९ मंसिर, पाल्पा । नेपालमै अनौठो धार्मिक परम्पराका रूपमा परिचित पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न भएको छ ।
कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ भक्तजन सहभागी भएका थिए ।
कान नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । परम्पराअनुसार भक्तजनले मध्यरातमा निगालो, साललगायतका लिंगो गाडेर तालको परिक्रमा गर्दै चिच्याएर वर माग्ने गर्छन् । भोलिपल्ट उज्यालो नहुँदै आफूले गाडेको लिंगो चिनेर पूजा गरेपछि फर्कने चलन छ ।
मेला सोमबार बिहान सम्पन्न भएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । भक्तजनको चाप बढ्दै गएपछि केही वर्षयता मेलाको अवधि पनि बढाइएको उनले जानकारी दिए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार मन्दिर पुनर्निर्माण, सडक मर्मत तथा स्तरोन्नतिका काम भइरहेको छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको सत्यवती क्षेत्रको थप प्रवर्द्धनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको स्थानीय सरोकारवालाले बताएका छन्।
प्रतिक्रिया 4