+

पेस बलरले जुत्तामा किन बनाउँछन् प्वाल ?

२०८३ मंसिर  १० गते १३:४४ २०८३ मंसिर १० गते १३:४४

१० मंसिर, काठमाडौं । क्रिकेटमा पेस गतिका बलरले जुत्ताको अगाडिको भागमा प्वाल बनाएको देख्नुभएको छ ? पछिल्लो समय नेपाली क्रिकेट समर्थकमाझ पनि यो विषय चर्चामा छ।

नेपाली तीव्र गतिका बलर नन्दन यादवले प्वाल परेको जुत्ता लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले यसलाई जुत्ताको अवस्था र नेपाल क्रिकेट संघ (क्यान) सँग जोडेर प्रश्न उठाएका थिए। तर, फास्ट बलरले जुत्तामा प्वाल बनाउनुको आफ्नै प्राविधिक कारण हुन्छ।

तीव्र गतिका बलरले बलिङ गर्दा लामो रनअप लिन्छन् र बल फ्याँक्ने क्रममा अगाडिको खुट्टाले ठूलो बलका साथ जमिनमा टेक्नुपर्छ। त्यसक्रममा शरीरको गति रोकिँदा खुट्टाको औंलामा, विशेषगरी बूढीऔंलामा, धेरै दबाब पर्छ। जुत्ताभित्र औंला अगाडिको भागमा ठोक्किँदा दुख्ने, नङमा चोट लाग्ने वा घर्षणका कारण असहज हुने समस्या देखिन सक्छ।

यही दबाब कम गर्न कतिपय फास्ट बलरले जुत्ताको अगाडिको भागमा, विशेषगरी बूढीऔँलाको वरिपरि सानो प्वाल बनाउने गर्छन्। यसले औंलालाई केही खाली ठाउँ उपलब्ध गराउँछ र बलिङका क्रममा जुत्ताभित्र पर्ने दबाब तथा घर्षण कम गर्न सहयोग गर्छ।

लामो समय बलिङ गर्दा हुने असहजता कम गर्न पनि यस्तो तरिका अपनाइन्छ।

यो अभ्यास नयाँ भने होइन। विश्व क्रिकेटका विभिन्न तीव्र गतिका बलरले पनि आफ्नो सहजताका लागि जुत्तामा यसरी परिवर्तन गर्ने गरेका छन्। इंग्ल्यान्डका जोफ्रा आर्चर, भारतका मोहम्मद सिराज र पाकिस्तानका हरिस राउफका जुत्तामा पनि यस्तो प्वाल देखिएको थियो। सबै बलरले यस्तो गर्छन् भन्ने होइन, यो व्यक्तिगत आवश्यकता र सहजतामा भर पर्ने अभ्यास हो।

नन्दन यादवले पनि आफ्नो जुत्तालाई लिएर उठेको विवादपछि सामाजिक सञ्जालमा लामो स्पष्टीकरण दिए। उनले तस्बिरमा देखिएको जुत्ताको अवस्था बढाइचढाइ प्रस्तुत गरिएको भन्दै आफूले खेल्दा सहजताका लागि जानाजानी सानो प्वाल बनाएको बताएका थिए।

‘तस्बिरमा देखिएको जस्तो जुत्ताको अवस्था खराब छैन। मैले खेल्दा सहजताका लागि आफैँ सानो प्वाल बनाएको हुँ’ उनले लेखेका छन्।

आफू क्रिकेटका सामग्री किन्न सक्षम रहेको र हिमालयन विलो, माया ग्रुप, स्टडी एक्सप्रेस तथा जर्सी पसल नेपालजस्ता ब्रान्डसँग पनि आबद्ध रहेको उनले उल्लेख गरेका थिए। वास्तविकता नबुझी भ्रामक सूचना फैलाउनुभन्दा तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न उनले सञ्चारमाध्यम र समर्थकलाई आग्रह गरेका थिए।

त्यसैले फास्ट बलरको जुत्तामा देखिने प्वाल सधैँ जुत्ता पुरानो भएर वा किन्न नसकेर परेको हुँदैन। कतिपय अवस्थामा त्यो बलिङका क्रममा खुट्टामा पर्ने दबाब कम गर्न खेलाडीले आफैँ गरेको परिवर्तन हुन्छ।

पेस बलर बलरको जुत्तामा प्वाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय