सानोतिनो हल्लीखल्ली गर्दै दुई नेपाली फिल्म यतिबेला हलमा लागेका छन् । एउटा फिल्म कमेडी जनराको हो । कमेडी शो गर्नेहरूकै वर्चस्व रहेको फिल्मले केही दिनअघि प्रिमियर पनि गरेको थियो । थुप्रै कलाकार उपस्थित कार्यक्रममा फिल्मबारे सबैको एउटै प्रतिक्रिया थियो, ‘राम्रो छ ।’
यो प्रतिक्रिया प्रिमियरका लागि अनपेक्षित होइन । फिल्म निर्माण टिमकै निम्तोमा त्यहाँ उपस्थित भएकाहरूले यति भन्ने नै गर्छन् । फिल्मलाई दर्शकले कति रुचाउँछन् ? त्यसको जवाफ भने आज र भोलिको प्रदर्शनले दिनेछ ।
विक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेको यो फिल्मले त्यस्तो ग्रामीण समाजको कथा भन्छ । गाउँमा अस्पतालको खाँचो भएपछि गाउँलेहरू सामूहिक रूपमा बैंक लुट्न जाने तयारी गर्दै गरेको परिघटनामा आधारित रहेको बुझिन्छ । फिल्मले नाभीदेखिको बल लगाएर हँसाउने यत्न गरेको छ । तर फिल्म हेरेर दर्शक कति हाँस्छन् ? मुख्य कुरा यही हो ।
फिल्ममा पुराना र नयाँ कलाकारको जमघट छ । सन् १९९० को दशककी चर्चित अभिनेत्री तृप्ति नाडकरदेखि गौरी मल्ल र रेखा थापासम्म यसमा छन् । फिल्म हेर्नका लागि तपाईंले हलमा दुई घण्टाभन्दा बढी समय बिताउनुपर्नेछ ।
यस्तै, आज हलमा आएको अर्को फिल्म हो, ‘सारथी’ । नामबाटै थाहा हुन्छ, यो कुनै सामाजिक वा पारिवारिक कथामा आधारित छ । खासगरी आमा र छोराको सम्बन्धलाई यसले फरक ढंगले प्रस्तुत गर्छ ।
फिल्ममा निरुता सिंह र उत्तम प्रधानको अभिनय छ, जो कुनै बेलाका पर्दाका चर्चित जोडी हुन् । खासगरी ‘दर्पण छाया’ बाट उनीहरू चर्चामा आएका थिए । लामो समयपछि दुवै नेपाली फिल्ममा फर्किएका हुन् । फिल्मलाई कुमार गजुरेलले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4