News Summary
Generated by OK AI. Editorially reviewed.- जावेद अख्तरले रामलाई कुनै धर्म वा सम्प्रदायमा सीमित गर्न नहुने बताउँदै उनलाई नैतिकता र जीवन जिउने पद्धतिका रूपमा व्याख्या गरेका छन् ।
- शिवसेना प्रवक्ता शाइना एनसीले जावेदको भनाइको स्वागत गर्दै राम कुनै धर्म नभई जीवन जिउने पद्धति भएको बताएकी छिन् ।
बलिउडका चर्चित गीतकार तथा लेखक जावेद अख्तर यतिबेला भगवान् रामबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले भगवान् रामलाई कुनै एउटा धर्म वा सम्प्रदायमा सीमित गर्न नहुने बताए । उनले रामलाई नैतिकता, आदर्श र जीवन जिउने एउटा पद्धतिका रूपमा व्याख्या गरेका छन् ।
जावेद अख्तरको उक्त अभिव्यक्तिमा शिवसेनाका राष्ट्रिय सचिव तथा प्रवक्ता शाइना एनसीले पनि प्रतिक्रिया जनाएकी छिन् । उनले जावेदको भनाइको स्वागत गर्दै राम कुनै धर्म नभई जीवन जिउने एउटा पद्धति भएको बताएकी हुन् । जावेद अख्तरले पनि यो कुरा स्वीकार गरेकोमा आफूलाई खुसी लागेको उनको भनाइ छ।
के भनिन् शाइना एनसीले ?
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै शाइनाले भनेकी छिन्, ‘राम कुनै धर्म होइनन्, राम जीवन जिउने एउटा पद्धति हुन् । जावेद अख्तरले पनि यो कुरा स्वीकार गरेकोमा मलाई निकै खुसी लागेको छ । रामायण कुनै धार्मिक पुस्तक मात्र होइन, यो भारतका मूल्य–मान्यताको संविधान हो । यसले हामीलाई कसरी सत्य बोल्ने, ठूलालाई कसरी सम्मान गर्ने र दाजुभाइबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने कुरा सिकाएको छ ।’
उनले अगाडि भनिन्, ‘कोही मुस्लिम होस्, नास्तिक होस् वा इसाई, भारतमा बस्ने कसैले पनि रामका विचार र उनको महत्त्वलाई बेवास्ता गर्न सक्दैन ।’
शाइनाका अनुसार जावेद अख्तरले रामको महिमालाई स्वीकार गर्नु सनातन धर्मको जित मात्र होइन, समग्र समाजको मूल्य प्रणालीको जित पनि हो ।
रामायण भगवानको कथा मात्र नभई मानिसले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने सिकाउने ग्रन्थ भएको उनले बताइन् । आमाबुबाको सम्मान गर्नु, दाजुभाइलाई माया गर्नु, आफूले गरेका वाचा पूरा गर्नु र सत्यको पक्षमा उभिनु नै रामायणको वास्तविक शिक्षा भएको उनको भनाइ छ । भगवान् रामका आदर्श आज पनि भारतीय समाजका लागि उत्तिकै सान्दर्भिक रहेको उनले बताइन् ।
के भनेका थिए जावेद अख्तरले ?
गत नोभेम्बर १७ मा मुम्बईमा आयोजित इन्डियन परफर्मिङ राइट सोसाइटीको म्युजिक क्रिएटर्स रिपोर्ट सार्वजनिक कार्यक्रममा जावेद अख्तरले भगवान् रामबारे आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा उनलाई शाहरुख खानको फिल्म ‘स्वदेश’ को चर्चित गीत ‘पल पल है भारी’ को एउटा पंक्तिबारे प्रश्न गरिएको थियो । उक्त गीतमा भनिएको छ, ‘मन से रावण जो निकाले, राम उसके मन में है।’
जवाफमा जावेद अख्तरले भनेका थिए, ‘राम केवल एउटा व्यक्ति होइनन्, राम एउटा आदर्श हुन्, नैतिकता हुन् र जीवन जिउने एउटा पद्धति हुन् । राममा विशेष सौन्दर्यबोध र नैतिकता छ । जब तपाईं यसलाई बुझ्नुहुन्छ र यसको प्रशंसा गर्नुहुन्छ, यसले तपाईंको हृदयलाई छुन्छ ।’
उनले अगाडि भनेका थिए, ‘सायद मेरो यो भनाइले धेरै मानिस मसँग रिसाउन सक्छन् । तर, धर्म जे भए पनि रामको सार हरेक भारतीयको रगतमा छ । धेरैले रामलाई एउटा व्यक्तिका रूपमा हेर्ने गर्छन्, तर उनको महत्त्व त्योभन्दा धेरै माथि छ । उनी जीवन जिउने एउटा पद्धति हुन् ।’
प्रतिक्रिया 4