९ मंसिर, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको छ । सेन्टरको बहिरङ्ग विभाग (ओपीडी ) र आकस्मिक कक्षमा आउने बिरामीको संख्या पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ ।
सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ओपीडीबाट एक लाख २४ हजार ११२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या एक लाख १४ हजार ८०० थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ९ हजार ३०० जना बढी बिरामीले ओपीडी सेवा लिएका छन् ।
पछिल्ला आठ आर्थिक वर्षको तथ्यांक हेर्दा ट्रमा सेन्टरको ओपीडी सेवामा बिरामीको चाप निरन्तर बढिरहेको देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा ७९ हजार २३९ जना बिरामीले ओपीडी सेवा लिएकोमा कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा घटेर ४० हजार २४१ मा झरेको थियो ।
महामारीपछि भने बिरामीको सङ्ख्या क्रमश: बढ्दैगएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७१ हजार ३१०, २०७९/८० मा ८२ हजार ९७८ र २०८०/८१ मा १ लाख १३ हजार १७३ जनाले ओपीडी सेवा लिएका थिए । त्यसयता बिरामीको सङ्ख्या थप बढेर १ लाख २४ हजार नाघेको हो ।
ओपीडीमा मात्रै नभई आकस्मिक कक्षमा आउने बिरामीको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा १९ हजार २७१ जनाले आकस्मिक सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या १८ हजार ३९८ थियो । एक वर्षको अवधिमा आकस्मिक सेवा लिने बिरामीको ८७३ जनाले बढेका छन् ।
यसअघि आर्थिक वर्ष २०७५/७६ मा १८ हजार २६३ र २०७८/७९ मा १८ हजार ४८५ जनाले आकस्मिक सेवा लिएका थिए ।
मेडिकल रेकर्ड विभागको १३ वर्षको तथ्याङ्कअनुसार ट्रमा सेन्टरमा झन्डै आठ लाखले ओपीडी तथा फलोअप सेवा लिएका छन् । आर्थिक वर्ष २०७२/७३ मा २८ हजार ३२३ रहेको ओपीडी तथा फलोअप सेवा लिनेको सङ्ख्या २०८२/८३ मा बढेर १ लाख २४ हजार ११२ पुगेको छ ।
बिरामीको चापसँगै सेन्टरमा शल्यक्रियाको सङ्ख्या पनि उल्लेख्य छ । वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेको डा. मरासिनीले बताए ।
तीमध्ये ९० प्रतिशतभन्दा बढी ठूला शल्यक्रिया (मेजर अपरेसन) हुने गरेको डा. मरासिनीले बताए । सेन्टरमा आउने बिरामीमध्ये अन्य अस्पतालबाट रिफर भएर आउनेको संख्या पनि उल्लेख्य छ ।
बिरामीको बढ्दो चापले सेन्टरको जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती भएको डा. मरासिनी बताउँछन् ।
उनका अनुसार ओपीडीमा बिरामीको सङ्ख्या बढेसँगै एक चिकित्सकको भागमा २ हजार १०३ जना बिरामी पर्ने गरेका छन् ।
त्यस्तै, आकस्मिक तथा नियमित बिरामीको भर्ना बढ्दा शय्या उपयोग दर (बेड अकुपेन्सी रेट) ९०.७३ प्रतिशत पुगेको छ ।
डा. मरासिनीका अनुसार पछिल्लो समय हाडजोर्नीमा ट्रमाले आधुनिक र विशिष्टीकृत उपचार सेवा विस्तार गरेको छ ।
‘दिल्लीमा उपलब्ध हुने धेरैजसो उपचार सेवा अहिले नेपालमै सम्भव छ । उपचार सेवा उपलब्ध नभएर विदेश जानुपर्ने अवस्था छैन,’ डा. मरासिनी भन्छन् ।
नेपालमै उपचारका पूर्वाधार र विशेषज्ञ सेवा विस्तार हुँदै गएकाले उपचारकै लागि विदेश जानुपर्ने बाध्यता क्रमश: कम हुँदै गएको उनको भनाइ छ ।
प्रतिक्रिया 4