
काठमाडौं । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै काठमाडौंको एक कलेजले शिक्षक समेत रहेका कलाकारलाई जागिरबाट निकालेको छ ।
सुकेधारास्थित बागमती कलेजले पाँच वर्षदेखि शिक्षकको रुपमा कार्यरत दीपेन्द्र प्रसाईंलाई हटाएको हो । जेठ ११ गते प्रसारण भएको शोको पहिलो भागमा प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेका थिए ।
उक्त भागमा कलेज र बोर्डिङ स्कुलको विकृति विसंगतिलाई लिएर व्यंग्य गरिएको थियो । शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर ल्याएको भन्दै आफूलाई निष्कासन गरिएको प्रसाईंले बताए ।
घटनाबारे प्रसाईंले सविस्तार यसरी भनेका छन् :
जेठ १६ गते कलेजमा कक्षा ११ को परीक्षा थियो । परीक्षा भएकाले म कलेज गएँ । त्यहाँ पुग्दा प्रिन्सिपल नारायण सिटौलाले ल राम्रो गर्नुभएछ भन्नुभयो । परीक्षा सुरु भइसकेपछि ब्याडमिन्टन कोर्टमा लगेर तपाईंले जे गर्नुभयो, ठीक गर्नुभएन । कलेजमा भएका चीजहरु नदेखाएको भए राम्रो हुन्थ्यो भन्ने टाइपले कुरा गर्नुभयो ।
मैले त्यो झिल्को त पाइसक्या थिएँ । मलाई असार ३ गते शुक्रबारको दिनमा फोन आयो । म त्यतिबेला रिहर्सलमा थिएँ । मलाई तपाईं आउनुस् भनेर फोन आयो । म भ्याउँदिन, आइतबार आउँछु भनेर बताएँ । आइतबार बिहान ७ बजेतिर गएँ । गइसकेपछि भित्र लगेर तपाईंको फ्युचर लाइफको बारेमा धन्यवाद । यसपालिदेखि कलेजबाट डिसकन्टिन्यु गरिएको छ भन्नुभयो ।
जबकि म पाँच वर्षदेखि त्यहाँको एकाउन्टेन्ट डिपार्टमेन्टमा काम गरेको मान्छे । न मेरो कुनै गल्ती छ, न केही छ । पढाउन पनि त्यत्तिकै राम्रो पढाउँछु । विद्यार्थी र शिक्षकसँग पनि त्यत्तिकै राम्रो छ । न मैले कसैलाई केही गर्या छु । यो भइसकेपछि मलाई नरमाइलो लाग्यो ।
११ गते कलेजको मिटिङ थियो । मलाई बोलाइएन । नबोलाइसकेपछि १२ गते म आफैं गएँ । कुरा के हो त भनेर संयोजक ऋषिराम पन्तले प्रिन्सिपल सरलाई सोध्नुपर्छ भन्नुभयो । जबकि शिक्षक व्यवस्थापन गर्ने काम संयोजक पन्तको हो । प्रिन्सिपल छेउमै पर्नुभएन ।
यो घटना ६ गतेको हो । आज २७ गते । यतिबेलासम्म म चुप लागेर बसें । आफू अन्यायमा परिसकेपछि ब्याक हुने त कुरा भएन । एउटै इस्यु बनाएर हान्ने त कुरा भएन । मैले त समग्र देशको अवस्था प्रस्तुत गरेको हुँ । मुख्य कुरा यमराजले मालिकलाई उठाएर लैजानु गल्ती रहेछ । फि बढी लियो भनेर एपिसोडको लास्टमा मालिकलाई उठाएर लगिएको देखाइएको छ ।
मैले देशका निजी कलेज र स्कुलको समग्र अवस्थालाई देखाएको हो । यसलाई यति ठूलो बिग इस्यु बनाउने कुरा थिएन ।
कलेजका प्रिन्सिपल नारायण सिटौला के भन्छन् ?
अभिनयसँग हाम्रो कन्सर्न छैन । उहाँलाई फुलटाइम राखेका हौं । उहाँले कलेजका ठूला कार्यक्रम हुँदा समय दिन सक्नुभएन । वैशाख अन्तिमदेखि उहाँले कार्यक्रममा जानुपर्छ भनेर बिदा माग्नुभएको थियो ।
उहाँको निरन्तरता नहुने देखिएपछि पार्टटाइम गर्नुस् भनेर भनेका हौं । उहाँले यसलार्ई टीभी शोसँग जोड्नुभयो । निष्कासन पनि गरेको होइन । फुलटाइमबाट पार्टटाइममा आउनुस् मात्र भनेको हो ।
प्रतिक्रिया 4