+

१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने

२०८३ मंसिर  १० गते १३:५८ २०८३ मंसिर १० गते १३:५८

१० मंसिर, काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने नारासहित १४औं किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्।

आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुने किन्डर ओलम्पिक तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको कार्यक्रम मंसिर १२ गते शनिबार काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ।

सहभागी विद्यालय र बालबालिकाको संख्या बढी भएकाले दोस्रो चरण पुस १२ गते र तेस्रो चरण माघ १० गते लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आयोजना गरिनेछ।

एकताका अध्यक्ष सुवर्ण केसरी महर्जनका अनुसार कार्यक्रममा बालबालिकाले १८ वटा खेलमा सहभागिता जनाउनेछन्। कार्यक्रमलाई व्यवस्थित बनाउन प्रत्येक चरणमा ५० भन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ।

आयोजकले खेलका क्रममा बालबालिकालाई एकअर्कासँग प्रतिस्पर्धा गर्नुभन्दा व्यक्तिगत लक्ष्य हासिल गर्न र आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागी सबै बालबालिकालाई पदक तथा विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

एकताकी संस्थापक सदस्य रुपा अधिकारीले सानै उमेरदेखि बालबालिकामा खेलकुदप्रति रुचि जगाउन, आत्मविश्वास बढाउन तथा नैतिकता, इमानदारी र जिम्मेवारीबोध विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

त्यस्तै, एकताकी संस्थापक सदस्य तथा १४औँ किन्डर ओलम्पिककी संयोजक बिना शर्माले साना बालबालिकाका लागि अन्तरविद्यालयस्तरीय खेलकुद तथा सिर्जनात्मक कार्यक्रमको अभाव महसुस भएपछि संस्था स्थापना गरिएको बताइन्।

उनका अनुसार करिब १७ वर्षअघि पूर्वप्राथमिक तहका बालबालिकालाई विद्यालयको सीमाभन्दा बाहिर ल्याई अन्तरविद्यालयस्तरीय गतिविधिमा सहभागी गराउने तथा शिक्षकहरूको बालमैत्री व्यवहार र पेसागत विकासमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था स्थापना गरिएको थियो। बालबालिकामा खेलकुदसम्बन्धी चेतना अभिवृद्धि गर्न किन्डर ओलम्पिक सुरु गरिएको पनि उनले बताइन्।

पूर्वप्राथमिक तहका बालबालिकाको सर्वाङ्गीण विकास, आत्मविश्वास अभिवृद्धि तथा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले एकताले विगत १६ वर्षदेखि बालबालिकाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

१४औं किन्डर ओलम्पिक किन्डर ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय