+
+
Shares

खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचीकृत ५ सिमेन्ट कम्पनीमध्ये सर्वोत्तमको नाफा ६७, शिवमको ६६ र सोनापुरको ५५ प्रतिशत घटेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणले देखाएको छ।
  • पाल्पा र घोराही सिमेन्टको नोक्सानी बढेको छ भने बिक्री आम्दानी घट्नु र बिक्री लागत बढ्नु नाफा घट्नुको कारण देखिएको छ।
  • मन्त्रिपरिषद्ले सडक निर्माणमा आयातित बिटुमिनको सट्टा प्राविधिक रूपमा उपयुक्त ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गर्ने निर्णय गरेको छ।

२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार ३ कम्पनी सर्वोत्तमको ६७, शिवमको ६६ तथा सोनापुरको नाफा ५५ प्रतिशत घटेको छ । बाँकी २ कम्पनी पाल्पा र घोराही सिमेन्टको नोक्सानी झन् बढेको छ ।

केही कम्पनीको बिक्री आम्दानी उच्च दरले घट्नु त केहीको बिक्री आम्दानीमा सुधार हुँदा पनि बिक्री लागत बढ्नुले नाफा प्रभावित पारेको देखिन्छ ।

सर्वोत्तमको बिक्री लागत ४० प्रतिशत बढेको छ भने शिवम् सिमेन्टको बिक्री आम्दानी नै ११ प्रतिशत घटेको छ । त्यस्तै सोनापुरको बिक्री लागत १४ प्रतिशत बढेको छ भने घोराहीको बिक्री आम्दानी खस्किएको छ ।

अन्तर्राष्ट्रियसँगै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च रहँदा कच्चा पदार्थ निकाल्ने लागत महँगो भएको कम्पनीहरूले चुनौतीका रुपमा औंल्याएका छन् ।

त्यस्तै बाढी तथा पहिरोले ढुवानी खर्च बढाएको र यसले पनि लागत महँगिएको विवरणमै औंल्याएका छन् । बिक्रीमा आएको मन्दी तथा बजारमा मूल्य प्रतिस्पर्धाले पनि नाफामा असर पारेको औंल्याएका छन् ।

कुन सिमेन्ट कम्पनीको नाफा कति ?

कम्पनी अहिलेको नाफा पहिलेको नाफा वृद्धिदर %
सर्वोत्तम १० करोड ३९ लाख ३२ करोड ४२ लाख –६७.९५
शिवम् ७ करोड ६ लाख २० करोड ९६ लाख –६६.३१
सोनापुर १ करोड ९३ लाख ४ करोड ३६ लाख –५५.७३
पाल्पा –१३ करोड ७६ लाख ३ करोड ९९ लाख (गत आव) ऋणात्मक वृद्धि
घोराही –१६ करोड १५ लाख –१२ करोड ८० लाख ऋणात्मक वृद्धि

सडक निर्माणमा सिमेन्ट प्रयोग भए बढ्नेछ व्यापार 

सडक निर्माणका क्रममा बिटुमिनको प्रयोगलाई घटाइ स्वदेशमा उत्पादिन सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने निर्णय असोज ३० गतेको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

‘आयातित बिटुमिनमा आधारित कालोपत्रको विकल्पमा प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

निर्णयअनुसार सडक निर्माणमा विदेशबाट आयात गरिने बिटुमिनमा आधारित कालोपत्रेको सट्टा प्राविधिक रूपमा उपयुक्त ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गरेर कङ्क्रिट सडक बनाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय ढुङ्गा तथा अन्य उपयुक्त निर्माण प्रविधिलाई पनि प्राथमिकता दिइनेछ ।

यदि मन्त्रिपरिषद्को यो निर्णय कार्यान्वयन भएमा सिमेन्टको खपत बढ्न गई कम्पनीहरूको नाफा बढ्न जानेछ ।

यसबाट आयातित बिटुमिनको खपत घटाउने, स्वदेशी सिमेन्ट उद्योगको बजार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?