यक्ष रूपमा भूराजनीतिक चलखेलको केन्द्र बन्न पुगेको छ ।

विगतमा भूराजनीतिको यो परिस्थिति बुझाउँदै र जनतालाई अधिकार दिलाउन सक्षम पार्टी आफूहरूको उल्लेख गर्दै प्रचण्डले नयाँ विश्वपरिस्थिति र नेपालको अवस्थाबारे जनतालाई बताएर अगाडि बढ्न खोजिएको बताएका छन् ।

अभियानको उद्घाटनका क्रममा नेकपाले अपिल समेत जारी गरेको छ । जसअनुसार अभियानकाका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोल–टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिला लगायतका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आलोचना सुन्ने कार्यतालिका छ ।

अभियानले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा, जनअधिकारको संरक्षण, सामाजिक न्याय, र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सन्दर्भमा जागर पैदा गर्ने नेकपाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?