+
+
Shares

मिस युनिभर्सको ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १२:४८

प्युर्टो रिकोकी जेनिफर ब्यारेेटोले ‘मिस युनिभर्स २०२६’को ताज जितेकी छिन् । सान जुआनमा आयोजित ७५औँ संस्करणमा जेनिफरले विश्वभरबाट आएका १ सय १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेकी हुन् ।

डोमिनिकन रिपब्लिककी प्रतियोगी फस्ट रनरअप बनिन् भने भेनेजुएलाकी प्रतियोगी तेस्रो स्थानमा रहिन् ।

को हुन् जेनिफर ब्यारेेटो ?

मिस युनिभर्सको ताज जितेकी जेनिफरको परिचय ग्ल्यामरमा मात्र सीमित छैन । उनले रिसर्च साइकोलोजीमा स्नातक गरेकी छिन् । यसबाहेक साइकोलोजी र क्लिनिकल सोसल वर्कमा दुईवटा मास्टर डिग्री पनि हासिल गरेकी छिन् ।

सन् २०२१ मा उनले टेक्सासको फोर्ट हुडमा अमेरिकी रक्षा विभागसँग व्यावसायिक यात्रा सुरु गरेकी थिइन् । त्यहाँ उनले फ्यामिली एड्भोकेसी प्रोग्रामअन्तर्गत शिक्षिका तथा संकट-प्रतिक्रिया सहयोगीका रूपमा काम गरेकी थिइन् ।

यस क्रममा उनले घरेलु हिंसा तथा बाल दुर्व्यवहारबाट प्रभावित सैन्य परिवारलाई सहयोग गर्नुका साथै रोकथाम र हस्तक्षेपसम्बन्धी रणनीतिबारे प्रशिक्षण दिने काम पनि गरेकी थिइन् । उनले कार्ल आर. डार्नल आर्मी मेडिकल सेन्टरमा समेत सेवा गरेकी छन् ।

७५औँ संस्करणमा १ सय १६ सुन्दरीको प्रतिस्पर्धा

मिस युनिभर्स २०२६ को फिनाले प्युर्टो रिकोको सान जुआनस्थित जोसे मिगुएल एग्रेलोट कोलिजियममा आयोजना भएको थियो । प्रतियोगिताको यस संस्करणले ७५ वर्ष पूरा गरेको थियो ।

प्रतियोगितामा १ सय १६ देशका सुन्दरी सहभागी थिए । उनीहरूले राष्ट्रिय पोसाक, प्रारम्भिक चरण र अन्तिम चरणमा आफ्नो प्रस्तुति दिएका थिए । आत्मविश्वास, स्टेज प्रस्तुति र समग्र प्रदर्शनका आधारमा उनीहरूको मूल्यांकन गरिएको थियो ।

विजेता जेनिफरलाई यसअघिकी मिस युनिभर्स फातिमा बोशले ताज पहिराएकी थिइन् ।

तर, यसपटकको प्रतियोगिता विवादमुक्त भने रहेन । केही प्रतियोगीले नाम फिर्ता लिनु, फ्रेन्चाइजी अधिकारसँग सम्बन्धित विवाद र आयोजन व्यवस्थापनबारे उठेका प्रश्नका कारण प्रतियोगिताले आलोचना पनि खेपेको थियो ।

यस पटक नेपालबाट मिस युनिभर्स नेपाल २०२६ की विजेता प्रयाश्ना गुरुङले प्रतिनिधित्व गर्ने तय थियो । तर, प्युर्टो रिको जान आवश्यक अमेरिकी भिसा समयमै स्वीकृत नभएपछि उनी प्रतियोगितामा सहभागी हुन सकिनन् ।

उनले अन्तिम समयसम्म प्रयास गरे पनि आवश्यक प्रक्रिया पूरा हुन नसकेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?