१० मंसिर, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालय (डेन्टल कलेज) मा महँगा डेन्टल चियरलगायत अन्य आवश्यक डेन्टल उपकरणको थुप्रो लागेको छ । तर जडान हुन नसक्दा ती उपकरण उपयोगविहीन अवस्थामा पुगेका छन् ।
डेन्टल कलेजका ९० प्रतिशत डेन्टल चियर र उपकरण थोत्रा भएपछि तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पालामा नयाँ डेन्टल चियर र उपकरण जडान गर्ने प्रक्रिया सुरु भएको थियो । सोही प्रक्रियाअनुसार डेन्टल चियर तथा अन्य उपकरण बीपी प्रतिष्ठानको डेन्टल कलेजमा ल्याइएको थियो ।
नेपाल सरकारको आर्थिक सहयोगमा ल्याइएका ४० र प्रतिष्ठान आफैंले ल्याएका ४५ गरी ८५ थान डेन्टल चियर, तीन वटा सेन्ट्रल सक्सन युनिट र क्याड क्याम ल्यावलगायत उपकरण जडान हुन नसक्दा सेवा र पठनपाठन दुवै प्रभावित भएको छ ।
पछिल्लो समयमा डेन्टल उपकरण आपूर्तिकर्ता गर्ग डेन्टल प्रालिले १२ करोड रुपैयाँमा ठेक्का पाएर ४० थान डेन्टल चियर, तीन थान सेन्ट्रल सक्सन र क्याड क्याम बीपी प्रतिष्ठानमा ल्याइएको हो । अन्य डेन्टल चियर र उपकरण प्रतिष्ठान आफैंले ल्याएको हो ।
जडान गर्न ढिलाइ हुनुको कारणबारे प्रतिष्ठान स्रोतले भन्यो, ‘चेतन अग्रवालको कम्पनी गर्गले डेन्टल उपकरण ल्याएर थुपार्यो । तर जडान गरिदिएन । आपूर्तिकर्ता कम्पनीले जडान गरेर सञ्चालनसमेत गर्नुपर्नेमा ‘सम्झौतामा जडान गर्ने बुँदा छैन’ भनेर तर्किएकोले ढिला भएको हो ।’
करोडौं मूल्यका मेडिकल उपकरण खिया लाग्न लागेको बेला बीपी प्रतिष्ठानमा रास्वपा सरकारले नयाँ पदाधिकारी नियुक्त गरेपछि बल्ल जडानको प्रक्रिया सुरु भएको थियो । तर डेन्टल उपकरण आपूर्तिकर्ता गर्ग कम्पनीले नयाँ पदाधिकारीको आग्रहलाई पनि नमानेपछि झन् ढिलाइ भएको हो ।

स्रोतका अनुसार बीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा. इन्द्र लिम्बूको पहलपछि ८५ वटा डेन्टल चियर जडान गर्ने सहमति भएको छ । तर डेन्टल कलेजमा भएका पुराना प्रविधिका हाइड्रोलिक डेन्टल चियर निकालेर नयाँ प्रविधिको इलेक्ट्रिक डेन्टल चियर जडान गर्न, डेन्टल सक्सन र डेन्टल कम्प्रेस एयर उपकरण जडान गर्न अहिले पनि समस्या भएको छ । पाइपलाइन विस्तार गर्न करिडोर खन्नुपर्ने, डेन्टल कलेजका ९ वटै विभागका कोठाकोठामा ती पाइपलाइन विस्तार गर्नुपर्ने भएकाले समस्या थपिएको हो ।
डेन्टल कलेजका एक सिनियर चिकित्कले भने, ‘डेन्टल चियर र अन्य उपकण आपूर्ति हुनासाथ कम्पनीले नै जडान गरिदिएको भए यतिबेला मुलुककै ‘सुपर डेन्टल उपचार कलेज’ बनिसक्थ्यो । तर ती उपकरण जडान गर्न सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिकको जिम्मेवारी बीपी प्रतिष्ठानको हो कि आपूर्तिकर्ता गर्ग कम्पनीकै हो भन्ने विवादले ८–१० महिनासम्म झुलाएर ढिलो भयो ।’
डेन्टल कलेजका चिकित्कहरूले आपूर्तिकर्ता कम्पनीले ढिलाइ गर्दा विभिन्न विभागको काम अस्तव्यस्त भएको बताएका छन् । एक महिनामा सकिनुपर्ने पाइपलाइन बिछ्याउने काम ६ महिना बढी समयमा पनि पूरा नभएको उनले बताए ।
ती चिकित्सकले भने, ‘तिहारअघि जसरी भए पनि काम सक्ने सप्लायर टोलीले प्रतिबद्धता जनाएका थिए । तर काम अगाढि बढाएनन् । जसोतसो पाइपलाइन बिछ्याइएको भए पनि डेन्टल चियरहरू सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । चिकित्सक बेरोजगार जस्तै बनेका छन् ।’
बिरामी र विद्यार्थीमा असर
बीपी प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालय मुलुककै एक मात्र ठूलो र व्यस्त दन्त उपचार केन्द्र हो । यहाँ दाँतको उपचारसम्बन्धी ९ वटा विभाग रहेका छन् । दैनिक उपचारका लागि आउने बिरामीको संख्या पनि उत्तिकै बढेको छ ।
दन्तचिकित्सक अध्ययन गर्ने विद्यार्थी पनि धेरै छन् । तर डेन्टल चियर र अन्य मेडिकल उपकरण जडानमै लामो समय लाग्दा बिरामीले महिनौं पालो कुर्नुपर्ने अवस्था आएको छ । डेन्टलका विद्यार्थीको सिप र तालिममा पनि गम्भीर असर परेको छ । धेरै विद्यार्थीले तोकिएको बिरामी कोटाको आधा पूरा गर्न पनि कठिनाइ भोगिरहेका छन् ।
पाइपलाइन बिछ्याउने क्रममा बाहिर सारेर फेरि भित्र राखिएका पहिलेका राम्रा र आधुनिक प्रविधिका डेन्टल चियरहरूमा धेरै टुटफुट र क्षति देखिएको चिकित्सकहरूले बताएका छन् । ती क्षतिग्रस्त भएका डेन्टल चियरहरू मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत सकिएको छैन । समग्रमा चियरको कार्यक्षमता करिब ६० प्रतिशत कमजोर भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले बजेट दिएर खरिद गरिएका ती डेन्टल चियरहरू सही समयमा जडान भए–नभएको, आपूर्तिकर्ता कम्पनीले नयाँ चियरहरू जडान गरे–नगरेकोबारे निगरानी तथा जाँचबुझ हुनुपर्ने हो । तर स्वास्थ्य मन्त्रालयसमेत कुनै निरीक्षण वा अवलोकन गर्न नआएको र सप्लायरमाथि कारबाही वा समयसीमा तोक्ने कामसमेत नभएको चिकित्सकहरूले बताएका छन् ।
प्रतिक्रिया 4