News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित भारती माध्यमिक विद्यालयको नाम ‘भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ राखिने भएको छ।
- नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि ३ करोड रुपैयाँ सहयोग गर्न सम्झौता गरेका छन्।
- शर्माले विपन्न र जेहेन्दार विद्यार्थीका लागि काठमाडौं मेडिकल कलेजमा २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।
५ असोज, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित भारती माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिने भएको छ ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो ।
नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले आफ्ना हजुरबुबा गणपति न्यौपाने र जिजुबुबा गुनलाल न्यौपानेको स्मृतिमा विद्यालयलाई ३ करोड रुपैयाँ सहयोग गरेका हुन् । सहयोगसँगै विद्यालयको नाम शर्माका पुर्खाहरुको नाममा राख्ने सहमति भएको जनाइएको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले डा. शर्मा, पाख्रीबास नगरपालिका र विद्यालयबीच सम्झौता भएको हो । सम्झौता अनुसार विद्यालयको नाम परिवर्तनसँगै आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न शर्माकै काठमाडौं मेडिकल कलेजमा २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सम्झौतापत्रमा डा. सुनीलकुमार शर्मा, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पाख्रिबास नगरपालिका वडा नं. १० का वडाअध्यक्ष हरिबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।
विद्यालयले पाएको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा केही भौतिक संरचनामा खर्च गरिने भएतापनि धेरैजसो रकमको अक्षय कोष सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले जानकारी दिए ।
५ वर्ष विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्रै छात्रवृत्ति पाउने

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा ६ देखि निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष सोही विद्यालयमा अध्ययन पूरा गरेर एसईई उत्तीर्ण गरेका आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिइने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । आयोग वा सम्बन्धित विश्वविद्यालयको प्रचलित नियमअनुसार मेरिटका आधारमा काठमाडौं मेडिकल कलेजमा अध्ययनका लागि छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
यस व्यवस्थाले ग्रामीण तथा आर्थिक रुपमा कमजोर परिवारबाट आएका विद्यार्थीलाई चिकित्सा शिक्षा तथा अन्य उच्च शिक्षाका क्षेत्रमा पहुँच स्थापित गर्न सहयोग पुग्ने बताइएको छ । छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षासहित विभिन्न शैक्षिक कार्यक्रम अध्ययन गर्न आवश्यक शैक्षिक खर्च नि:शुल्क हुने व्यवस्था गरिएको छ ।
विद्यालयमा लामो समय अध्ययन गरेका तर आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले बताए ।
छात्रवृत्ति कार्यक्रम काठमाडौं मेडिकल कलेजमार्फत चिकित्सा शिक्षा क्षेत्रमा मात्रै कार्यान्वयन गरिने व्यवस्था गरिएको छ । जसबाट काठमाडौं मेडिकल कलेजमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएम, बीपीटी लगायतका शिक्षाका लागि निशुल्क हुने भएको प्रधानाध्यापक पौडेलले बताए ।
विद्यालयको नाममा पुर्खाको स्मृति जोडिंदै
वि.सं. २००८ सालमा स्थापना भएको भारती माध्यमिक विद्यालय लामो समयदेखि चुङमाङ क्षेत्रका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको विद्यालय हो । स्थापना भएको सात दशकभन्दा बढी समयपछि विद्यालयको नाम परिवर्तन गरी ‘भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ राखिने भएको हो ।
नाम परिवर्तनसँगै विद्यालयलाई प्राप्त हुने ३ करोड रुपैयाँ सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा थप योगदान पुग्ने भएको छ । डा. शर्माले आफ्ना हजुरबुबा र जिजुबुबाको स्मृतिमा विद्यालयलाई सहयोग उपलब्ध गराएका हुन् । विद्यालयको नाममा उनीहरुको नाम समेटिएसँगै शैक्षिक संस्थासँग पारिवारिक स्मृति जोडिने भएको शर्माले बताए ।
हाल भारती माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म करिब २५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयले प्रारम्भिक बालविकासदेखि माध्यमिक तह हुँदै कक्षा १२ सम्म शिक्षा प्रदान गर्दै आएको छ ।
ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीको समेत उल्लेख्य सहभागिता रहेको विद्यालयले जनाएको छ । नयाँ छात्रवृत्ति कार्यक्रमले यस्ता विद्यार्थीलाई उच्च शिक्षासम्म पुग्न आर्थिक सहयोग मिल्ने तथा विद्यालयलाई प्राप्त ३ करोड रुपैयाँ सहयोगले तत्कालीन शैक्षिक आवश्यकता पूरा गर्नुका साथै आगामी दिनमा विद्यार्थीको उच्च शिक्षा र विद्यालयको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने विद्यालयका प्रधानाध्यापक पौडेलले बताए ।
प्रतिक्रिया 4