+
+
Shares

हरिबोधिनी एकादशीमा कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

धार्मिक तथा पौराणिक ग्रन्थहरूका अनुसार त्रेतायुगमा भगवान् श्रीराम बनवास जाने क्रममा राम्दीमा विश्राम गरी कालीगण्डकीमा स्नान गरेको र यसक्षेत्रलाई रामनदी धामको रूपमा पुज्न थालिएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १७:०३

४ मंसिर, पाल्पा । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ ।

आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा समेत लिने प्रचलन रहेको छ ।

यही एकादशीका अवसरमा कालीगण्डकी स्नान गरी पूजाआरधना गर्न भक्तजनको घुइँचो लागेको हो ।

शुक्रबार पाल्पास्थित तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम, केलाली, अर्सेदी, रामपुरलगायतका स्थानमा बाक्लो रूपमा भक्तजनको उपस्थिति रहेको छ ।

यस अवसरमा देवनदीका रूपमा पूजित कालीगण्डकीमा स्नान गर्न र रामनदी धाममा पूजाअर्चना गर्न पाल्पा, स्याङ्जा, गुल्मी, रूपन्देही, नवलपरासीलगायत आसपासका क्षेत्रबाट श्रद्धालु भक्तजनहरू एकाबिहानै राम्दी पुगेको बताएका छन् ।

सबेरैदेखि गण्डकी स्नान गरी भगवान् विष्णु, तुलसी र शालिग्रामको पूजा, सिद्धगुफामा दर्शन, कालीगण्डकीमा तोरण तार्नेलगायतका कार्य गर्न श्रद्धालुहरूको नदी किनारमा जम्मा भएका हुन् । आजको दिन गंगा स्नान गरी तोरण तारेमा मनोकांक्षा पूरा हुनुका साथै पितृहरु बैकुण्ठबास गर्दछन् भन्ने धार्मिक विश्वस रहेको छ ।

धार्मिक तथा पौराणिक ग्रन्थहरूका अनुसार त्रेतायुगमा भगवान् श्रीराम बनवास जाने क्रममा राम्दीमा विश्राम गरी कालीगण्डकीमा स्नान गरेको र यसक्षेत्रलाई रामनदी धामको रूपमा पुज्न थालिएको उल्लेख छ ।

विश्वमै केवल कालीगण्डकी नदीमा मात्र प्राप्त हुने साक्षात विष्णु अवतार मानिने शालिग्रामको सामिप्यमा आजका दिन स्नान गर्नाले जन्मजन्मान्तरका पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको भक्तजनको भनाइ छ ।

हरिबोधनी एकादशीको अवसरमा नदी किनारमा भजनकीर्तन, दीप प्रज्वलनलगायत विविध धार्मिक कार्यक्रमहरू भइरहेका छन् ।

आजकै दिन सनातन धर्मावलम्बीहरूले घर,घरका मन्दिर तथा मठमा विशेष सिँगारपटार गरी तुलसीको दामोदर (विष्णु)सँग वैदिक विधिपूर्वक विवाह गराइदिने परम्परा छ ।

एकादशीको अवसरमा पाल्पाको रामपुर नगरपािलकाले सार्वजनिक विदा समेत दिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?