+
+
Shares

किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दानबहादुर कार्कीको गीत ‘आमा, म त खरानीबाट उठेर आएँ’ थानेश्वर गौतमले अन्तर्वार्तामा गाएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • टिकटक प्रयोगकर्ताले गीतमाथि बनाएका भिडियोका कारण त्यसलाई धेरैले हाँसोको विषय बनाइरहेका छन् ।
  • गायक शिव परियारले सामाजिक सञ्जालमा गीत र गायक थानेश्वर गौतममाथि भएको उपहास र अपमानजनक व्यवहारको खेद प्रकट गरेका छन् ।

सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ ।

यो सोसल मिडिया पनि जलप्राणी ‘अमिबा’ जस्तै छ, जसको आकार–प्रकार कस्तो हुन्छ भनी ठ्याक्कै अनुमान गर्न सकिँदैन । एकातिर बोलेको कुरा अर्कोतिर कसरी पुग्छ ? टुङ्गो हुँदैन ।

यस्तै भइदियो दानबहादुर कार्कीको गीत ‘आमा, म त खरानीबाट उठेर आएँ’ पनि । त्यसबेला उनी उच्च पदस्थ प्रहरी अधिकारी थिए । यो ठीक त्यही बेलाको कुरा हो, जतिबेला जेनजी आन्दोलनको राप सेलाएको थिएन । थुप्रै संरचना खरानी भएका थिए । त्यसबाट अछुतो थिएन प्रहरी चौकी पनि ।

त्यस क्षण प्रहरीहरू च्यातिएको लुगा लगाएर, खाली खुट्टा आफ्नो ड्युटीमा खटिए ।

ठीक यही अवस्थालाई चित्रण गर्दै कार्कीले एउटा गीत लेखेका थिए, जसले प्रहरीको मनोभाव दर्शाउँथ्यो । गीतको स्थायी यस्तो थियो–

‘आमा, म त फर्केर आएँ
खरानीबाट उठेर आएँ …।’

यो गीत त्यसबेला एक चरण चलेको थियो । तर, त्यति व्यापक थिएन, जति आज भइरहेको छ । आज के भइरहेको छ ?

आज गीतकारमध्ये एक थानेश्वर गौतमले अन्तर्वार्ताका क्रममा उक्त गीत गाएका थिए । गीत गाइरहँदा उनी झन्डैझन्डै रोएका थिए । उनले रुन खोज्दै गाएको यही गीत अहिले धेरैका लागि हाँसोको खुराक बनिदियो ।

खासगरी टिकटक प्रयोगकर्ताले यो गीतलाई भाइरल बनाइरहेका छन् । हरक्षण यस्तै खुराकको खोजीमा रहने टिकटक प्रयोगकर्ताले ‘आमा, म त फर्केर आएँ’ लाई किन पो बाँकी राख्थे र ? उनीहरूले यो गीतमा धमाधम टिकटक बनाउन थाले ।

तपाईं टिकटकतिर चहार्नुहुन्छ भने पक्कै पनि यस गीतमाथि बनाइएका भिडियोहरू हेरेर हाँस्नुभयो होला । जबकि यो कुनै हाँस्नुपर्ने गीत होइन । यसका अन्तरा हेर्नुहोस् न–

‘कसरी देख्न सक्छु, तिम्रो मुटु बलेको
भाइभाइबीच तरवार चलेको
इतिहास जलेको, विश्वास ढलेको …।’

यसै सन्दर्भमा गायक शिव परियारले एउटा उत्कृष्ट रचनालाई हाँसीमजाकको विषय बनाइएकोमा खेद प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्–

‘आजसम्म कसैको मन नदुखाई, कसैको आँखामा नबिझाई निरन्तर शास्त्रीय संगीत र नेपाली संगीतको अध्ययन र चिन्तनमा आफूलाई समर्पित गर्दै आउनुभएका चर्चित गायक तथा संगीतकार, प्रिय मित्र थानेश्वर गौतमजीको पछिल्लो चरणमा उहाँद्वारा स्वरबद्ध ‘आमा’ बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा व्यक्त गरिएका वितृष्णा, उपहास तथा अनावश्यक र कपोलकल्पित व्यङ्ग्यप्रति खेद व्यक्त गर्दछु ।

लोकशैलीको मौलिक आवाजका धनी तथा शास्त्रीय संगीतको पनि अध्ययनशील रहँदै आउनुभएका नेपाली गीत–संगीतको सिर्जना र गायनमार्फत नेपाली संगीतको सेवा गरिरहनुभएका एक कलाकार तथा सांगीतिक व्यक्तित्वलाई नजिकबाट चिनेको मित्र हुनुको नाताले उहाँप्रति गरिएको यस प्रकारको अपमानजनक व्यवहारको म घोर भर्त्सना गर्दछु ।

कुनै पनि कलाकारको सिर्जनालाई मन पराउने वा नपराउने स्वतन्त्रता सबैलाई छ । आलोचना गर्ने अधिकार पनि सबैलाई छ । तर, आलोचनाका नाममा कुनै कलाकारको मुहार, हाउभाउ र शब्द उच्चारण गर्ने शैलीलाई उपहासको विषय बनाएर उसले गरेको सांगीतिक योगदान, व्यक्तित्व र आत्मसम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन भन्ने मेरो विचार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?