+
+
Shares

एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १४:५६

६ मंसिर, काठमाडौं । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् ।

आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

चोइले शिक्षा मन्त्रालयमार्फत जारी गरेको वक्तव्यमा परीक्षा तयारीका क्रममा अन्तिम समयमा गरिएका विभिन्न परिवर्तनले परीक्षार्थीसहित सर्वसाधारणलाई असुविधा भएको स्वीकार गरेका छन् । आफू मन्त्रालयको जिम्मेवार प्रमुख भएकाले समयमै तयारी गर्न नसकेको आलोचनाबाट उम्कन नसक्ने उनको भनाइ थियो ।

‘परीक्षा सकिएपछि मैले आफ्नो जिम्मेवारी गम्भीर रूपमा महसुस गरेको छु र राजीनामा प्रस्ताव गरेको छु,’ उनले वक्तव्यमा भनेका छन् ।

उनको राजीनामाको पृष्ठभूमिमा गत साता सार्वजनिक भएको एआईको सहायतामा परीक्षा अनियमितता गरिएको घटना छ । कर लेखापालको राष्ट्रिय परीक्षामा सबैभन्दा उच्च अंक ल्याएका एक परीक्षार्थीले सूक्ष्म क्यामेरा, स्मार्टफोन र एआई प्रयोग गरेर उत्तर तयार पारेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षाको निष्पक्षता र सुरक्षा प्रणालीमाथि प्रश्न उठेको थियो ।

त्यसपछि सरकारले एआई प्रयोग गरेर हुने अनियमितता रोक्न विश्वविद्यालय प्रवेश परीक्षामा नयाँ सुरक्षा व्यवस्था लागू गर्‍यो । तर, परीक्षा हुनुभन्दा केही दिनअघि र अन्तिम समयसम्म नियम परिवर्तन गरिँदा परीक्षार्थी, शिक्षक र अभिभावकमा अन्योल बढेको थियो ।

अन्तिम समयमा फेरिएका नियम

दक्षिण कोरियाको वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा गत बिहीबार अर्थात् नोभेम्बर १९ मा भएको थियो । सन् २०२७ को शैक्षिक सत्रका लागि लिइएको यो परीक्षा त्यहाँ ‘सुन्युङ’ नामले चिनिन्छ । देशको सबैभन्दा महत्त्वपूर्ण परीक्षामध्ये एक मानिने यसले विद्यार्थीको विश्वविद्यालय भर्ना र भविष्यको पेसागत अवसरमा ठूलो प्रभाव पार्छ ।

यस वर्षको परीक्षाका लागि ५ लाख ५१ हजार ८६४ जनाले आवेदन दिएका थिए । तर, परीक्षा दिने दिन ४ लाख ९७ हजार ५२६ जना मात्रै सहभागी भए । दक्षिण कोरियाली शिक्षा मन्त्रालयका अनुसार अनुपस्थित हुनेको संख्या ५४ हजार ३३८ थियो ।

एआई प्रयोग गरेर हुन सक्ने अनियमितता रोक्न सरकारले परीक्षार्थीले परीक्षा कक्षमा लैजान पाउने सामग्रीमा कडाइ गर्‍यो । सुरुमा कलम, मेटाउने टेप, इरेजर र सिसाकलमजस्ता सामग्री लैजान पाइने व्यवस्था थियो । तर, अन्तिम समयमा परीक्षार्थीले आफ्नै तर्फबाट लैजान पाउने लेखन सामग्रीमा सिसाकलम मात्र राखियो । अन्य आवश्यक सामग्री परीक्षा केन्द्रबाटै उपलब्ध गराउने व्यवस्था गरियो ।

कपडा वा कमिजका टाँकमा सूक्ष्म क्यामेरा लुकाउन सकिने आशंकामा परीक्षा केन्द्रमा टाँक छोप्न टाँस्ने पट्टीको व्यवस्था गरियो । परीक्षार्थीले लगाएका कपडाका टाँकमा त्यस्तो पट्टी टाँस्ने व्यवस्था गरिएको थियो । परीक्षार्थीको चस्मा तथा अन्य सामग्री पनि निगरानीमा राखिएको थियो ।

परीक्षा चलिरहेका बेला मोबाइल फोन नबुझाएका परीक्षार्थी पहिचान गर्न सरकारले देशभरका मोबाइल फोनमा तीन पटक आपत्कालीन विपद् सन्देश पठायो । मोबाइल मौन अवस्थामा राखिएको भए पनि ती सन्देश बज्ने गरी पठाइएका थिए । यसबाट परीक्षा केन्द्रमा फोन लुकाएर राखेका परीक्षार्थी पहिचान गर्ने उद्देश्य राखिएको थियो ।

यी व्यवस्थाका कारण परीक्षार्थी र शिक्षकहरूमा थप तनाव र अन्योल सिर्जना भएको भन्दै सरकारको आलोचना भयो । परीक्षा नजिकिँदै गर्दा नियम परिवर्तन गरिएको र त्यसबारे स्पष्ट जानकारी नपाउँदा तयारीमा असर परेको उनीहरूको गुनासो थियो ।

शिक्षा मन्त्रालयका अनुसार परीक्षाका क्रममा विद्युतीय उपकरणसँग सम्बन्धित १११ वटा शंकास्पद अनियमितता फेला परेका थिए । बिहीबार सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा यस्तो संख्या ९८ थियो । थप विवरण संकलनपछि शुक्रबार मन्त्रालयले संख्या बढाएर १११ पुर्‍याएको थियो । तीमध्ये पाँच घटनामा परीक्षाकै क्रममा स्मार्ट उपकरण प्रयोग भएको पाइएको थियो ।

कर लेखापाल परीक्षामा क्यामेरा र एआई प्रयोग

शिक्षामन्त्रीको राजीनामाको मुख्य पृष्ठभूमिमा कर लेखापालको राष्ट्रिय परीक्षामा भएको अनियमितता छ ।

यस वर्षको प्रमाणित कर लेखापाल परीक्षामा सबैभन्दा बढी अंक ल्याएका हान थरका परीक्षार्थीले नोभेम्बर १५ मा आफूले एआई प्रयोग गरेर परीक्षा दिएको स्वीकार गरेका थिए । उनले एक सानो क्यामेराबाट प्रश्नपत्रका तस्बिर खिचेर एआई प्रणालीमा पठाउने र त्यसबाट प्राप्त उत्तर स्मार्टफोनमा हेर्ने गरेको बताएका थिए ।

उनले पहिलो र दोस्रो दुवै चरणको परीक्षामा यही विधि अपनाएको बताएका छन् । अप्रिलमा भएको पहिलो चरणको परीक्षामा ४०० पूर्णाङ्कमध्ये ३९७.५ अंक ल्याएका उनी जुलाईमा भएको दोस्रो चरणमा पनि उच्च अंकसहित समग्रमा पहिलो भएका थिए ।

उनको अस्वाभाविक रूपमा उच्च अंकबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनले वकिलको युट्युब च्यानलमार्फत अनियमितता स्वीकार गरेका थिए । त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्दै आफूले गरेको कामको विवरणसहित लिखित बयान बुझाएका थिए ।

नोभेम्बर १७ मा प्रहरीले उनीसँग करिब १३ घण्टा सोधपुछ गरेको थियो । उनले आफूले गरेको कामप्रति क्षमा माग्दै अनुसन्धानमा सत्य कुरा बताउने बताएका थिए । उनले प्रयोग गरेका उपकरण र घटनामा अरू कसैको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो घटना सार्वजनिक हुनुअघि पनि दक्षिण कोरियामा स्मार्ट चस्मा प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटना बाहिरिएका थिए । जुन महिनामा अंग्रेजी भाषासम्बन्धी मानकीकृत परीक्षामा र अक्टोबरमा विश्वविद्यालयका प्रवेश परीक्षामा एआईयुक्त चस्मा प्रयोग गरिएको घटना सार्वजनिक भएको थियो । विद्यालय तहमा पनि यस्ता घटना देखिएपछि परीक्षा प्रणालीमा प्रविधिको दुरुपयोग रोक्ने चुनौती थपिएको थियो ।

परीक्षामा प्रविधिको दुरुपयोग रोक्ने चुनौती

दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण आधार मानिन्छ । कुन विश्वविद्यालयमा भर्ना पाइन्छ भन्ने कुराले रोजगारी, सामाजिक प्रतिष्ठा र भविष्यका अवसरमा समेत प्रभाव पार्ने भएकाले यो परीक्षा निकै प्रतिस्पर्धात्मक हुन्छ ।

परीक्षालाई व्यवस्थित बनाउन देशभर विशेष तयारी गरिन्छ । परीक्षार्थीलाई समयमै केन्द्रमा पुर्‍याउन प्रहरी परिचालन हुन्छ । अंग्रेजी सुन्ने परीक्षा चल्दा विमान उडानसमेत रोक्ने र परीक्षार्थीलाई सहज हुने गरी कार्यालय तथा वित्तीय बजारको समयतालिका मिलाउने अभ्यास छ ।

तर, एआई र साना विद्युतीय उपकरणको प्रयोगबाट हुने अनियमितता नियन्त्रण गर्न परम्परागत सुरक्षा उपाय पर्याप्त नहुने चिन्ता बढेको छ । सूक्ष्म क्यामेरा, स्मार्ट चस्मा र स्मार्टफोनबाट प्रश्नपत्रको तस्बिर खिचेर एआईमार्फत उत्तर प्राप्त गर्न सकिने घटनाले परीक्षाको निष्पक्षतामाथि चुनौती थपेको छ ।

यसै विषयमा संसद्को शिक्षा समितिमा भएको छलफलमा शिक्षामन्त्री चोइले एआई प्रयोग गरेर हुने सबै प्रकारका अनियमितता शतप्रतिशत रोक्न सक्ने विश्वास आफूलाई नभएको आशयको जवाफ दिएका थिए । त्यसपछि पनि उनको आलोचना भएको थियो ।

सरकारले परीक्षामा अनियमितता गर्नेहरूलाई कडा कारबाही गर्ने र आगामी परीक्षामा प्रविधिको दुरुपयोग रोक्ने व्यवस्था बलियो बनाउने बताएको छ । तर, यस वर्षको परीक्षामा अन्तिम समयमा गरिएका नियम परिवर्तनले विद्यार्थीमा थप अन्योल र तनाव सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी शिक्षामन्त्रीले लिएका हुन् । (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?