+
+
Shares

नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा ‘ग्रान्ड एभरेस्ट आश्रम’ नामक अन्तर्राष्ट्रिय फिचर फिल्म निर्माण हुने भएको छ।
  • फिल्मको पुरुष मुख्य भूमिकामा नेपाली अभिनेता अरुण क्षेत्री चयन भएका छन् र महिला मुख्य भूमिकाको कलाकार पछि सार्वजनिक गरिनेछ।

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा नयाँ अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो ।

यस फिल्ममा दक्षिण कोरियाका निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सह निर्माता चन्दन झा जोडिएका छन् ।

प्रेम, हास्य र रहस्यको संयोजनमार्फत फिल्मले आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशबीचको रोचक सम्बन्धलाई प्रस्तुत गर्नेछ । साथै, प्रेम, पहिचान र बाहिरी देखावट तथा वास्तविकताबीचको भिन्नतालाई कथामा समेटिनेछ ।

फिल्मको पुरुष मुख्य भूमिकामा नेपाली अभिनेता अरुण क्षेत्री चयन भएका छन् । फिल्ममा महिलाको मुख्य भूमिकाका लागि दक्षिण कोरियाली अभिनेत्री रहनेछिन् । उनको नाम पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताइन् ।

फिल्मको निर्माण तथा सिर्जनात्मक समूहमा निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ, सह निर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल, क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन् ।

हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक, ‘ग्रान्ड एभरेस्ट आश्रम’ले एउटा अनौठो तथा अलौकिक प्रेमकथामार्फत नेपालको फरक पक्ष प्रस्तुत गर्नेछ, जहाँ आध्यात्मिक र सामान्य जीवनबीच निरन्तर रोचक द्वन्द्व र अन्तरक्रिया देख्न पाइनेछ ।

फिल्मकी लेखक तथा निर्देशक बोइम ह्वाङले नेपालप्रतिको आफ्नो आत्मीयताबारे भनिन्, “विगतका वर्षहरूमा पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यस देश र यहाँका मानिसहरूप्रति मेरो गहिरो आत्मीयता बढेको छ । नेपालमा रहेको आकर्षण, अनौठोपन र आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणमार्फत पर्दामा उतार्न चाहेकी हुँ ।”

यस सहकार्यले नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । दुवै देशका कलाकार, फिल्मकर्मी र निर्माण क्षेत्रको अनुभवलाई एकसाथ जोड्दै अन्तर्राष्ट्रिय स्तरको फिल्म निर्माण गर्ने लक्ष्य निर्माण पक्षको छ ।

फिल्मलाई विश्वव्यापी थिएटर प्रदर्शन तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी निर्माण गरिने सह निर्माता चन्दन झाले बताए । नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको यस फिल्मलाई पछि स्ट्रिमिङ प्लेटफर्ममार्फत पनि प्रदर्शन गर्ने योजना रहेको छ ।

फिल्मको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु गरी मार्चसम्म जारी राख्ने प्रारम्भिक योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?