+
+
Shares

बालेनको भारत भ्रमण गौरवको क्षण : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १७:२७

७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष  डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई गौरवको क्षणको संज्ञा दिँदै विश्वका शक्ति राष्ट्रहरू पनि मधेशी प्रधानमन्त्रीसँग उभिनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

सोमबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले विचार, असहमति र पार्टी आ–आफ्नो ठाउँमा रहे पनि सम्पूर्ण मधेश प्रधानमन्त्री शाहप्रति गौरवान्वित रहेको उल्लेख गरेका हुन्।

राउतले समग्र देश र युवा वर्गका लागि यो गौरवको क्षण भएको बताउँदै मधेशको दृष्टिकोणबाट पनि यसलाई भन्न कन्जुस्याइँ गर्न नहुने धारणा राखेका छन्। ‘गौरवको क्षण– बालेनले आज विश्वलाई देखाइदिए कि विश्वका शक्ति राष्ट्रहरू पनि मधेशी प्रधानमन्त्रीसँग उभिनुपर्दो रहेछ, मधेशीको पनि काम पर्दो रहेछ, मधेशको पनि काम लाग्ने रहेछ,’ राउतले भनेका छन्।

नेपालको पौने तीन सय वर्षको इतिहासमा मधेश र मधेशीलाई शासनको बागडोरमा निषेध गरिएको उल्लेख गर्दै राउतले त्यसलाई भताभुङ्ग पार्दै बालेन प्रधानमन्त्री बन्नु पहिलो गौरवको विषय भएको बताएका छन्।

विगतमा मधेशी समुदाय निर्णयको तहमा नपुग्दा छिमेकी तथा अन्तर्राष्ट्रिय शक्तिहरूले समेत मधेशलाई उपेक्षा गरेको उनको विश्लेषण छ। उनले मधेशमा ६० प्रतिशत जनसङ्ख्या रहे पनि विगतमा कुनै योजना, अनुदान वा विकास परियोजनामा मधेशलाई महत्त्व नदिइएको उनले उल्लेख गरेका छन्।

‘बरु पहाड र पहाडीलाई कसरी रिझाउन सकिन्छ भनेरै सारा शक्ति खर्चिरहे, र मधेशलाई बढीमा एउटा कार्ड जस्तो मात्रै उपयोग गर्न खोजे,’ राउतले भनेका छन्, ‘त्यही मधेशका बालेनले आज विश्वलाई देखाइदिए कि विश्वका शक्ति राष्ट्रहरू पनि मधेशी प्रधानमन्त्रीसँग उभिनुपर्दो रहेछ।‘

बालेनको नेतृत्वले मधेश र मधेशी राजनीतिको भविष्य उज्ज्वल रहेको प्रमाणित गर्नुका साथै आत्मविश्वास दिलाएको र विश्व राजनीतिमा मधेशको ढोका खोलेको राउतको भनाइ छ। अब विश्वका कुनै पनि शक्ति केन्द्रले मधेशलाई उपेक्षा गरेर बस्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले एउटाले उपेक्षा गरे अर्को दर्जनौँ तयार रहने टिप्पणी गरेका छन्। मधेशलाई यो शक्ति देखाएको र दिलाएको भन्दै उनले प्रधानमन्त्री बालेन शाहलाई धन्यवादसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?