५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।
शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको प्रचण्डले उल्लेख गरेका छन् ।
ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गर्दै उनले यो सम्झौता दुई पक्षबीचको समझदारीमा मात्र सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको बताएका छन् ।
उनका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका छन् ।
तर शान्ति सम्झौताका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो,’ उनले वक्तव्यमा भनेका छन् ।
संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको उनले बताएका छन् ।
प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गरेका छन् ।
उनले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया 4