९ मंसिर, काठमाडौं । व्यावसायिक उत्पादनको संघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजना जब भोटेकोशीको प्रलयकारी बाढीको चपेटामा पर्यो, त्यसले एउटा आयोजनालाई मात्र होइन, समग्र निजी ऊर्जा क्षेत्रको मनोबललाई नै नराम्ररी झक्झक्यायो ।
निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनः निर्माणको सुरुवाती विन्दुमा फर्कनुपर्दा सुरुमा ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छायो ।
तर, समयसँगै विपद्को प्रकृति, क्षति र पुनर्निर्माणको बाटो स्पष्ट हुँदै जाँदा त्यो निराशा अहिले फेरि आत्मविश्वास र उत्साहमा बदलिन थालेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित १३ वटा जलविद्युत् आयोजनामध्ये ९ वटा निजी क्षेत्रका छन् । ती सबै आयोजनाको शतप्रतिशत बीमा गरिएको हुनाले निजी क्षेत्र पुनर्निर्माणका लागि तयार देखिन्छ । तर, उसले सरकारसँग राहत वा आर्थिक अनुदान मागेको छैन- मात्र नीतिगत र प्रशासनिक गाँठो फुकाइदिन आग्रह गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीका अनुसार बीमा भएकै कारण पुनर्निर्माण आर्थिक रूपमा सम्भव छ, तर कानुनी र प्रशासनिक जटिलता नफुकाई काम अघि बढ्न सक्दैन ।
‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ । अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ,’ डाँगी भन्छन्, ‘पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ । सरकारले आवश्यक सहजीकरण मात्रै गरिदिए हामी पुनर्निर्माणमा जान्छौँ ।’
विपद्को त्रासभन्दा माथि उठ्ने अठोट
प्राकृतिक विपद्का ठूला घटनाले लगानीकर्तालाई झस्काउनु स्वाभाविक हो । भोटेकोशी प्रलयलगत्तै जलविद्युत् क्षेत्रमा आबद्ध व्यवसायी र प्राविधिकहरूमा पनि एकखालको अन्योल र निराशा देखिएको डाँगी स्वीकार्छन् । तर, दुर्लभ प्राकृतिक विपद्को डरले देशको प्रमुख प्राकृतिक स्रोतको उपयोग नै रोक्न नहुने उनको तर्क छ ।
‘सुरु–सुरुमा अलिकति निराशा थियो । हामी आफैँलाई पनि, यस क्षेत्रमा लागेका मान्छेहरूलाई पनि केही निराशा भएको थियो । तर पछाडि बुझ्दै जाँदा अहिले त्यो निराशा छैन, अहिले उत्साहजनक अवस्था छ,’ उनी भन्छन्, ‘पाँच हजार वर्ष, १० हजार वर्षमा त्यस्ता घटना हुन्छन् भन्दैमा हामीले त्यो स्रोत प्रयोग नगर्ने भन्ने हुँदैन । त्यसैले हामी उत्साहित नै छौँ ।’
हजारौँ वर्षमा एकपटक हुने प्रकृतिका घटनालाई आधार बनाएर जलविद्युत् विकासबाट पछि हट्नुको साटो प्रभावित आयोजनाको पुनर्निर्माण गर्दै उत्पादनलाई निरन्तरता दिनुपर्नेमा निजी क्षेत्र एकमत देखिन्छ ।
५० वर्षे अनुमतिपत्र र नीतिगत सहजीकरणको खाका
प्रभावित आयोजनाहरूलाई कसरी छिटो र सहज रूपमा उठाउन सकिन्छ भनेर इप्पानले विस्तृत प्रतिवेदन तयार पारी नेपाल सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनमा आर्थिक सहायताभन्दा पनि पुनर्निर्माणका क्रममा आइपर्ने नीतिगत र कानुनी अड्चन हटाउने सहुलियत र सुविधालाई प्राथमिकता दिइएको छ ।
इप्पानको सबैभन्दा प्रमुख माग अनुमतिपत्रको अवधिसँग जोडिएको छ । लाङटाङजस्ता व्यावसायिक सञ्चालनको तयारीमा रहेका र निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाले पुनः निर्माणका लागि अतिरिक्त समय र स्रोत खर्चिनुपर्ने भएकाले विद्युत् ऐन, २०४९ अनुसार अनुमतिपत्रको अवधि ५० वर्ष कायम गरिनुपर्ने डाँगीको भनाइ छ ।
‘हामीले अनुमतिपत्रको अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष गरिदिनुपर्छ भनेका छौँ,’ डाँगी स्पष्ट पार्छन्, ‘किनभने निर्माण हुन तयार भएका, अन्तिम चरणमा पुगेका आयोजनासमेत अब पुनर्निर्माणमा जानुपर्ने अवस्था आएको छ ।’
इप्पानले अघि सारेका यी मागप्रति सरकारसमेत सकारात्मक रहेको र प्रभावित आयोजनाको पुनर्निर्माणको आवश्यकता राज्यले पनि महसुस गरेको डाँगीको अनुभव छ । आवश्यक नीतिगत व्यवस्था हुनासाथ निजी क्षेत्र सक्रियतापूर्वक पुनर्निर्माणमा होमिने उनको विश्वास छ ।
‘जीटुजी’ बाट ‘बीटुबी’ तिर : विद्युत् व्यापारको नयाँ बहस
पुनर्निर्माणको मुद्दासँगै निजी क्षेत्रले अहिले देशको बढ्दो विद्युत् उत्पादनलाई कसरी बजारसँग जोड्ने भन्ने बहसलाई पनि उत्तिकै जोडका साथ उठाएको छ ।
इप्पान अध्यक्ष डाँगीका अनुसार अन्तरदेशीय विद्युत् व्यापारलाई सरकार–सरकार (जीटुजी) को साँघुरो दायरामा मात्र नराखी व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट अघि बढाउँदा त्यो बढी सहज, व्यावहारिक र प्रतिस्पर्धात्मक हुन्छ ।
‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ,’ डाँगी उदाहरण दिन्छन्, ‘किनभने एक रुपैयाँ फाइदा भयो भने भारतको कम्पनीले ५० प्रतिशत नाफा खान्छ, नेपालको कम्पनीले ५० प्रतिशत नाफा खान्छ । तर सरकार–सरकारबीच त्यस्तो हुँदैन ।’
दुई देशका निजी क्षेत्रबीच व्यापारिक सम्बन्ध स्थापित हुँदा भारतको निजी क्षेत्रले त्यहाँको सरकारसँग र नेपालको निजी क्षेत्रले नेपाल सरकारसँग व्यापारमैत्री वातावरणका लागि नीतिगत लबिङ गर्ने र त्यसले समग्र विद्युत् व्यापारलाई व्यावसायिक बनाउने उनको विश्लेषण छ ।
यसका लागि सरकारले लेटर अफ इन्टेन्ट (एलओआई) दिइसकेका कम्पनीमध्ये योग्यता पूरा गरेका कम्पनीलाई लामो समय नअल्झाई तुरुन्तै विद्युत् व्यापारको लाइसेन्स दिनुपर्ने इप्पानको माग छ ।
‘एलओआई दिइसकेपछि जो योग्य हुन बाँकी छ, उसलाई योग्य हुने अवसर दिनुपर्छ,’ डाँगी भन्छन्, ‘तर जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ । त्यसो भयो भने निजी क्षेत्रले पनि पीपीए गर्न थाल्छ ।’
बैंकले पत्याउने पीपीए र वित्तीय व्यवस्थापनको चुनौती
योग्य निजी कम्पनीहरूले विद्युत् व्यापारको लाइसेन्स पाएमा उनीहरूले आफ्नै स्तरबाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्न थाल्नेछन् । यसले विद्युत् खरिद–बिक्रीको दायित्व सरकारी निकायमा मात्र सीमित नराखी सरकार र नेपाल विद्युत् प्राधिकरणमाथि रहेको पीपीएको भारसमेत बाँड्न मद्दत पुग्ने डाँगीको भनाइ छ ।
तर, निजी क्षेत्रबीच पीपीए हुनु मात्र पर्याप्त नहुने यथार्थप्रति पनि उनी उत्तिकै सचेत छन् । निजी कम्पनीहरूबीच हुने पीपीएलाई बैंक तथा वित्तीय संस्थाले विश्वास नगरेसम्म आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्भव हुँदैन ।
‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ । भोलि फाइनान्सियल क्लोजर त हुनुपर्यो,’ डाँगी भन्छन्, ‘निजी क्षेत्रबीच पीपीए गर्यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन । त्यसैले त्यो खालको वातावरण पनि बनाउनुपर्छ ।’
उनका अनुसार, विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा बजार व्यवस्थापन, खरिद–बिक्रीको सुनिश्चितता र पीपीएको नयाँ मोडालिटीबारे अहिले विभिन्न तहमा अभ्यास र छलफल चलिरहेको छ ।
भोटेकोशीको बाढीले थला पारेका आयोजना उठाउने काम होस् वा अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने विषय- निजी क्षेत्र लगानी र जोखिम दुवै लिन तयार रहेको उनी बताउँछन् । उनको आग्रह छ- मात्र, सरकारबाट समयसापेक्ष नीतिगत सहजीकरण र भरपर्दो वातावरणको पर्खाइमा छ निजी क्षेत्र ।
(न्युज एजेन्सी नेपालको सहयोगमा)
प्रतिक्रिया 4