१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जितसँगै उत्साहजनक सुरुवात गरेको छ ।
बिहीबार कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो ।
१२८ रनको लक्ष्य पछ्याएको कर्णालीले विपिनको ६० रनको योगदानमा १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३-१३ रन जोडेका थिए ।
टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो ।
सुदूरलाई शुरुदेखि नै दबाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई-दुई विकेट लिए ।
प्रतिक्रिया 4