२६ कात्तिक, काठमाडौं । हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ ।
शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको कोभिड खोप ‘कोभ्याक्सिन’ भाइरसविरुद्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त कोभिड-१९विरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ ।
‘प्रभावकारितासम्बन्धी विश्लेषणले २५ जना खोप समूहका र १०६ जना प्लेसिबो समूहअन्तर्गत पुष्टि भएका १३० संक्रमितको मूल्याङ्कनमार्फत सामान्य लक्षणसहितको कोभिड संक्रमणविरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखाएको छ’, लान्सेटको अध्ययनलाई उदृत गर्दृ भारत बायोटेकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसबाहेक गम्भीर लक्षणसहितको कोभिड-१९ विरुद्ध कोभ्याक्सिन ९३.४ प्रतिशत प्रभावकारी हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कोभ्याक्सिन तेस्रो चरणको परीक्षणबाट डेल्टा भेरियन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी देखिएको पहिलो कोभिड खोप भएको पनि कम्पनीको दाबी छ । खोपको साइड इफेक्टसम्बन्धी विश्लेषणबाट देखिएका गम्भीर असर प्लेसिबोका जस्तै भएको र १२ प्रतिशतमा मात्रै सामान्य साइड इफेक्ट देखा परेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4