News Summary
Generated by OK AI. Editorially reviewed.- रघु राम १२ वर्षपछि ‘रोडिज रिबर्थ’मा होस्टका रूपमा फर्किएका छन् र प्रतियोगीको ‘मृत्यु’ वा ‘पुनर्जन्म’ तय गर्ने विशेष अधिकार पाएका छन्।
- रघु र राजीव रामले सन् २०१४ मा निर्माताको बढ्दो हस्तक्षेपका कारण ‘रोडिज’ छाडेका थिए।
- नयाँ सिजनमा रन्नविजय सिंहाले नेतृत्व गरिरहेका छन् भने ६ ग्याङ लिडरलाई ‘ओजी’ र ‘न्युजी’ गरी दुई समूहमा बाँडिएको छ।
‘रोडिज’सँग रघु रामको सम्बन्ध पुरानो हो । एक दशकभन्दा बढी समय यो शोसँग जोडिएका उनी सन् २०१४ मा भने भाइ राजीव रामसँगै कार्यक्रमबाट बाहिरिएका थिए ।
निर्माताको हस्तक्षेप बढ्दै गएको भन्दै ‘रोडिज’ छाडेका रघु १२ वर्षपछि फेरि यही शोमा फर्किएका छन् । यसपटक उनी ‘रोडिज रिबर्थ’मा होस्टका रूपमा देखिँदैछन् ।
तर उनको भूमिका यसपटक प्रस्तोताको मात्रै छैन। रघुलाई प्रतियोगीको ‘मृत्यु’ वा ‘पुनर्जन्म’ तय गर्न सक्ने विशेष अधिकारसमेत दिइएको छ ।
फर्किएपछि रघुले आफ्नो आगमनलाई ‘रोडिज’कै नयाँ अध्यायसँग जोडेका छन् ।
‘रोडिज’ भारतको सबैभन्दा लामो समयदेखि चलिरहेको रियालिटी शो भएको बताउँदै उनले समयसँगै कार्यक्रमको स्वरूप पनि परिवर्तन हुँदै आएको बताए ।
‘पहिलो दशकमा शो एउटा निश्चित ढाँचामा चल्यो। त्यसपछि ग्याङ लिडरहरू आए र कार्यक्रम अझ लोकप्रिय बन्दै गयो। अब ‘रोडिज’ तेस्रो दशकमा प्रवेश गर्दैछ ।
त्यसैले, फेरि केही नयाँ र फरक गर्ने समय आएको छ,’ उनले भने ।
उनले आफ्नो पुनरागमनलाई भने अझै रोचक ढंगले व्याख्या गरेका छन्।
‘यो मेरो पुनर्जन्म हो। र, इमानदारीपूर्वक भन्नुपर्दा, ‘रोडिज’का लागि यो सबैभन्दा खराब खबर हो । किनकि, यो पुनर्जन्मको यात्रामा उनीहरूले नर्कभन्दा कम केही भोग्ने छैनन्,’ उनले भने ।
किन छाडेका थिए, रघुले ‘रोडिज’ ?
रघु र उनका भाइ राजीवले सन् २०१४ मा ‘रोडिज’ छाडेका थिए । त्यसको कारण थियो, कार्यक्रमको निर्माण पक्षबाट बढ्दो हस्तक्षेप ।
सन् २०२४ मा एक पोडकास्टमा रघुले आफूले ‘रोडिज’ छाड्नुको कारण खुलाएका थिए । उनका अनुसार कार्यक्रम ठूलो हुँदै जाँदा निर्माताको दबाब पनि बढ्दै गएको थियो ।
‘हामीलाई मानिसहरूमाथि चिच्याउन भनिन्थ्यो। उनीहरूको शैलीअनुसार चल्नुपर्थ्यो । सफल भएपछि आउने समस्या यही हो । तपाईं अब आफू रहनुहुन्न, तपाईं उनीहरूको हिस्सा बन्नुहुन्छ,’ उनले भनेका थिए।
रघुले अहिलेको ‘रोडिज’ आफूले बनाउन चाहेको कार्यक्रमजस्तो नभएको पनि बताएका थिए । तर, त्यसका लागि उनले निर्मातालाई गलत भनेका थिएनन् ।
उनका अनुसार कार्यक्रमले अहिले आफूले चाहेको स्वरूपमा राम्रो काम गरिरहेको छ । तर अरूले सफल बनाएको शैली पछ्याउनुभन्दा आफ्नै पहिचान बनाउनु अझ रोचक हुने उनको धारणा थियो ।
अब ‘रोडिज रिबर्थ’मा ६ ग्याङ लिडर
नयाँ सिजनमा रन्नविजय सिंहाले कार्यक्रमको नेतृत्व गरिरहेका छन् । कार्यक्रममा ६ जना ग्याङ लिडर छन्, जसलाई ‘ओजी’ र ‘न्युजी’ गरी दुई समूहमा बाँडिएको छ।
‘ओजी’ समूहमा निखिल चिनापा, नेहा धुपिया र प्रिन्स नरुला छन् भने ‘न्युजी’ समूहमा अभिषेक मल्हान, बानी जे र बासिर अली छन् ।
रोडिजकै प्रतियोगीका रूपमा यात्रा सुरु गरेकी बानी जे अहिले ग्याङ लिडर बनेकी छिन्। उनले पनि समयसँगै शोमा आएको परिवर्तनबारे अनुभव सुनाएकी छिन् ।
उनका अनुसार अहिलेका प्रतियोगीहरू पहिलेभन्दा निकै फरक र सक्षम छन् । उनीहरू शिक्षित मात्र नभई आफ्नै करियरमा पनि स्थापित रहेको बानीले बताएकी छिन् ।
उनले नयाँ सिजनमा चिकित्सकदेखि ओलम्पिक खेलाडीसम्मका प्रतियोगी देखेर आफू प्रभावित भएको बताएकी छिन् ।
प्रतिक्रिया 4