+
+
Shares

दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १७:३१

 दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर  । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ ।

चिकित्सा विज्ञानमा अहिले एक व्यक्तिको दिसा अर्को व्यक्तिको आन्द्रामा प्रत्यारोपण गरेर उपचार गर्ने विधि प्रयोग भइरहेको छ ।

सुन्दा अनौठो लागे पनि यो कुनै काल्पनिक कुरा होइन । यसलाई ‘फिकल माइक्रोबायोटा ट्रान्सप्लान्ट’ (एफएमटी) भनिन्छ । यस प्रक्रियामा स्वस्थ व्यक्तिको दिसामा रहेका सूक्ष्मजीव बिरामीको आन्द्रामा पुर्‍याइन्छ ।

यसको उद्देश्य आन्द्रामा बिग्रिएको सूक्ष्मजीवको सन्तुलन पुनःस्थापित गर्नु हो ।

विशेषगरी एन्टिबायोटिक औषधिप्रति प्रतिरोधी मानिने क्लोस्ट्रिडियोइड्स डिफिसाइल (सी. डिफिसाइल) नामक ब्याक्टेरियाको संक्रमण बारम्बार भइरहने बिरामीको उपचारमा यो विधि उपयोगी देखिएको छ ।

पछिल्ला वर्षमा आन्द्रामा हुने सूक्ष्मजीव अर्थात् ‘गट माइक्रोबायोम’ले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान बढेसँगै दिसा प्रत्यारोपणप्रति वैज्ञानिकहरूको चासो पनि बढेको छ ।

तर, यो उपचारका लागि जोकोहीको दिसा प्रयोग गर्न मिल्दैन । यसका लागि निकै स्वस्थ व्यक्ति छनोट गर्नुपर्छ ।

अझ त्यसमध्ये पनि आन्द्रामा उपयोगी ब्याक्टेरियाको विविधता र संख्या बढी भएका व्यक्तिको खोजी गरिन्छ । यस्ता विशेष दातालाई अनौपचारिक रूपमा ‘सुपर पुपर्स’ भनिन्छ ।

बीबीसीकी सोफिया क्वाग्लियाले आफ्नो रिपोर्टमा दिसा प्रत्यारोपणको सुरुवाती अनुभवदेखि यस्ता विशेष दाता छनोट गर्ने प्रक्रिया र भविष्यमा यसको उपचार सम्भावनाबारे चर्चा गरेकी छन् ।

एक बिरामीको उपचारका लागि डाक्टर आफैंले गरे दिसा दान

सन् २०१३ मा अमेरिकाका एडम फे मेडिकल अध्ययनको चौथो वर्षमा थिए । त्यसबेला उनी सी. डिफिसाइल नामक ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारबारे सिकिरहेका थिए ।

यो ब्याक्टेरियाले पाचन प्रणालीमा गम्भीर समस्या निम्त्याउन सक्छ र धेरै एन्टिबायोटिक औषधिप्रति प्रतिरोधी हुन्छ ।

एक वृद्ध महिला बारम्बार यही संक्रमणबाट पीडित भइरहेकी थिइन् । उनलाई दिसा प्रत्यारोपणको आवश्यकता थियो ।

तर, त्यसबेला दिसा संकलन गर्ने बैंकहरू निकै कम थिए । बिरामीका परिवार र साथीभाइ पनि दिसा दान गर्न सक्षम थिएनन् वा तयार भएनन् ।

त्यसपछि एडम आफैंले दिसा दान गर्ने निर्णय गरे ।

दिसा दान गर्नुअघि उनले अघिल्लो रात मेक्सिकन परिकार बुरिटो खाएका थिए । भोलिपल्ट बिहान छात्रावासको कोठामा मेडिकल प्रयोजनका लागि प्रयोग हुने विशेष भाँडोमा दिसा संकलन गरे ।

त्यसलाई नुनपानीमा भिजाइएको कपडाबाट छानेर तरल पदार्थ बोतलमा राखे । त्यसको केही घण्टापछि कोलोनोस्कोपी प्रक्रियामार्फत उनको दिसा ती वृद्ध महिलाको ठूलो आन्द्रामा पुर्‍याइयो ।

पछि ग्यास्ट्रोएन्टेरोलोजिस्ट बनेका एडमले उक्त उपचार सफल भएको थाहा पाए । त्यसपछि ती महिलालाई सी. डिफिसाइलको संक्रमण फेरि कहिल्यै भएन ।

यो घटनाले दिसा प्रत्यारोपणको उपचार सम्भावनाबारे उनको चासो थप बढायो । अहिले उनी अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा ग्यास्ट्रोएन्टेरोलोजिस्टका रूपमा कार्यरत छन् ।

के हो दिसा प्रत्यारोपण ?  कसरी गरिन्छ ?

मानिसको आन्द्रामा करोडौं सूक्ष्मजीव हुन्छन् । तीमध्ये धेरै ब्याक्टेरिया पाचन प्रक्रिया, पोषक तत्त्वको अवशोषण र शरीरको प्रतिरक्षा प्रणालीका लागि उपयोगी हुन्छन् ।

तर, विभिन्न कारणले आन्द्रामा रहेका सूक्ष्मजीवको सन्तुलन बिग्रँदा स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।

विशेषगरी लामो समयसम्म एन्टिबायोटिक औषधि प्रयोग गर्दा आन्द्रामा रहेका उपयोगी ब्याक्टेरिया नष्ट हुन सक्छन् । यस्तो अवस्थामा हानिकारक ब्याक्टेरियाले फैलिने मौका पाउँछन् ।

दिसा प्रत्यारोपणमा स्वस्थ दाताको दिसामा रहेका सूक्ष्मजीव बिरामीको आन्द्रामा पुर्‍याइन्छ । यसले उपयोगी ब्याक्टेरियाको समुदाय पुनःस्थापित गर्न र हानिकारक ब्याक्टेरियासँग प्रतिस्पर्धा गर्न सहयोग गर्छ ।

यसका लागि प्रशोधन गरिएको दिसा कोलोनोस्कोपीमार्फत ठूलो आन्द्रामा पुर्‍याउन सकिन्छ । कतिपय अवस्थामा विशेष क्याप्सुलमा राखेर मुखबाट खाने औषधिका रूपमा पनि दिन सकिन्छ ।

तर, दिसा संकलन गरेर सिधै बिरामीलाई दिने प्रक्रिया भने होइन । यसलाई विशेष प्रयोगशालामा प्रशोधन, परीक्षण र सुरक्षित बनाएपछि मात्र प्रयोग गरिन्छ ।

कस्ता व्यक्ति बन्न सक्छन् दिसा दाता ?

दिसा प्रत्यारोपणको सफलता दाताको स्वास्थ्य र उसको दिसामा रहेका सूक्ष्मजीवको अवस्थासँग सम्बन्धित हुन्छ । त्यसैले दाता छनोट गर्दा मिर्गौला वा रगत दान गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरेजस्तै विस्तृत परीक्षण गरिन्छ ।

अमेरिकाको वेल कर्नेल मेडिसिनका ग्यास्ट्रोएन्टेरोलोजिस्ट कार्ल क्रफोर्डका अनुसार उनीहरू मानिसमध्ये सबैभन्दा स्वस्थ व्यक्तिको खोजी गर्छन् ।

सम्भावित दाताले सुरुमा स्वास्थ्यसम्बन्धी प्रश्नावली भर्नुपर्छ र अन्तर्वार्तामा सहभागी हुनुपर्छ । त्यसपछि रगत र दिसाको विस्तृत परीक्षण गरिन्छ ।

यस क्रममा ३० भन्दा बढी प्रकारका रोगाणु, परजीवी तथा औषधिप्रति प्रतिरोधी सूक्ष्मजीवको परीक्षण हुन सक्छ । कतिपय क्लिनिकले कोभिड–१९ र फ्लुको परीक्षणसमेत अनिवार्य गर्छन् ।

किनकि दिसाबाट पनि विभिन्न संक्रामक रोग सर्न सक्छन् । विगतमा दिसा प्रत्यारोपणका कारण ई. कोलाई ब्याक्टेरियाको संक्रमण फैलिएका घटना पनि छन् ।

दिसाका सूक्ष्म कण हावामा फैलिँदा केही श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिमसमेत हुन सक्छ ।

त्यसैले, सम्भावित दातामा केही अटोइम्युन रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको इतिहास पनि हेरिन्छ ।

यति मात्र होइन, दाताले सेवन गरिरहेका औषधि र सप्लिमेन्टबारे पनि जानकारी लिइन्छ । मल्टिभिटामिन र आइरन चक्कीजस्ता सामान्य औषधिको प्रयोगसमेत परीक्षणका क्रममा महत्त्वपूर्ण हुन सक्छ ।

टोरन्टो विश्वविद्यालयकी मेडिकल माइक्रोबायोलोजिस्ट सुसान पाउटेनेनका अनुसार दाताले अघिल्लो एक सातामा खाएका एलर्जी गराउन सक्ने खानेकुराबारे समेत जानकारी दिनुपर्छ ।

खानपानदेखि तौल र यात्रासम्मको हिसाब

सामान्यतया दिसा दाताको उमेर १८ देखि ४८ वर्षसम्म हुने गरेको छ । तर, प्रत्यारोपण गरिने बिरामीको उमेरमा यस्तो सीमा हुँदैन ।

टोरन्टो विश्वविद्यालयकी संक्रामक रोग विशेषज्ञ सुजी होटाका अनुसार उनीहरूले १७ वर्षका किशोरदेखि ९६ वर्षका वृद्धसम्मको उपचार गरेका छन् ।

दाताको खानपान पनि महत्त्वपूर्ण मानिन्छ । अधिकांश दिसा बैंकले खानपानलाई औपचारिक रूपमा मूल्यांकन नगरे पनि फलफूल, तरकारी र साबुत अन्नजस्ता फाइबरयुक्त खानेकुरा पर्याप्त भएको सन्तुलित आहार उपयोगी मानिन्छ ।

शाकाहारी व्यक्तिको दिसा नै सबैभन्दा राम्रो हुन्छ भन्ने पनि होइन । कार्ल क्रफोर्डका अनुसार शाकाहारी र मांसाहारी दुवै प्रकारका खानेकुरा खाने व्यक्तिको आन्द्रामा सूक्ष्मजीवको विविधता बढी हुन सक्छ ।

सम्भव भएसम्म दाताको शरीर छरितो हुनु पनि राम्रो मानिन्छ । यसको एउटा रोचक उदाहरणसमेत छ । पहिले दुब्ली रहेकी ३२ वर्षीया एक महिला स्वस्थ तर बढी तौल भएका व्यक्तिको दिसा प्रत्यारोपणपछि मोटोपनको सिकार भएकी थिइन् ।

यसका साथै दाताको मदिरा सेवन, व्यायाम, निद्रा र यात्राको विवरणसमेत हेरिन्छ । केही अवस्थामा औषधिप्रति प्रतिरोधी ब्याक्टेरियाको सम्पर्कमा नआऊन् भनेर दाताको यात्रामा समेत प्रतिबन्ध लगाउन सकिन्छ ।

तीन प्रतिशतभन्दा कम मानिसको दिसा मात्रै योग्य

दिसा दान गर्न चाहने सबै व्यक्ति परीक्षणमा सफल हुँदैनन् । कार्ल क्रफोर्डको अनुभवमा प्रारम्भिक परीक्षणमा सहभागीमध्ये करिब तीन प्रतिशत मात्र योग्य हुन्छन् ।

तीमध्ये पनि आधाजतिमा नियमित रूपमा दिसा दान गर्न आवश्यक ब्याक्टेरियाको सन्तुलन भेटिन्छ ।

टोरन्टोकी सुजी होटाको अनुभवमा त यो संख्या अझ कम छ । उनका अनुसार सम्भावित दातामध्ये करिब १.६ प्रतिशत मात्र प्रारम्भिक परीक्षणमा सफल हुन्छन् ।

तीमध्ये पनि करिब ०.६ प्रतिशतलाई नियमित दाताका रूपमा छनोट गरिन्छ ।

यसरी छनोट भएका दाताले सामान्यतया प्रयोगशालामा पुगेर विशेष रूपमा तयार गरिएको शौचालयमा दिसा दान गर्नुपर्छ । कतिपय दिसा बैंकले यसका लागि पैसा पनि दिन्छन् ।

अमेरिकामा एउटा दिसा दान गरेबापत २५ देखि १०० अमेरिकी डलरसम्म दिने गरिएको छ । नियमित दाता भेट्टाउन कठिन हुने भएकाले दिसा बैंकहरूले एउटै व्यक्तिबाट पटक-पटक दिसा संकलन गर्ने गर्छन् ।

‘सुपर पुपर्स’को दिसामा के हुन्छ विशेष ?

प्रारम्भिक स्वास्थ्य परीक्षणमा सफल हुनु र उत्कृष्ट गुणस्तरको दिसा हुनु फरक कुरा हुन् । सबै योग्य दाताको दिसाले सी. डिफिसाइल संक्रमणको उपचारमा लगभग समान सम्भावना राखे पनि अन्य केही रोगमा भने दाताअनुसार उपचारको नतिजा फरक हुन सक्छ ।

सन् २०१५ मा अल्सरेटिभ कोलाइटिसका बिरामीमा गरिएको एक अध्ययनमा ३८ जनामध्ये नौ जनाको रोगमा सुधार अर्थात् रेमिसन देखिएको थियो ।

ती नौ जनामध्ये सात जनाले एउटै दाताको दिसा प्रत्यारोपण गराएका थिए ।

त्यस्तै, सन् २०१७ को अर्को अध्ययनमा सात जनासम्म दाताको दिसा मिसाएर बिरामीलाई प्रत्यारोपण गरिएको थियो । एउटा विशेष दाताको दिसा मिसाइएको समूहका बिरामीमा सुधार हुने सम्भावना त्यस दाताको दिसा नमिसाइएको समूहको तुलनामा झन्डै दोब्बर देखिएको थियो ।

तर, त्यो दाताको दिसामा के विशेष थियो भन्ने कुरा वैज्ञानिकहरूले अझै स्पष्ट रूपमा पत्ता लगाउन सकेका छैनन् ।

अनुसन्धानअनुसार ‘सुपर पुपर्स’को दिसामा आन्द्राका ब्याक्टेरियाको संख्या बढी र तिनको विविधता पनि व्यापक हुन्छ । त्यहाँ फाइदाजनक मानिने फेकालिब्याक्टेरियम प्राउस्निट्जी नामक ब्याक्टेरियासमेत बढी हुन सक्छ ।

यो ब्याक्टेरियाले बुटिरेट नामक फ्याटी एसिड उत्पादन गर्छ । यसले शरीरको सूजन कम गर्न र आन्द्राको भित्री तहलाई सुरक्षित राख्न सहयोग गर्छ ।

तर, एउटा रोगको उपचारमा प्रभावकारी भएको दाताको दिसा अर्को रोगको उपचारमा पनि उत्तिकै प्रभावकारी हुन्छ भन्ने छैन ।

सी. डिफिसाइल संक्रमणका लागि उपयुक्त दाता इरिटेबल बाउल सिन्ड्रोम वा डिप्रेसन भएका बिरामीका लागि प्रभावकारी नहुन सक्छन् ।

वैज्ञानिकहरू अहिले कुन सूक्ष्मजीवको संयोजनले कस्तो रोगमा राम्रो काम गर्छ भन्ने बुझ्ने प्रयासमा छन् । ‘सुपर पुपर्स’को पहिचान गर्न सक्ने भरपर्दो परीक्षणसमेत अहिलेसम्म नियमित रूपमा प्रयोगमा छैन ।

दिसाबाटै औषधिको क्याप्सुल पनि

दिसा प्रत्यारोपणको प्रविधि विकास हुँदै जाँदा दिसाबाट औषधि बनाउने कामसमेत अघि बढेको छ । अमेरिकामा केही कम्पनीले दाताको दिसामा रहेका उपयोगी ब्याक्टेरियालाई प्रशोधन गरेर औषधिका रूपमा उत्पादन गरिरहेका छन् ।

फेरिङ फार्मास्युटिकल्सले ‘रेबायोटा’ नामक एनिमा उत्पादन गर्छ । यो उपयोगी ब्याक्टेरिया बढी भएका दाताको दिसाबाट तयार गरिन्छ ।

त्यस्तै, सेरेस थेराप्युटिक्सले ‘भोस्ट’ नामक क्याप्सुल उत्पादन गर्छ । यसमा मानव दिसाबाट तयार गरिएका निश्चित ब्याक्टेरियाका स्पोर अर्थात् बीजाणु हुन्छन् ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले यी दुवै उत्पादनलाई बारम्बार दोहोरिने सी. डिफिसाइल संक्रमणको उपचारका लागि स्वीकृति दिएको छ ।

भविष्यमा राम्रो दाताको दिसाबाट उपयोगी सूक्ष्मजीव छनोट गरी प्रयोगशालामै ठूलो मात्रामा उत्पादन गरेर औषधिका रूपमा प्रयोग गर्न सकिने सम्भावना पनि छ ।

उपचारको सम्भावना मात्रै होइन, जोखिम पनि छ

दिसा प्रत्यारोपणलाई चिकित्सा विज्ञानको एउटा सम्भावनायुक्त विधि मानिए पनि यो पूर्ण रूपमा निश्चित नतिजा दिने उपचार होइन ।

लन्डनस्थित क्विन मेरी विश्वविद्यालयकी सारा बेन्तेरकियाका अनुसार यस प्रक्रियामा एउटा व्यक्तिको शरीरमा रहेका सूक्ष्मजीवको पूरै समुदाय अर्को व्यक्तिमा सारिन्छ । त्यसैले दाता, दिसा प्रशोधन गर्ने तरिका र प्रत्यारोपण गरिने बिरामीअनुसार नतिजा फरक हुन सक्छ ।

सबैभन्दा ठूलो चुनौती भनेको कुन दाताको दिसा कुन बिरामीका लागि प्रभावकारी हुन्छ भन्ने कुरा पहिचान गर्नु हो । गलत छनोट वा पर्याप्त परीक्षणबिना गरिएको प्रत्यारोपणले संक्रमणसमेत सार्न सक्छ ।

यसका बाबजुद वैज्ञानिकहरूले आन्द्रामा रहेका सूक्ष्मजीवको उपचारात्मक सम्भावनालाई भविष्यको चिकित्सा विज्ञानका लागि महत्त्वपूर्ण मानिरहेका छन् ।

कार्ल क्रफोर्डका अनुसार आधुनिक जीवनशैली र अत्यधिक प्रशोधित खानेकुराको सेवनले आन्द्रामा रहेका सूक्ष्मजीवको विविधता घटाउन सक्छ ।

शरीरभित्र रहेका यस्ता सूक्ष्मजीवले भविष्यमा विभिन्न रोगसँग लड्न सहयोग गर्न सक्ने भएकाले तिनको संरक्षण आवश्यक छ ।

दिसालाई फोहोरका रूपमा मात्र हेर्ने हाम्रो सामान्य बुझाइभन्दा फरक, चिकित्सा विज्ञानले अहिले यसभित्र लुकेको सूक्ष्मजीवको संसारलाई उपचारको सम्भावनाका रूपमा अध्ययन गरिरहेको छ ।

तर, यसको प्रयोग सुरक्षित बनाउन अझै धेरै अनुसन्धान र प्रमाण आवश्यक छन् ।

बीसीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?