२७ भदौ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेनउड एकेडेमी र सूर्योदय इङलिस हाइ स्कुल चौथो प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
रातोपुलस्थित हेम्स स्कुलको कोर्टमा भएको सेमिफाइनलमा पेनउडले काठमाडौं इङलिस स्कुल (केइएस) लाई २९-१८ ले पराजित गर्यो । विजेताकी याङछिन गुरुङले ९ अंक जोडिन् । सुरुका तीन क्वाटरमा क्रमशः १४-६, ५-४ र ४-० को अग्रता लिएको पेनउड चौथोमा ६-८ ले पछि पर्यो ।
सूर्योदयले मैतीदेवी बोर्डिङ स्कुललाई १७-८ ले निराश पार्यो । सूर्योदयकी अर्मी सापकोटाले १२ स्कोर गरिन् । सूर्योदयले पहिलामा २ र दोश्रोमा ३ अंक जोड्दा मैतीदेवीले खाता खोल्न सकेन । तेश्रोमा सूर्योदयले ८-२ स्कोर गर्यो भने चौथोमा ४-६ ले पछाडि पर्यो ।
ब्वाइजतर्फ डिफेन्डिङ च्याम्पियन पेनउड र केइएसले फाइनलमा स्थान सुरक्षित गरे । पेनउडले एसियन पब्लिकको यात्रा ५४-४० ले पूर्णविराम लगायो । पेनउडको जितमा फुर्वा टासी शेर्पाले २७ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १२-११ को अग्रता लिएको पेनउड दोश्रोमा १४-६ ले अगाडि रह्यो । पेनउडले तेश्रोमा १०-११ र चौथोमा १८-१२ को प्रदर्शन गर्यो । अर्को सेमिफाइनलमा सुशन सुनुवारको १६ अंक सहयोगमा केइएसले आनन्दभूमि बोर्डिङ हाइ स्कुललाई ५२-३३ ले पाखा लगायो ।
केइएसले पहिलोमा १३-३, दोश्रोमा ९-२ र तेश्रोमा १८-१४ अंक जोड्यो । चौथोमा आनन्दभूमिले १४-१२ को अग्रता लिएपनि जित हात पार्न सकेन । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।