हिउँचितुवाले दिलाएको दुर्लभ उचाइ
साढे ५ हजार मिटर उचाइको हिमालमा बस्ने हिउँचितुवाको खोजी गर्नु एकप्रकारले मृत्युसँग पौंठेजोरी खेल्नु नै हो । तर त्यही कठिन काममा एक दशकदेखि लागिरहँदा रिन्जिनले विश्व प्रसिद्धि कमाए । उनी ‘रोलेक्स अवार्ड’ विजेता र टाइम म्यागजिनको नेक्स्ट जेनेरेसन लिडर्स भनेर चिनिएका छन् । रिन्जिनका बारेमा टाइम म्यागाजिन, द वासिंगटन पोस्ट, नेशनल जियोग्राफिक, द ग्लोब एन्ड मेल लगायत विश्वप्रसिद्ध सञ्चारमाध्यमहरूले लेखेका छन् ।
यति ठूलो परिचय बनाउन उनको साधना र संघर्ष पनि चानचुने छैन । विश्वमै दुर्लभ हिउँचितुवा लगायत वन्यजन्तुको अनुसन्धान र संरक्षणमा उनी हुम्ला, बाजुरा, सगरमाथा, ताप्लेजुङ, दोलखा, लाङटाङ, मनाङ, मुस्ताङदेखि डोल्पासम्मका हिमाली पाटनहरू पुगेका छन् । कुनाकाप्चा पहिल्याएका छन् । अनपेक्षित मौसम परिवर्तन र चट्टाने बनोटलाई नजिकबाट अनुभव गरेका छन् ।
विशेषगरी कुन बाटोबाट, कसरी, कहाँ गए हिउँचितुवाको गणना गर्न सकिन्छ भन्ने खास अनुभव र ज्ञान उनले बटुलेका छन् । उनी भन्छन्, ‘सायद रोजेकै बाटो भएर होला, रमाइलो हुन्छ, एड्भेन्चर फिल गर्छु ।’
एउटा ‘सरप्राइज अवार्ड’
रिन्जिनलाई एउटा ‘सरप्राइज’ अवार्ड थियो, रोलेक्स । ‘मैले आफ्नो अनुभव र आइडिया बाँडौं भनेर प्रयास गरेको थिएँ, त्यही प्रयास सफल भयो’, उनी भन्छन् ।
कुरा २०७७ चैत पहिलो साताको हो । जतिबेला नेपालमा कोरोना महामारी सुरु भएको थिएन । तर, युरोपबाट फर्किएका रिन्जिन होम क्वारेन्टाइनमा थिए । एकदिन कोठामा बसेर सामाजिक सञ्जाल ‘स्क्रोल’ गरिरहेको बेला स्विट्जरल्याण्डको रोलेक्स अवार्डको आवेदन माग गरिएको सूचना फेला पारे ।
उनले त्यस अवार्डमा नोमिनेसन ‘कन्सेप्ट नोट’ लेखेर पठाए । एक महिनापछि ‘कन्सेप्ट नोट’ स्वीकार भएर प्रपोजल पठाउन अनुरोध आयो । सात वर्षदेखि संरक्षण क्षेत्रमा काम गरिरहेका उनीसँग योजना तयार थियो । संरक्षण क्षेत्र बाहिर समुदायमा आधारित संरक्षण कसरी गर्न सकिन्छ भन्ने प्रस्ताव तयार पारे ।
एक महिना लगाएर तयार प्रस्तावमा हुम्लाका स्थानीयको क्षमता वृद्धि, सहभागिता र स्वामित्व लिएर कुनै निश्चित प्रजातिमा मात्रै नभएर समग्र हिमाली जैविक विविधता तथा पर्यावरणमा कसरी काम गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित गरिएको थियो ।

अवार्ड नोमिनेसन प्रस्ताव पठाएको एक वर्षमा तीन पटक भर्चुअल अन्तर्वार्ता दिए । पछिल्लो अन्तर्वार्तामा २५ जना संरक्षणकर्मीलाई छानिएको जानकारी दिंदै त्यसमध्ये पाँच जनालाई अवार्ड दिने भनिएको थियो ।
सोही वर्ष असारमा माथिल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा उनी फिल्ड वर्कमा हिउँचितुवाको अध्ययनमै थिए । अवार्ड घोषणा हुनु एकदिन अघि उनलाई अवार्डको ‘भर्चुअल एनाउन्समेन्ट’ हुन्छ भन्ने जानकारी सहितको इमेल प्राप्त भयो । तर त्यसको यकिन समय जानकारी दिइएको थिएन ।
त्यसको भोलिपल्ट केही साथीहरूले अवार्ड जितेको समाचार पठाए । ‘सुरुमा त विश्वास लागेको थिएन, किनकि विश्वभरका संरक्षणकर्मीबाट पाँच जनामा छानिनु वास्तवमै सजिलो थिएन, तर यो यथार्थ थियो’, अवार्ड पाउँदाको क्षण उनी सम्झन्छन् ।
रोलेक्स पुरस्कार रोलेक्स कम्पनीले सन् १९७६ बाट दिन थालेको थियो । वातावरण, विज्ञान, स्वास्थ्य प्रविधि, सांस्कृतिक सम्पदा, अन्वेषण, रचनात्मक र सामाजिक महत्वका परियोजना अगाडि बढाउन चाहने वैज्ञानिकलाई यो पुरस्कार दिइन्छ ।
द्वन्द्वले गाउँ छोडे, घुमफिरले दियो अवसर
सिमकोट गाउँपालिका–३, बरगाउँ हुम्लामा जन्मिएका रिन्जिन शिक्षित परिवारमा हुर्किए । १२ साउन २०४८ मा जन्मिएका उनले कक्षा ६ सम्म गाउँकै श्री रलिङ्ग विद्यालयमा पढे । ‘पछि गाउँमा माओवादी द्वन्द्व चर्किंदै गयो । यो २०५८ सालतिरको कुरा हो’ रिन्जिनले भने, ‘पछि गाउँमा पढ्ने वातावरण नभएपछि काठमाडौं गएँ ।’
एक कक्षा घटेर काठमाडौंको माउन्ट समिट स्कुल भर्ना भए । कक्षा–९ पुगेपछि भने लाजिम्पाटस्थित ग्लेन बुुड्स सेकेन्डरी स्कुुलमा भर्ना भए । त्यहींबाट एसएलसी गरे । यो बीचमा उनी तीन˗चार पटक मात्रै हुम्ला पुगे । ‘हुम्लामा अझै सडक पुगेको छैन । त्यतिबेला गाडी पुग्ने कुरै भएन । ‘प्लेनमा टिकट नै पाउँथेन । खासै घर गइएन’, उनी भन्छन् ।
२०६४ भदौतिर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखरामा आईएस्सी फरेष्ट्रीमा भर्ना भए । ब्याच टपर उनले २०६६ मा आईएस्सी फरेष्ट्री सके । ‘७८ प्रतिशत नम्बर ल्याएर ब्याच टपर भएको थिएँ’, उनले भने । वन विज्ञान अध्ययन संस्थान पोखरामै २०६६ मा बीएस्सी फरेष्ट्रीमा नाम निकालेका उनले २०७९ मा उत्तीर्ण गरे । यसका लागि उनले विश्व वन्यजन्तु कोष नेपालबाट छात्रवृत्ति पाएका थिए ।

उच्च हिमाली भेगको पर्यावरण (ट्रान्स हिमालयन) मा काम गर्ने उनी आफूलाई हिउँचितुवा बायोलोजिस्ट भनेर चिनाउँछन् । वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो रिन्जिनले जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरे । थर्ड पोल कन्जर्भेन्सी नामक संस्थामा संरक्षण कार्यक्रम प्रमुख रहेका उनी हाल हुम्लामा सञ्चालित उकाली नामक कार्यक्रममा सक्रिय छन् ।
हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा १० वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्ड लाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पनि पाएका थिए ।
२०६४ सालमा एसएलसी दिएर हुम्ला फर्किएका रिन्जिन पहिलो पटक जिल्लाको उपल्लो भेग घुम्न निक्लिए । झण्डै २१ दिने त्यो यात्रामा उनले हिउँचितुवा, नाउर, जङ्गली गधा लगायत जनावर पहिलो पटक देखे । त्यो घुमफिरले रिन्जिनलाई धेरै कुरा सिकायो । भूमिको विशेषता थाहा पाए, थरीथरीका वन्यजन्तु चिने र हिमाली जनजीवनलाई नजिकबाट बुझे ।
सुन्दर पाटन, लिमी उपत्यका र हिमालको दृश्यले मोहित भए । ‘बाल्यकाल गाउँमै बित्यो । तर त्यो भ्रमण भन्दा पहिला कहिल्यै यस्ता खालका वन्यजन्तु र मनमोहक दृश्य देख्न पाएको थिएन’ उनले भने । रेन्जरहरू गाउँ आउँदा उनकै घरमा बस्थे । रेन्जरको खुब सम्मान हुन्थ्यो । बाल्यकालमा रेन्जरले पाएको सम्मानले उनी प्रभावित बने ।
यसले पनि उनलाई पोखरामा आईएस्सी फरेष्ट्री अध्ययन गर्न प्रेरित गरेको थियो । बीएस्सी तेस्रो वर्ष पढ्दै गर्दा रिन्जिनलाई वन भन्दा वन्यजन्तुप्रति चासो बढ्न थाल्यो । हुम्लामा उत्पादनमूलक वन नभएकाले उच्च हिमाली क्षेत्रमा कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर उनले थप रिसर्च गरे र सम्भावना बुझे ।
‘त्यतिबेलासम्म हुम्लामा वन्यजन्तुबारे अध्ययन गरेका व्यक्ति थिएनन् । पछि हिउँचितुवाको क्षेत्रलाई नै आफ्नो विज्ञता हासिल गर्ने निधो गरें’ रिन्जिन भन्छन्, ‘खासमा म वनको बारेमा पढ्न गएको हुँ । तर वन्यजन्तुमा रुचि लाग्यो, अनि त्यतै लागें ।’
हिमाली र भोटका समथर पठार नै हिउँचितुवाको घर हो । विश्वका अति विकट भूमिमा विचरण गर्ने र मानिसले विरलै देख्ने हिउँचितुवा पछिल्लो समय संरक्षणमा चुनौती रहेको रिन्जिन बताउँछन् ।
यसरी उनले उच्च हिमाली क्षेत्रको पर्यावरणमा काम गर्न उपयुक्त ठाने । अनि वन छोडेर वन्यजन्तु रोजे । बीएस्सीको फाइनल प्रोजेक्टमा पनि लिरे मुसा (पुच्छर नभएको मुसा, जो उच्च हिमाली भेगमा पाइन्छ) बारे अध्ययन गरे । भौगोलिक, आर्थिक र स्रोत–साधनका कारण हिउँचितुवाको अनुसन्धान गाह्रो थियो । त्यसैले लिरे मुसाको अध्ययन गरेको उनी बताउँछन् ।
बीएस्सी सकेपछि उनले सन् २०१४ बाट ग्लोबल प्राइभेट नेटवर्क नेपाल नामक संस्थाबाट मनाङमा काम सुरु गरे । सन् २०१४ देखि उनी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिउँचितुवाको अनुसन्धान र संरक्षणमा सक्रिय छन् ।
सन् २०१४ मै उनको समूहका साथी टासी आर घलेले ‘पालस क्याट’ भन्ने नयाँ प्रजातिको बिरालो पत्ता लगाए । त्यो बिरालोको पहिलो अध्ययन गरेका रिन्जिन त्यसैको माध्यमबाट हिउँचितुवाको काम सुरु गरेको बताउँछन् ।
मनाङमा काम सुरु गरेपछि उनले हिउँचितुवाको संख्या, आहार, मानव र वन्यजन्तु द्वन्द्वको विषयमा धेरै अनुसन्धान गरे । उनको मास्टर्सको शोधपत्र नै वन्यजन्तु र मानव बीचको द्वन्द्व हो । उनका अनुसार उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको वासस्थान तथा आहारा कम हुँदा वन्यजन्तुहरू बस्ती छिर्न थालेका छन् ।
२०१४ मै उनको हिउँचितुवाको विषयमा विश्व विख्यात वैज्ञानिक रोड्नी ज्याक्सनसँग सम्पर्क भयो । उनको गाइडलाइन्समा रिन्जिनले धेरै काम गरे । ‘त्यसपछि नेपालमा वाइल्ड लाइफमा काम गर्ने राम्रो समूहसँग मेरो भेट भयो । त्यो समूहमा जोडिएपछि हामीले धेरै राम्रो कामहरू गर्यौं’ उनी भन्छन् ।
हुम्लामा हिउँचितुवा छ भनेर मानिसले भनेका थिए, तर वैज्ञानिक अध्ययन नगरी पुष्टि हुँदैनथ्यो । सन् २०१५ मा हुम्लामा हिउँचितुवाको वासस्थान, आहारा र पर्यावरण लगायत अन्य अवस्था कस्तो छ भनेर पहिलो पटक अध्ययन गरे । यस सम्बन्धी वैज्ञानिक तथ्य सहितको निष्कर्ष लामाले ‘जर्नल अफ थ्रेटन टेक्सा’ नामक जर्नलमा प्रकाशित गरेका थिए ।
पुरस्कारको पैसाले संरक्षण
४ अक्टोबर २०२२ को कुरा हो । रिन्जिन सहित ६ जनाको समूह हिउँचितुवा सर्भेका लागि उपल्लो हुम्ला जाँदै थिए । साथमा पाल, आवश्यक खाद्यान्न, न्यानो कपडा सहित घोडा, खच्चडमा सामान लिएर एक महिनाका लागि टिम हिंडेको थियो ।
यात्राको चौथो दिन, ४२ सय मिटर उचाइको छोङ्सा भन्ने ठाउँमा पाल हालेर बास बसे । उनीहरू जानुपर्ने छोङ्साबाट ५ हजार मिटरको लेक पार गरेर लिमी उपत्यका थियो । तर छोङ्सामा त्यो रातभर हिउँ पर्यो ।
‘रातभरि जाग्राम बसेर पालको हिउँ पन्छायौं । बिहान पनि हिउँ पर्ने क्रम रोकिएन । पाल पुरिन थाल्यो । घोडाहरू चिसोले कराउन थाले’ रिन्जिनले त्यो यात्रा सम्झिंदै भने, ‘पछि धौ–धौ त्यहाँबाट निकै कष्टपूर्ण तरिकाले सल्ली भन्ने ठाउँमा झर्यौं । त्यो धेरै विकट भूूभाग हो । बत्ती, फोन, इन्टरनेट त परको कुरा मानव बस्ती समेत थिएन । पानीकै कारण उनीहरू तीन रात सल्लीमै बसे । त्यहाँबाट सदरमुकाम सिमकोट जान दुई दिन लाग्थ्यो ।’
हिउँचितुवा र हिमाली पर्यावरणको संरक्षणमा जुट्न सजिलो नरहेको बुझाउने यो एउटा उदाहरण यात्रा थियो । यात्रामै खाना सकिएर भोकै सुत्नुपर्ने, पहिरोले बाटो बन्द हुने, हिउँ र पानीले गन्तव्यमा नपुग्दै फर्किनुपर्ने, आफ्नै टिम हराउँदा खोज्नुपर्ने सास्ती सामान्य भएको उनी बताउँछन् ।

हिमाली र भोटका समथर पठार नै हिउँचितुवाको घर हो । विश्वका अति विकट भूमिमा विचरण गर्ने र मानिसले विरलै देख्ने हिउँचितुवा पछिल्लो समय संरक्षणमा चुनौती रहेको रिन्जिन बताउँछन् । संरक्षण क्षेत्रमा सन् १९९० देखि नै काम भइरहेकाले संरक्षण क्षेत्र नभएको ठाउँमा काम गर्न आफू केन्द्रित रहेको उनी बताउँछन् । संरक्षण क्षेत्र बाहिर काम गर्न विकटता सबैभन्दा ठूलो चुनौती हो ।
तीन–चार महिना लामो समय ‘क्यामेरा ट्रयापिङ’ (क्यामेरा थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्वीर खिच्ने विधि) विधि अपनाएर बस्दा एक पटक पनि हिउँचितुवा नभेटेको उदाहरण दर्जनौं छन् । ‘अग्लो ठाउँमा काम गर्दा दुःखको कल्पना गर्न पनि गाह्रो छ । त्यसैले धेरै मानिस यो क्षेत्रमा आकर्षित भएर आए पनि लामो यात्रा गर्न सक्दैनन्’, उनी भन्छन् ।
नेपालमा हिउँचितुवाको संख्या ३–४ सय हाराहारी भएको अनुमान गरिएको छ । ‘यसको यकिन तथ्याङ्क सरकारसँग पनि छैन’ उनले भने, ‘सरकारले अहिले बल्ल गणना गर्ने योजना ल्याएको छ ।’ हिउँचितुवालाई हिमाली क्षेत्रको राम्रो पर्यावरणको सूचक मानिन्छ, जसले हिमाली जैविक विविधता संरक्षण र प्रवर्धनमा सहयोग पुर्याउँछ । विश्वमै दुर्लभ यो जनावर दक्षिण र मध्यएशियाका १२ देशमा मात्र पाइन्छ । त्यसमध्ये नेपाल एक देश हो ।
रिन्जिनले रोलेक्स अवार्डबाट दुई लाख स्वीस फ्रयांक (नेपाली २ करोड ५५ लाख) पाएका थिए । उक्त अवार्डबाट पाएको रकम उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसिएटिभ फर बायोभर्सिटी कन्जर्भेसन इन नेपाल्स ट्रान्स हिमालय’ नामको परियोजना सञ्चालन गरिरहेका छन् ।
‘समुदायमा आधारित, समुदायको नेतृत्वमा संरक्षणलाई कसरी संस्थागत गर्न सकिन्छ भनेर काम गरिरहेका छौं । हिउँचितुवालाई अलि बढी प्राथमिकता दिएका छौं’ उनले भने, ‘परियोजना मार्फत हिउँचितुवाको संख्या, आहारको अवस्था, संरक्षणको चुनौतीबारे अध्ययन भइरहेको छ ।’
यज्ञ खत्री
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी