११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले पार्टीलाई राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक रहेका बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले देश गम्भीर मोडमा पुगेको अवस्थामा पार्टीले आफूलाई फुटकर कार्यक्रमहरूमा मात्र सीमित राख्न नहुने बताएका हुन् ।
‘आज देश एउटा गम्भीर मोडमा पुगेको अवस्था छ,’ पराजुलीले भने, ‘यस्तो बेलामा कांग्रेसले आफूलाई फुटकर कार्यक्रमहरूमा मात्र सीमित नराखी राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक छ ।’
लोकतन्त्रको असल अभ्यास गर्ने सन्दर्भमा अहिलेको सरकार र संसद् दुवै चुकिराखेका भन्दै उनले अहिलेको अवस्थामा पार्टीले लोकतन्त्रको असल अभ्यास र शक्तिको केन्द्रीकरणविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली कांग्रेसले सरकारलाई, संसदलाई र राज्यका अन्य सबै संरचनाहरूलाई लोकतान्त्रिक विधिबाट सञ्चालन हुनका लागि दबाब, गम्भीर बहसको थाली र आवश्यक परे कठोर निर्णयहरूसमेत गर्नुपर्ने हुनसक्छ,’ उनले बैठकमा भने ।
नेता पराजुलीले संविधानको आँखाबाट लोकतान्त्रिक अभ्यासको समीक्षा गर्नुपर्ने पनि बताए । कांग्रेसले शक्ति सन्तुलनको सिद्धान्त, संसद्को भूमिका, सरकारको कार्यशैली, अदालतको विश्वसनीयता, संवैधानिक अंगहरूमा परिरहेको सत्ता र शक्तिको छायाँ जस्ता विषयमा शसक्त निगरानी र निरन्तर खबरदारी गर्न सक्नुपर्नेमा जोड दिए ।
कांग्रेसले छाँया सरकारको प्रभावकारी कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग र नयाँ पुस्तालाई लोकतन्त्रको शिक्षा, सरकारका कार्यशैली, नीति र आदेशहरू सुशासनमैत्री छन् कि छैनन् भन्ने विषयमा पनि तत्कालै कदम चाल्नुपर्ने बताए ।
अहिलेको चुनौतीपूर्ण घडीमा कांग्रेसले केवल प्रतिक्रियात्मक र फुटकर गतिविधिमा रमाउने छुट नभएको उनको भनाइ थियो ।
‘संविधानको रक्षक, लोकतन्त्रको संवाहक र सुशासनको पहरेदारका रूपमा उभिएर सरकार, संसद र राज्यका सबै अंगलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सशक्त भूमिका निर्वाह गरौं,’ बैठकमा पराजुलीले भने ।
प्रतिक्रिया 4