९ मंसिर, टेक्सस (अमेरिका) । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् ।
नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् ।
‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ,’ भेटमा आरणले भने, ‘अब हामी तपाईँको त्यो पहुँचलाई उपयोग गरेर अमेरिकासँगको कुटनीतिक सम्बन्धलाई अझ दरिलो बनाउन चाहन्छौं ।’
उनले जहाँजहाँ नेपाली डायस्पोराले कांग्रेसम्यान र सिनेटरलाई भोट हालेका छन् त्यहाँत्यहाँ पुगेर नेपालको पक्षमा लबिङ गर्नुपर्ने उनले बताए ।
अमेरिकासँग मात्र नभई मेक्सिको र कोस्टारिकासँग पनि नेपालको कूटनीतिक सक्रियता बढाउनु आवश्यक रहेको उनले बताए । ‘यसका लागि नेपाली डायोस्पोरालाई सहयोग गर्न पनि म आग्रह गर्छु,’ उनले भने ।
कार्यवाहक राजदूत आरणले दुतावासले सकेसम्म सेवाग्राहीलाई सजिलो बनाउने पहल गरेको पनि जानकारी दिए । ‘दूतावासको टेलिफोन उठ्दैन भन्ने गुनासोलाई हामीले अहिले पुर्णरूपमा सम्बोधन गरेका छौं,’ उनले भने, ‘पासपोर्ट बनाउन दूतावास आउने जोकोहीलाई पनि सहयोग गरेर पठाउने गरेका छौं ।’
कार्यक्रममा नेपाली महावाणिज्यदूत सुरेश अधिकारीले टेक्ससमा महावाणिज्यदूतावास स्थापना भएदेखि हालसम्म सञ्चालन भएका गतिविधि, प्रदान गरिएका सेवा तथा विभिन्न कार्यक्रमहरूका बारेमा विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव प्रविश श्रेष्ठ, कोषाध्यक्ष प्रेम थापालगायत उपस्थित थिए ।
प्रतिक्रिया 4