१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।
राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ए विरुद्ध खेलेर लिस्ट ए डेब्यू गरेका अभिशेष पहिलोपटक ओडीआई खेल्ने लाइनमा हुनेछन् ।
प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइसकेका छन् भने नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ । जर्सीको टोली पनि चाँडै नेपाल आउने तयारीमा छ ।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4