+
+

सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी

रासस रासस
२०७९ वैशाख १५ गते १७:४०

१५ वैशाख, सर्लाही । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातजना उम्‍मेदवारविरुद्ध उजुरी परेको हो ।

बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिए । बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक–एक उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि विहिबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने पियाले जानकारी दिए ।

बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेद्वारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाविरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिएका हुन् । पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ । त्यस्तै सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार रु ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र रु पाँच करोड ३६ लाख ८४ हजार असुलनै गर्नुपर्ने उल्लेख गरिएको छ । सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिए ।

वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा वैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ ।

यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?