+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो

२०८३ मंसिर  १२ गते १९:०३ २०८३ मंसिर १२ गते १९:०३

१२ मंसिर, सुर्खेत । रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीमा प्रतियोगिताकै सर्वाधिक योगफल बनाएको बागमती प्रदेशले दशौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार कालुन्चोक मैदानमा भएको दोस्रो खेलमा बागमतीले कोशी प्रदेशलाई ८४ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोशी १६.३ ओभरमा ९५ रनमै समेटियो ।

बागमतीका लागि रिनजिन र रोशनले तेस्रो विकेटका लागि १३० रनको साझेदारी गरे । ओपनर रित गौतम ६ रनमा आउट भएपछि क्रिजमा आएका रोशनले रिनजिनसँग मिलेर टोलीको स्कोर उकासेका थिए ।

४० बल खेलेका रिनजिनले ५ छक्का र ३ चौकासहित ५७ रन बनाए । रोशनले ३ छक्का र ६ चौकाको मद्दतमा ३८ बलमा ६३ रन जोडे । सोनु देवकोटाले १९ र विवेक राना मगरले १३ रन बनाए ।

प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल हो । यसअघि आर्मीले गण्डकी प्रदेशविरुद्ध १७७ रन बनाएको थियो । कोशीका प्रतिक पोखरेलले ३ तथा प्रेम कामतले २ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको कोशीले बागमतीका बलरसामु खुलेर खेल्न सकेन । फिरदोस अन्सारीले सर्वाधिक २१ रन बनाउँदा सोनु अन्सारी र विपिन महतोले समान १३ तथा शाकिब हक र सुजन थपलियाले समान १० रन जोडे ।

समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको कोशीले लगातार दोस्रो हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिने पहिलो क्रिकेट टोली बनेको छ ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय