१० मंसिर, काठमाडौं । लुम्बिनी गुरुयोजना अन्तर्गत पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने कोषले जनाएको छ ।
मायादेवी मन्दिरछेउ स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कार व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन् ।
उक्त बाटो तथा पार्किङ निर्माण कार्य शीघ्र सम्पन्न गरी आगन्तुक तथा सेवाग्राहीलाई सहज आवागमनको वातावरण उपलब्ध गराइने भएको छ ।
हालको मुण्डन स्थलमा आवश्यक टहरा निर्माण, शौचालय, सरसफाइ तथा सुरक्षाको व्यवस्था कोषले मिलाउने भएको छ । धार्मिक तथा सांस्कृतिक परम्परा सम्मान गर्दै पवित्र उद्यान क्षेत्रको सम्पदा संरक्षण र व्यवस्थापन समेत ध्यानमा राखेर मुण्डन संस्कार व्यवस्थित बनाउने कोषको उद्देश्य रहेको बताइएको छ ।
प्रतिक्रिया 4