+
+

माघमा झन् घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:५६

१२ फागुन, काठमाडौं । गत माघ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या झनै घटेको छ । पुसमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या १२ हजारले घटेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा ५४ हजार ४७० जना नेपाली श्रमिकले विदेश जान श्रम स्वीकृति पाएका छन् । माघ महिनामा दैनिक औसत १८ सय २५ जना श्रमिक विदेश गएका छन् ।

बितेको माघ महिनामा बाहिरिएका साढे ५४ हजारमध्ये ३२ हजार २५७ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्य २२ हजार ११३ जनाले पुरानो श्रम स्वीकृति नवकीरण गरेका थिए ।

गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

नेपालमा महामारीको तेस्रो लहरले माघ महिनामा यसरी विदेशिने श्रमिकको संख्या घटेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस महिनापछि संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?