८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् ।
स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित र हाल पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा रहेका जनप्रतिनिधिलाई पदमुक्त गर्न लागिएको हो । सभापति थापाले देउवा पक्षलाई अर्कै पार्टी भएको बताए । पार्टी विधान अनुसार उनीहरूलाई पदमुक्त गर्ने सभापति थापाले चेतावनी दिए ।
‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिन्ह लिएर लडेको छ । र चुनाव चिन्ह लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन,’ सभापति थापाले बैठकबाट भने, ‘राष्ट्रिय, प्रतिनिधि, प्रदेश सभा सदस्य, स्थानीय तहमा मेयर उपमेयरबाट राजीनामा गर्नुहोला । तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नु पर्ने हो, गर्छ ।’
एउटै दलको दुई महाधिवेशन हुन नसक्ने बताउँदै संस्थापन पक्षले कांग्रेसबाट निर्वाचित भएका र अर्को समूहतिर लागेकालाई कारबाही गर्ने संकेत गरेको हो । देउवा पक्षको महाधिवेशन नजिकिएसँगै सभापति थापाले उक्त पक्षमा लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्ने चेतावनी दिएका हुन् ।
देउवा पक्षलाई अर्को पार्टीको रुपमा लिँदै सभापति थापाले भने,‘कांग्रेस पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्यता लिने हो भने चाहिँ त्यसले समस्या गर्छ । साथीहरूले अहिले समयमा विचार गर्नुहोला । पार्टीको सदस्यता कायम नराख्ने हो भने तपाईंहरूको छनोट हो ।’
कांग्रेस शीर्ष तहका एक नेताका अनुसार देउवा पक्षको महाधिवेशनमा खुलेर लाग्नेहरूलाई पदमुक्त गर्न लागिएको हो । ती नेताका अनुसार दुबै पक्षतिर नलागी तटस्थ बसेकाहरूको हकमा भने कारबाही हुने छैन । आफू निर्वाचित भएको दल त्याग गरेको अवस्थामा पार्टीले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ ।
कांग्रेसकै १५ औं महाधिवेशन गर्न लागेको देउवा पक्षले दाबी गरेको छ । देउवा पक्षको महाधिवेशनमा लागेका जनप्रतिनिधिले दल त्याग गरेको अवस्था छैन । पदमुक्त गराउने प्रक्रिया भने सहज छैन ।
दल त्याग गरेको भनिएका जनप्रतिनिधिलाई स्पष्टीकरणको अवसर दिनुपर्दछ । स्पष्टीकरण चित्त बुझ्दो नभएको अवस्थामा केन्द्रीय समितिले दलबाट निष्कासन गर्नसक्छ । पदमुक्त गरेको सूचना प्रतिनिधि र राष्ट्रिय सभा सचिवालयमा जानकारी गराउनु पर्दछ । उक्त सूचनालाई संसद सचिवालयले सदन चलिरहेको बेलामा (१५ दिनभित्र) पदमुक्त भएको जानकारी गराउनुपर्दछ । स्थानीय तहको जनप्रतिनिधिले दल त्याग गरेको जानकारी सहित केन्द्रीय समितिले पदमुक्त गरेर निर्वाचन आयोगलाई अवगत गराउनु पर्दछ ।
संघीय र प्रदेश सभामा देउवा पक्षका को को छन् ?
प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद मध्ये दुई जना देउवा पक्षमा खुलेका छन् । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका हरिना देवी कामी र सुशिला ढकाल आचार्य अर्को पक्षमा खुलेका छन् । निनु कुमारी कर्ण र रीना उप्रेति तटस्थ देखिएका छन् ।
प्रतिनिधि सभामा भन्दा तुलनात्मक रुपमा देउवा पक्षका सांसद राष्ट्रिय सभामा बढी छन् । राष्ट्रिय सभामा कांग्रेसका २४ सांसद छन् । राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना नारायणदत्त भट्ट लगायत देउवा पक्षमा खुलेर लागेका छन् । राष्ट्रिय सभा सदस्यद्वय विष्णुदेवी पुडासैनी र चन्द्र केसी कुनै पक्षमा खुलेका छैनन् ।
प्रदेश सभातर्फ मधेस र कर्णालीमा देउवा पक्षको महाधिवेशनमा लाग्ने प्रदेश सांसद कुनै पनि छैनन् । कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद रहेकोमा तीन जना देउवा पक्षमा सक्रिय भएर लागेका छन् । केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री देउवा पक्षमा छन् ।
बागमतीमा कांग्रेसका ३६ सांसदमा आठ जना देउवा समूहको महाधिवेशनतिर लागेका छन् । विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षले गर्ने महाधिवेशनमा लागेका छन् । गण्डकीको प्रदेश सभामा रहेका २७ कांग्रेस सांसदद्धय जीत शेरचन र दिपेन्द्र थापा देउवा पक्षमा छन् ।
कांग्रेसका २८ जना प्रदेश सांसद रहेको लुम्बिनीमा देउवा पक्षमा रोज राणा र माया पुन मात्रै उभिएका छन् । देउवा पक्षले राणालाई लुम्बिनी प्रदेश सभापति र पुनलाई उपसभापति बनाएको छ ।
सुदूरपश्चिममा कांग्रेसका १७ सांसद मध्ये सात जना देउवा पक्षमा छन् । कमलबहादुर शाह, मेघराज खड्का, प्रकाश बहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती छन् । विक्रम धामी र गीता चौधरी कतै पनि खुलेको छैनन् ।
कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित र हाल देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिहरूको तथ्यांक संकलन जारी रहेको जानकारी गराएका छन् ।
प्रतिक्रिया 4