४ मंसिर, काठमाडौं । डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुवै जना बिहीबार राति साढे १२ बजे काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्सबार प्रवेश गरेका थिए । त्यहाँ उनीहरूले सिभिल प्रहरी भएको भन्दै सञ्चालक तथा कर्मचारीसँग विवाद गर्नुका साथै धाकधम्की र डरत्रास देखाएको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4