११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ ।
मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार महाधिवेशन प्रचार प्रसार समिति संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मनोनित भएका छन् ।
त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत छन् ।
सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनित भएका छन् ।
नेपाली कांग्रेस देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन यही मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4