९ मंसिर, काठमाडौं । भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आफ्नो आदर्श खेलाडी युवराज सिंहसँग गरेको आधा घण्टाको कुराकानीले आफूलाई लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक बनाउन सहयोग पुगेको बताएका छन्।
सूर्यवंशीले राइजिङ स्टार्स एसिया कपमा यूएईविरुद्ध ५३ बलमा २०४ रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा २८ छक्का प्रहार गरे। यो लिस्ट ‘ए’ क्रिकेटमा बनेको सबैभन्दा छिटो दोहोरो शतक हो।
सूर्यवंशीले पछिल्लो समय आफ्नो ब्याटिङ लयलाई लिएर चिन्तित भएपछि युवराजसँग खुलेर कुरा गरेको बताए। भारतीय क्रिकेट बोर्डको आधिकारिक टेलिभिजनसँगको कुराकानीमा उनले युवराजले ब्याटिङका प्राविधिक पक्षबारे धेरै सुझाव दिएको र ती सुझावले यूएईविरुद्धको खेलमा सहयोग पुगेको बताए।
‘म निकै चिन्तित थिएँ। ब्याटिङ गर्न जाँदा आइरहेका समस्याबारे उहाँसँग खुलेर कुरा गरेँ। उहाँले आधा घण्टासम्म सबै कुरा राम्रोसँग बुझाउनुभयो। २० बल खेल्न सके स्कोर फरक हुने बताउनुभयो। उहाँले दिनुभएका प्राविधिक सुझावले मलाई धेरै सहयोग गर्यो’ सूर्यवंशीले भने।
उनले युवराजसँगै आफ्ना बुबा, बाल्यकालका प्रशिक्षक मनीष ओझा र यू–१९ समयदेखिका साथी प्रथम जचकसँग पनि कुराकानी गरेको बताए।
प्रतियोगितामा नेपालविरुद्ध २६ र पाकिस्तान ‘ए’ विरुद्ध ११ रनमा आउट भएका सूर्यवंशी घरेलु क्रिकेटमा पनि लयमा थिएनन्। त्यसअघि सैयद मुस्ताक अली ट्रफीमा बिहारका लागि सौराष्ट्रविरुद्ध उनले १८ रन बनाएका थिए।
लगातार कम रन बनाएपछि आफ्नो खेलबारे सोच्न थालेको र युवराजसँगको कुराकानीपछि ब्याटिङका गल्ती पहिचान गर्न भिडियोसमेत हेरेको उनले बताए।
‘युवराज सर मेरो आदर्श हुनुहुन्छ। आफ्नो आदर्शसँग कुरा गर्दा उहाँका सबै कुरा ध्यान दिएर सुनेँ। उहाँले एक–एक गरेर धेरै कुरा बताउनुभयो। मैले आफ्नो ब्याटिङका भिडियो पनि हेरेँ र कहाँ गल्ती गरिरहेको छु भन्ने महसुस गरेँ। त्यसलाई सुधार्ने प्रयास गरेँ’ उनले भने।
सूर्यवंशीले यूएईविरुद्ध पनि सुरुमा लामो समय ब्याटिङ गर्ने सोच बनाएको बताए। तर पिचको अवस्था बुझेपछि आफ्नो स्वाभाविक खेल खेलेको उनको भनाइ छ।
‘मैले सुरुमा विकेट कस्तो छ भनेर हेर्न केही बल खेलेँ। विकेटबाट बलरलाई खासै सहयोग मिलिरहेको थिएन र बल ब्याटमा राम्रोसँग आइरहेको थियो। त्यसपछि आफ्नो खेल खेलेँ र बलियो पक्षमा विश्वास गरें’ उनले भने।
यसअघि आईपीएल सकिएपछि अहमदाबादमा दिएको अन्तर्वार्तामा सूर्यवंशीले आफू तीनवटै प्रारूपमा खेल्न सक्ने र परिस्थितिअनुसार आफ्नो खेल परिवर्तन गर्न सक्ने बताएका थिए।
प्रतिक्रिया 4