+
+
Shares

क्लोजअपमा जावेद अख्तर

सापेक्ष सापेक्ष
२०८३ असार ४ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गीतकार जावेद अख्तरले सन् २०२० को जुनमा तार्किकता र धर्मनिरपेक्षताको वकालत गरेबापत प्रतिष्ठित रिचर्ड डकिन्स पुरस्कार प्राप्त गरेका थिए ।
  • सांसद हुँदा भारतको प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न प्रयास गरेकाले ठूला कम्पनीहरूले आफूलाई काम दिन छाडेको उनले उल्लेख गरे ।

एउटा धर्मको आचोलना गर्दा अर्को धर्मकाहरू रिसाउँछन् । फेरि अर्को धर्मको आलोचना गर्दा पहिलेकाहरू रिसाउँछन् ।

के गीतकार अख्तर एउटा मात्र समूहको विरोध गर्छन् त ?

यसको उत्तरमा जावेदआफ्नो एउटा चर्चित गीत सुनाउन सक्छन् – जानम देख लो मिट गई दुरियाँ, मै यहाँ… मै यहाँ… हूँ यहाँ

जावेद अख्तर आफ्नो कुरा राख्न कत्ति पनि डराउँदैनन् । त्यसैले हुन सक्छ – उनी यता लागे पनि मान्छेहरूले घेर्छन्, उता लागे पनि घेर्छन् ।

उनै जावेदलाई तार्किकता र धर्मनिरपेक्षताको वकालत गरेबापत सन् २०२० को जुनमा प्रतिष्ठित रिचर्ड डकिन्स पुरस्कार दिइएको थियो । त्यो पुरस्कार आफूलाई दिने खबर पाउँदा जावेदले कत्ति पनि विश्वास गरेका थिएनन् । उनी र उनकी श्रीमती शबानाले कसैले आफूहरूसँग ठट्टा गरिरहेको छ भन्ने बुझेका थिए ।

तर, त्यो कुरा साँचो थियो ।

उनै जावेद अख्तर अहिले ८१ वर्षका भए । थाहा नहुनेहरूलाई परिचय दिँदा उनी चर्चित गीतकार र फिल्मको कथा लेख्ने मान्छे हुन् । उनीसँग सरकार, मिडिया, फिल्म क्षेत्र र गुलजारसँगका धेरै कथाहरू छन्।

प्राय: जावेद अख्तरको टेलिभिजन अन्तर्वार्ताहरू सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । तीनमा विशेष क्लिपहरू । अहिले त उनी त्यति धेरै निस्कँदैनन् पनि । उमेर पनि एउटा कारक भयो । तर, रोचक कुरा के हो भने उनी मिडियाको पनि चर्कै आलोचना गर्छन् ।

तैपनि उनी टिभी च्यानलहरूमा देखिन्छन् । किन त ?

यसमा उनको आफ्नै नियम जस्तो छ । उनलाई कसैले १० पटक बोलाउँदा एक पटक मात्र जान्छन् । त्यसरी जाँदा हल्लाखल्ला र झगडा हुँदैन भन्ने उनको आशा हुन्छ । उनलाई भीडभाड र चर्को स्वरमा बहस हुने ठाउँमा जान मन पर्दैन । त्यस्तो ठाउँमा आफ्नो कुरा कसैले पनि नसुन्ने र अरूको कुरा पनि आफूले नबुझ्ने उनको तर्क छ । उनलाई एक्लाएक्लै गरिने अन्तर्वार्ता दिन भने मन लाग्छ ।

गीतकार जावेद अख्तर

बुढेसकाल लाग्दै जाँदा जावेद अख्तरले फिल्ममा पनि कम मात्रामा गीतहरू लेखिरहेका छन् । यो कुरा राम्ररी बुझ्न भने उनको सुरुवाती दिनहरू हेर्नुपर्छ । उसबेला जावेदको उपनाम ‘जादू’ थ्यो ।

जावेदका बुबा जाँ निसार अख्तर आफैंमा प्रख्यात शायर थिए । तर, बुबाछोराको सम्बन्ध सधैं सुमधुर रहेन । दुवैको सम्बन्धलाई एउटा फारसी उखानले बुझाउँछ – आफ्नो दृष्टिकोण बनाउने हरेक व्यक्ति आफ्ना अग्रजहरूको विचारबाट निराश हुन्छ ।

बुबाले यस्तो कुरा पुस्तकमा लेखेपछि जावेदले त्यसलाई मनमा लिए । फलस्वरुप, फिल्ममा आफ्नो स्थान बनाउन उनले निकै हन्डर खानुपर्‍यो ।

पहिलो पटक उनले फिल्ममा पटकथा लेख्न पाएको मौकाको पनि रोचक किस्सा छ । यसको सम्बन्ध अभिनेता राजेश खन्नाको ‘आशीर्वाद’ बंगला खरिद गर्ने सन्दर्भसँग ठोक्किन पुग्छ ।

निर्माता चिन्नप्पा देवरले ‘हाथी मेरे साथी’ फिल्म तमिलमा बनाइसकेका थिए। उनी यसलाई हिन्दीमा बनाउन चाहन्थे । राजेश खन्नाले बंगला किन्नका लागि त्यो फिल्मबाट एडभान्स पैसा लिएका थिए । तर फिल्मको स्क्रिप्टमा केही कमजोरीहरू थिए ।

त्यसबेला राजेश खन्नाले सलीम खान र जावेद अख्तर (सलीम-जावेद) को जोडीलाई मौका दिए । दुवै मिलेर स्क्रिप्टलाई धेरै परिवर्तन गरे । फिल्मको नाम ‘प्यार की दुनिया’ बाट बदलेर ‘हाथी मेरे साथी’ राखियो । यो फिल्म निकै सफल भयो । र, सलीम-जावेदको जोडी प्रख्यात भयो।

जाबेद आफैंले भने सन् १९८१ को ‘देखा एक ख्वाब तो…’ गीतबाट गीतकारको रूपमा काम सुरु गरे । तर ‘गली ब्वाय’ र ‘पंगा’ फिल्मसम्म आइपुग्दा उनले गीत लेख्न निकै कम गरे ।

किन ? भन्ने प्रश्नमा कुनैबेला कम लेखेकोभन्दा पनि आफूलाई काम कम दिइएको भन्ने जवाफ जावेद आफैंले दिएका थिए ।

विस्तारमा भने उनको भनाइ जस्ताको जस्तै:

‘भारतमा प्रतिलिपि अधिकारको कानुन धेरै कमजोर थियो । यसको फाइदा ठूला कम्पनीले उठाउँथे । म सांसद हुँदा मैले यो कानुन परिवर्तन गर्न धेरै प्रयास गरें । यसले गर्दा ठूला कम्पनीहरू मसँग रिसाए । र, मलाई काम दिन छाडे । तर मलाई दुःख छैन’

जावेद गीतहरूमा समाज हुने कुरामा विश्वास गर्छन् । र, यदि कुनै गीतमा समस्या छ भने पनि त्यो समाजकै उपज हुने उनको तर्क छ ।

जस्तो, जसरी हिन्दी गीतहरूमा सेतो रङको खुबै बखना गरिएको छ ।

‘गोरे रंग पर ना इतना गुमान कर’ वा ‘चिटियां कलाइयां वे’ जस्ता गीतहरू यसका उदाहरण हुन् । यस प्रकारको विभेदकारी कुराहरू समाजबाट गीतकारहरूले सिक्ने र सोही कुरा सिर्जनामा आउने उनी सुनाउँछन् ।

गुलजारसँगको सम्बन्ध

गुलजार भारतका अर्का जबरजस्त गीतकार/कवि हुन् । जावेदसँगको उनको मित्रता पनि उस्तै जबरजस्त छ । उनीहरूको मित्रता ५० वर्षभन्दा धेरै लामो समयको छ । तर, यी दुई जना बिच अहिलेसम्म कुनै ठूलो मनमुटाव सार्वजनिक भएको छैन ।

यी दुई पुराना साथीहरू आफ्ना छोराछोरी (मेघना गुलजार, फरहान अख्तर र जोया अख्तर) को कामलाई लिएर पनि एकअर्कालाई बधाई दिइरहन्छन्।

तर, गुलजारको कुन गीत सुन्दा जावेदलाई ईर्ष्या लाग्छ त ?

‘मलाई गुलजारको ‘बिँडी जलैले’ गीत निकै मनपर्छ । यो गीत कसैले टेबलमा बसेर लेखेको होला भनेर पत्याउनै गाह्रो छ । यो १०० वर्ष पुरानो लोकगीत जस्तो लाग्छ, जुन गाउँका मेलाहरूमा गाइन्थ्यो । यो गीत असाध्यै जीवन्त छ । मलाई यो गीत सुन्दा ईर्ष्या लाग्छ’ जावेद भन्छन्।

उसैगरी जावेद अख्तर नवपुस्ताका ‍लेखकहरूबारे पनि सोच्छन् । तर उनीहरूमा तयारीको कमी भएको उनी बताउँछन् ।

‘नयाँ पुस्ताको सोच निकै राम्रो र साँचो छ,’ उनी भन्छन्, ‘तर उनीहरूको भाषा र लेख्ने कला कमजोर छ । यो कुरा कुनै स्कुलमा सिकाइँदैन । यसका लागि पुराना लेखकहरूका रचना पढ्नुपर्छ । यसले भाषा कसरी प्रयोग गर्ने भनेर धेरै सिकिन्छ ।’

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?