१० मंसिर, काठमाडौं । आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। उक्त सिरिजका खेल पनि गद्दाफी स्टेडियममै हुनेछन्।
दक्षिण अफ्रिका र नामिबियामा फेब्रुअरी–मार्चमा हुने विश्वकप छनोटको तयारीका लागि आयरल्यान्डले पाकिस्तान भ्रमण गर्न लागेको हो।
आयरल्यान्डको पाकिस्तान भ्रमण यसअघि सन् २०२५ को अगस्ट–सेप्टेम्बरमा तय भएको थियो। तर पाकिस्तानको व्यस्त घरेलु अन्तर्राष्ट्रिय खेल तालिकाका कारण भ्रमण स्थगित भएको थियो।
दुवै क्रिकेट बोर्डबीच बहुप्रारूपको सिरिजबारे पनि छलफल भएको थियो। तर आगामी विश्वकप छनोटलाई ध्यानमा राख्दै एकदिवसीय खेलमा मात्रै केन्द्रित हुने सहमति भएको हो।
क्रिकेट आयरल्यान्डका उच्च प्रदर्शन निर्देशक ग्रेम वेस्टले विश्वकप छनोटअघि टोलीका लागि यो भ्रमण महत्वपूर्ण हुने बताएका छन्। सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा नौ खेल खेलेको आयरल्यान्डले पाकिस्तानसँग थप ६ एकदिवसीय खेल खेल्दा खेलाडीलाई छनोट प्रतियोगिताका लागि तयार हुन सहयोग पुग्ने उनको भनाइ छ।
पाकिस्तान र आयरल्यान्डले पछिल्लोपटक सन् २०१६ मा डब्लिनमा दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। अहिलेसम्म यी दुई टोलीबीच सात एकदिवसीय खेल भएका छन्। त्यसमध्ये पाकिस्तानले पाँच खेल जितेको छ भने आयरल्यान्डले सन् २००७ को विश्वकपमा किङ्स्टनमा भएको खेलमा मात्रै पाकिस्तानलाई हराएको थियो।
आयरल्यान्डले सन् २०१८ मा पाकिस्तानविरुद्ध डब्लिनमा पहिलो टेस्ट खेलेको थियो। उक्त खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको थियो। त्यसपछि दुवै टोलीले टी–२० अन्तर्राष्ट्रियमा पनि प्रतिस्पर्धा गरेका छन्। उनीहरूबीच पछिल्लो भेट सन् २०२४ को टी–२० विश्वकपमा अमेरिकाको लाउडरहिलमा भएको थियो।
आयरल्यान्डको पुरुष टोली पहिलोपटक पाकिस्तान जान लागेको भए पनि महिला टोलीले सन् २०२२ नोभेम्बरमा पहिलोपटक पाकिस्तान भ्रमण गरेको थियो। त्यसक्रममा लाहोरमा एकदिवसीय र टी–२० सिरिज खेलेको आयरल्यान्डको महिला टोली सन् २०२५ अप्रिलमा महिला विश्वकप छनोटका लागि पुनः लाहोर पुगेको थियो।
प्रतिक्रिया 4