जसले ह्विलचियरमा संघर्ष गरेर ३०० बढीलाई आफ्नो खुट्टामा हिंड्न सक्ने बनाए
News Summary
Generated by OK AI. Editorially reviewed.- २०६२/६३ को आन्दोलनका क्रममा दुर्घटनामा परी अपाङ्गता भएका धिरजकुमार अग्रवालले आफ्नो अठोट र मिहिनेतले अहिले सफल उद्योगीका रूपमा स्थापित भएका छन्।
- कक्षा १० सम्मको औपचारिक शिक्षा लिएका अग्रवालले 'टेन ग्रुप' स्थापना गरी हाल करिब तीन सयभन्दा बढी मानिसलाई रोजगारी प्रदान गरिरहेका छन्।
- अग्रवालले आफ्नो कम्पनीको वार्षिक कारोबार चार अर्ब रुपैयाँसम्म पुर्याउँदै नेपालमा लगानी विविधीकरण र उद्योग विस्तारमा विशेष योगदान पुर्याइरहेका छन्।
एक चञ्चल बालक, केही उमेरको कारण, केही स्वभावका कारण। तर, कक्षा ६ मा पढ्दापढ्दै एउटा भयानक दुर्घटनाले जिन्दगीमा ठूलो बज्रपात ल्यायो।
देशमा गणतन्त्र ल्याउन २०६२/६३ को आन्दोलन चलिरहेको थियो। परासीका धिरजकुमार अग्रवाल आन्दोलन हेर्न घरको छतमा पुगेका थिए। आन्दोलनकारी भगाउन प्रहरीले प्रहार गरेको अश्रुग्यास उनको घरको छतमै खस्यो। भागाभाग भयो। भाग्ने क्रममा धिरज छतबाट खसे र गम्भीर घाइते भए।
टाउको, मेरुदण्ड र खुट्टामा गम्भीर चोट लागेका उनी मृत्युको मुखमै पुगेका थिए। डाक्टरले भनेका थिए, ‘यो बच्चालाई केही गरी बचाउन सकियो भने पनि खुट्टा चल्दैन।’
चिकित्सकहरूको अथक् प्रयासबाट उनले पुनर्जीवन पाए। तर लामो उपचार र थेरापीपछि उनी ह्विलचियरको सहारामा जिउन सक्ने भए। हो, उनी अहिले पनि ह्विलचियरमै हिंड्छन्, तर उनको लगन र समर्पणले खडा भएको उद्योग व्यवसायले करिब ३०० श्रमजीवीलाई आफ्नो खुट्टामा हिंड्न सक्ने बनाएको छ।
१० कक्षामै रोकियो औपचारिक शिक्षा
दुर्घटनापछि धिरजले कक्षा ७ को परीक्षा स्कूल नगई घरमै बसेर दिए। कक्षा ८ देखि १० सम्म ह्विलचियरको सहायतामा विद्यालय धाएरै अध्ययन गरे।
तर, कक्षा १० नै औपचारिक शिक्षाको अन्तिम खुड्किलो बन्यो। ‘उच्च शिक्षाका लागि परासी छाडौं भने मेरो हेरचाह गर्न थप एक जना सँगै जानुपर्ने भयो। परिवार धर्मसंकटमा पर्यो’, उनी सम्झन्छन्।
परिवारमा अपाङ्गता भएका सदस्य धिरज मात्र थिएनन्। बुबा पनि यस्तै शारीरिक समस्यासँग जुधिरहेका थिए। धिरज उच्च शिक्षा पढ्न बाहिर गएको भए आमा सँगै जानुपर्थ्यो, जसले गर्दा घरमा बुबा एक्लै हुन्थे। बुबाको डन्डी र सिमेन्टको खुद्रा पसलले परिवारको खर्च चलिरहेको थियो। बुबाले कमाएको सबै पैसा धिरजको उपचारमै सकिएको थियो।

पढाइमा अब्बल धिरज जिन्दगीसँग आत्मसमर्पण गर्ने कि बाटो मोडेर भए पनि अघि बढ्ने भन्ने दोसाँधमा थिए। उनले बाटो मोड्ने निर्णय गरे र पढाइ छाडे। तर, अनौपचारिक र स्वअध्ययनलाई निरन्तरता दिंदै उनले एउटा व्यावसायिक कम्पनी स्थापना गरे, टेन ग्रुप।
कम्पनी स्थापना गर्दा र नाम राख्दा उनले साइत हेराएनन्। बरु आफ्नै विवेक प्रयोग गरे। ‘टेन’ शब्द उनले आफ्नो औपचारिक शिक्षाको सबैभन्दा माथिल्लो बिन्दु, अर्थात् ‘कक्षा १०’ बाट सापटी लिएका हुन्। यो नामले उनलाई आफ्नो लगनमा अझ प्रतिबद्ध बनायो।
पसलबाट शुरु भएको औद्योगिक यात्रा
बुबा पसल गएको देखेर हुर्किएका धिरजलाई सानैदेखि व्यापारको रहर थियो। बुबालाई शारीरिक समस्या भएका कारण उनी ५–६ वर्षको उमेरदेखि नै पसलमा सघाउँथे।
बिहान ६ बजेदेखि ९ बजेसम्म पसल सम्हालेर स्कूल जान्थे र बेलुका ४ बजे आएर पुनः पसलमै खट्थे। दुर्घटनापछि जब उनले पढाइ छाडे, बुबाको त्यही खुद्रा पसललाई होलसेलमा परिणत गरिदिए।
जीवनी पढेर वा पढाएर मानिसलाई उद्यमी बनाउन सकिंदैन, यो व्यक्तिको अन्तर्मनको अठोटले जन्माउन सक्ने विषय हो- धिरजकुमार अग्रवाल
खुद्रालाई होलसेल बनाउँदा शुरुमा बुबाको असहमति थियो। बुबाको तर्क थियो, ‘खुद्रा पसलमा ग्राहक आफैं आउँछन्, होलसेलका लागि त ग्राहक खोज्दै पसल-पसल पुग्नुपर्छ। यो काम तँ गर्न सक्दैनस्।’
तर धिरजले आफ्नो अवस्थालाई कमजोरी होइन, सफलताको सिंढी मान्नुपर्छ भन्ने अठोट बोके। उनी गाडी भाडामा लिएर जिल्लाभरि डुल्न थाले। दुई जना सहयोगी साथमा राखेर मार्केटिङमा जान्थे।
पसल–पसलमा जाँदा साहुजीहरूलाई गाडीभित्रै बोलाएर डिल गर्थे। निरन्तरको मिहिनेतले उनको होलसेल पसलले बजारमा पकड मात्र बनाएन, जिल्लामा सबैभन्दा धेरै कर तिरेर सम्मानित समेत भयो।

यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। ६ वर्षपछि राइस मिल खोले। सन् २०१८ मा स्टिल उद्योग स्थापना गरे। सन् २०२० मा अर्को चामल मिल खोले भने २०२१ मा ‘टेन प्लास्ट’ नाममा प्लाष्टिकका वस्तु (पाइप) उत्पादन गरी प्लम्बिङ उद्योगमा हात हाले।
आज उनको कम्पनी ‘टेन ग्रुप’को वार्षिक कारोबार ४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ र उनी ३०० भन्दा बढीलाई रोजगारी दिइरहेका छन्। ‘टेन स्टिल’ र ‘टेन प्लास्ट’का उत्पादन नेपालभित्र खपत भइरहेका छन् भने अब निर्यातको तयारी छ।
उनका काकाहरूले पनि शारीरिक समस्याका बाबजुद खुशीसाथ व्यवसाय अघि बढाइरहेका थिए। ठूलो बुबाको औषधि पसल छ भने माइलो बुबाको कपडा पसल।
त्यही परिवारको चनाखो र आशलाग्दो सदस्य दुर्घटनामा परेपछि सबै आकांक्षा धरापमा परेका थिए।
‘मेरो दुर्घटनापछि परिवार एक प्रकारले पूरै टुटेको अवस्था थियो, पूरै होपलेस’ उनी सम्झन्छन्, ‘मैले बुबाको मुख हेर्थें, आमाको मुख हेर्थें। सबै जना निरीह थिए। त्यसपछि मलाई हार मान्ने छुट थिएन। मैले हरेस खाएँ भने यो परिवार नै रहन्न भन्ने मलाई लाग्थ्यो।’ आफूसँग जे छ, त्यसैलाई अझ सुन्दर बनाउने अठोट लिएर उनी अघि बढे।
लगानी विविधीकरण र नेपालको सम्भावना
बुबाको स्वर्गारोहण भइसकेको छ। भाइ इन्जिनियर बनिसकेका छन् भने काकाका सन्तान डाक्टर छन्। धिरज पूर्ण रूपमा पारिवारिक बिजनेसमा छन्।
अहिले उनी आफ्नो लगानीलाई विविधीकरण गर्ने योजनामा छन्। ‘कस्तूरी’ नामक चलचित्रमा लगानी गरेका उनले हब होटल, रियल स्टेट र खानी उद्योगमा समेत लगानी विस्तार गर्दैछन्।
उनको विचारमा जीवनी पढेर वा पढाएर मानिसलाई उद्यमी बनाउन सकिंदैन, यो व्यक्तिको अन्तर्मनको अठोटले जन्माउन सक्ने विषय हो।

जोखिम मोल्न तयार हुने हो भने नेपालमा जति सम्भावना अन्य देशमा छैन भन्छन् उनी। ‘हामी अझै अतिकम विकसित देश हौं, त्यसैले पनि यहाँ त जे छोयो, त्यसमै सम्भावना छ’, उनी भन्छन्।
तर, समाजको आत्मविश्वास घटेकोमा उनी चिन्तित छन्। ‘युवालाई स्वदेशमै रोक्न सरकारले वातावरण बनाउनुपर्छ। अहिले त उद्योगीको पनि मनोबल घटेको छ’ उनी भन्छन्, ‘प्रधानमन्त्री सहित सबै मन्त्रीहरू आत्मविश्वासी हुनुहुन्छ। तर त्यो आत्मविश्वास उहाँहरूले देशलाई दिलाउनुपर्छ।’
बाल्यकालमा भएको अकल्पनीय दुर्घटनाले उनको मूल बाटो मोडियो, तर उनी गुनासो गर्न रुचाउँदैनन्। ‘तपाईंको जीवन समस्याले भरिएको छ भने भगवानलाई धन्यवाद भन्नुस्, त्यसले तपाईंलाई अर्को अवसरमा लैजाने ढोका खोल्छ। मेरो त्यो दुर्घटना पनि शायद त्यसैका लागि भएको थियो’, उनी सन्तोष मान्छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी