११ मंसिर, काठमाडौं । सरकारले बजार अनुगमन क्रममा तोकिएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीहरूलाई यस्तो अल्टिमेटम दिएको हो ।
सूचनामा उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण र स्वच्छ तथा प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग तथा मातहत कार्यालयहरूबाट विभिन्न मितिमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिएको उल्लेख छ ।
सोही अनुगमन क्रममा प्रचलित कानुन विपरीत व्यवसाय सञ्चालन गरेको पाइएका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ र दफा ३९ बमोजिम निरीक्षण अधिकृतबाट तत्काल जरिबाना गरिएको थियो ।
तर, कतिपय व्यावसायिक फर्म तथा प्रतिष्ठानले हालसम्म पनि उक्त जरिबाना रकम राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा पेस नगरेको अभिलेखबाट देखिएको विभागले जनाएको छ ।
विभागले प्रचलित कानुनका विभिन्न प्रावधान आधार मान्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीलाई सचेत गराएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा (५) र दफा ४०, उपभोक्ता संरक्षण नियमावली २०७६ को नियम २६, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, साझेदारी ऐन २०२०, कम्पनी ऐन २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, गुणस्तर (प्रमाण–चिह्न) ऐन २०३७ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ लगायत प्रचलित नेपाल कानुन बमोजिम जरिबाना तिर्न बाँकी सम्पूर्ण व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई सूचना प्रथम पटक प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको जरिबाना बापत रकम दाखिला गर्न भनिएको छ ।
व्यवसायीहरूले उक्त रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउनुपर्ने छ ।
राजस्व रकम दाखिला गर्न विभागले बैंक तथा खातासम्बन्धी विवरण समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी तोकिएको जरिबाना रकम जम्मा गर्नुपर्ने छ ।
तोकिएको एक महिनाको म्यादभित्र जरिबाना रकम दाखिला नगरे विभागले तीन प्रकारका कडा कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएको छ ।
जसअनुसार पहिलो कारबाहीका रूपमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९(५) तथा दफा ४० बमोजिम सम्बन्धित व्यावसायिक फर्म, पसल वा प्रतिष्ठानमा शिलबन्दी गरी व्यावसायिक कारोबार तत्काल रोक्का गरिने छ ।
दोस्रो कारबाही अन्तर्गत प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, कम्पनी ऐन २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र वा अनुमतिपत्र निलम्बन वा खारेज गर्न लेखी पठाइने विभागको भनाइ छ ।
त्यस्तै तेस्रो कारबाहीका रूपमा तोकिएको जरिबाना रकम सरकारी बाँकीसरह असुलउपर गर्न सम्बन्धित मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू मार्फत व्यवसायीको चलअचल सम्पत्ति तथा बैंक खाता रोक्का राख्ने प्रक्रिया समेत अगाडि बढाइने सूचनामा उल्लेख छ ।
जरिबाना रकम दाखिला गर्न आवश्यक पर्ने राजस्व शीर्षक, कार्यालय कोड तथा बैंक खातासम्बन्धी थप विस्तृत जानकारीका लागि विभागको आधिकारिक वेबसाइट हेर्न वा विभागको टोल फ्रि नम्बर ११३७ मा सम्पर्क राख्न सकिने विभागले जनाएको छ ।
प्रतिक्रिया 4