News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वनस्पति घिउ तेल उत्पादक संघले बाढीपहिरो पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
- संघले १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीमा मानवीय र भौतिक क्षति भएको जनाएको छ ।
- संघले प्रभावित परिवारलाई तत्काल राहत, घाइतेको उपचार र अन्य सहयोग छिटो उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
१७ भदौ, काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संघले बुधबार बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
१० भदौ बुधबार बिहान चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासी लगायत जिल्लामा अकल्पनीय मानवीय र भौतिक क्षति भएको थियो ।
यस प्राकृतिक विपत्तिमा परी धेरै नागरिकको ज्यान गएको, बेपत्ता भएको, घाइते भएको र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा अपूरणीय क्षति पुगेकोप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।
‘यस्ता संवेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरूप नागरिक, समाज एवं राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै संघ तथा सदस्य उद्योगहरूबाट एकमुष्ट १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छौं,’ संघले भनेको छ ।
साथै, संघले प्रभावित परिवारलाई तत्काल राहत, घाइतेहरूको उपचार तथा अन्य आवश्यक सहयोग छिटोभन्दा छिटो उपलब्ध गराउन सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दै संघले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने जनाएको छ ।
सबै सम्बन्धित पक्षको संवेदनशीलता र सहयोगले मात्र प्रभावित क्षेत्रको पुनर्निर्माणले गति लिन सक्ने संघको ठहर छ ।
प्रतिक्रिया 4