१० मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् ।
नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।
सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका विषयमा छलफल भएको एमाले संसदीय दलका उपनेता अर्यालले जानकारी दिइन् ।
एमालेका प्रमुख सचेतक महरले संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा भइरहेको छलफलबारे सभामुखले जानकारी गराएको बताए । महरले भने, ‘सभामुखज्यूले यहि मंसिर महिनाको अन्तिम हप्तामा संसदको हिउँदे अधिवेशन बोलाउने बारेमा छलफल भइरहेको बताउनुभएको छ ।’
अघिल्लो अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो ।
संघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा गरी हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेका छन् ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा ३/३ वटा विधेयक छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २/२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ ।
राष्ट्रिय सभाका विषयगत समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा मात्रै विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको छ ।
यसबीचमा थप ७ वटा विधेयक दर्ता भएका छन् । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागु हुनेगरी संघीय संसदको अधिवेशन अन्त्य गरेका थिए ।
संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएका हुन् ।
संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक छ ।
यसैगरी, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएको छ ।
त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ ।
डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन् ।
संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ ।
प्रतिक्रिया 4