+

कुपोषण उनका लागि हरेक दिनको लडाइँ

नेपालमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिका पुड्को, १९ प्रतिशत कम तौलका र ८ प्रतिशत बालबालिका ख्याउटे छन् भन्ने तथ्याङ्कले जति आहत बनाउँछ, दीपा जस्ता स्वास्थ्यकर्मीहरूको न्यानो स्नेहले उत्तिकै राहत दिन्छ। कुपोषित बालबालिकालाई नुहाइदिने, आमाहरूलाई पोषण परामर्श दिने र खल्तीबाट पैसा निकालेर टिकट काटिदिनेदेखि औषधि किनिदिनेसम्म। उनको समर्पणले 'नर्स' पेशालाई नै उदाहरणीय बनाएको छ ।
पूरा सूची
Shares
दीपा खड्का
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०२२ का अनुसार नेपालमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेको छ।
  • लुम्बिनी प्रादेशिक अस्पतालकी अनमी दीपा खड्काले विगत १० वर्षदेखि कुपोषित बालबालिकाको उपचार र हेरचाहमा उदाहरणीय योगदान पुर्‍याउँदै आएकी छन्।
  • नयाँ पोषणयुक्त खाद्यपदार्थको प्रयोगका कारण अस्पतालमा कुपोषणको उपचार अवधि एक महिनाबाट घटेर १५ दिनमा सीमित भएको छ।

हुन त कुपोषण नेपालको राष्ट्रिय मुद्दा बनेको छैन। तर, नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे (एनडीएचएस) २०२२ का अनुसार, नेपालमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन , १९ प्रतिशतमा उचाइ अनुसार कम तौल र ८ प्रतिशतमा ख्याउटेपन।

यस्तो गम्भीर राष्ट्रिय समस्यासँग जुध्न सरकारसँग विशेष योजना छैन, तर कतै कुनै अस्पतालमा चुपचाप खटिरहेका स्वास्थ्यकर्मीहरूले भने यो समस्यालाई गम्भीरतापूर्वक लिएका छन्। उनीहरूको न्यानो स्याहारले धेरै बालबालिकाको मुहार उज्यालो भएको छ।

कुनै अस्पतालको पोषण पुनर्स्थापना शाखामा  कुन पृष्ठभूमिका बालबालिका आउँछन् ? नि:सन्देह, विपन्न र गरिब परिवारका। तिनै बालबालिकाको रेखदेख र आमाहरूलाई परामर्श दिने जिम्मेवारी विगत १० वर्षदेखि सम्हालिरहेकी छन्- अनमी दीपा खड्का (३०)।

नेपालमा कुपोषणको समस्या घटाउन अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीमध्ये दीपा एक हुन्। उनी अस्पताल आउने बालबालिकाको उपचार मात्र गर्दिनन्, आमाहरूलाई पोषण, सरसफाइ र बाल स्याहार लगायत विषयमा नियमित परामर्श पनि दिन्छिन्।

दीपाको दैनिकीड्युटीपूरा गर्नुमा मात्र सीमित छैन। अस्पतालमा भर्ना भएका कतिपय बालबालिकालाई कहिलेकाहीँ राति जटिल स्वास्थ्य समस्या आउँछ र एनआईसीयूमा राखेर उपचार गर्नुपर्छ तर, विगतमा प्रादेशिक अस्पतालमा एनआईसीयू सेवा थिएन। समयमै उपचार नपाए बच्चाको ज्यान जोखिममा पर्न सक्थ्यो। अर्कोतिर रातको समयमा भनेको बेला एम्बुलेन्स नपाइने समस्या उस्तै हुन्थ्यो।

यस्तो बेला उनी आफ्नै स्कुटरमा बिरामी बच्चा बोकेर सिद्धार्थ बाल तथा महिला अस्पताल पुर्‍याउँथिन् र ज्यान बचाउँथिन्।

अनमीको आधारभूत ड्युटी नै बिरामीको सेवा हो, गर्नैपर्छ। तर म बालबच्चालाई स्वास्थ्य समस्या आइपर्दा आफ्नो अस्पतालमा सुविधा छैन भनेर चुप बस्न सक्दिनँ,दीपा भन्छिन्, ‘त्यही भएर रातिको समयमा पनि आफ्नै स्कुटरमा बिरामी बच्चा बोकेर अरू अस्पताल लगेर उपचार गराएकी छु। नत्र मेरो मनले मान्दैन।

म्यानेजमेन्ट छाडेर नर्सिङतर्फ

दीपाको शैक्षिक पृष्ठभूमि सुरुआतमा स्वास्थ्य क्षेत्रको थिएन। एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उनले प्लस-टु मा व्यवस्थापन सङ्काय पढेकी थिइन्। तर, साना बालबालिकाप्रति हुरुक्कै हुने स्वभावका कारण उनले आफ्नो बाटो मोडिन् र व्यवस्थापन छाडेर १८ महिने अनमी कोर्स पढ्न थालिन्।

उनीहरूलाई खुवाउने, नुहाइदिने र दिसापिसाब गराउने सबै काम नगरी हुँदैन, तर त्यसमा मलाई झन्झट लाग्दैन- दीपा खड्का

२०७२ सालमा अध्ययन पूरा गरेपछि बुटवलकै एक निजी अस्पतालबाट काम शुरु गरेकी उनले लोक सेवा आयोगको पहिलो प्रयासमै नाम निकालिन्। उनले लुम्बिनी प्रादेशिक अस्पतालमा काम गर्ने गरी नियुक्ति पाइन्। १३ चैत २०७३ देखि उनी प्रादेशिक अस्पतालको पोषण पुनर्स्थापना शाखामा निरन्तर कार्यरत छिन्।

१५ दिनमै सुधार हुने कुपोषण

पोषण शाखामा ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको उपचार गरिन्छ। दीपाका अनुसार, पछिल्लो समय शहरी क्षेत्रमा जन्मिने बालबालिकामा पनि कुपोषणको समस्या बढ्दो छ। खासगरी परिवारको जीवनशैली, आमा र बच्चाको खानपान स्वस्थ नहुँदा उच्च आय भएको परिवारका बालबालिकालाई पनि कुपोषणले प्रभावित गर्दछ ।

कुपोषणलाई बेवास्ता गर्दा यसको असर जीवनभर पर्ने उनी बताउँछिन्।अध्ययनहरूका अनुसार बालबालिका जन्मिएको दुई वर्षभित्रै दिमागको ८० प्रतिशतभन्दा बढी विकास भइसक्छ। यो उमेरमा कुपोषित भए दिमागको विकास हुन सक्दैनउनी चेतावनी दिन्छिन्, ‘कुपोषित बालबालिका अन्य पोषित बालबालिकाभन्दा १० प्रतिशत बढी मृत्युको जोखिममा हुन्छन्। त्यसैले कुपोषणलाई बेवास्ता गर्नुहुन्न, समयमै अस्पताल ल्याउनुपर्छ।

सरकारले तोकेका अस्पतालमा नियमित उपचार गराए कुपोषणको समस्या चाँडै समाधान हुन्छ।विगतमा एक महिनासम्म गर्नुपर्ने उपचार अहिले नयाँ पोषिलो खाद्यपदार्थको प्रयोगले १५ दिनमै पूरा हुन्छदीपा भन्छिन्, ‘१५ दिनमै बच्चाको तौल एकदेखि डेढ केजीसम्म बढ्छ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्रीरोग विशेषज्ञ डा. विष्णु गौतम दीपाको समर्पण सबैका लागि अनुकरणीय रहेको बताउँछन्।नेपालमा कुपोषणको समस्या घटाउन दीपा जस्ता आफ्नो कामप्रति पूर्ण इमानदार नर्सहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ‘, डा. गौतम भन्छन्।

डा. गौतमका अनुसार कुपोषित बालबालिकाको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा १० शय्या छन्। यसैगरी लुम्बिनी प्रदेशकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) मा १० र भेरी अस्पताल (नेपालगन्ज) मा १७ शय्या छन्।

कुपोषित बालबालिकाको उपचार गर्दा आमा र बच्चा दुवैलाई १५ दिनसम्म अस्पतालमै भर्ना गरेर बस्ने, खाने र उपचार गर्ने व्यवस्था मिलाइन्छ। गरिब तथा विपन्न वर्गले वडा कार्यालयको सिफारिस ल्याएमा उपचार खर्चमा ५० प्रतिशत छुट हुने व्यवस्था पनि छ।

कुपोषित बालबालिकाकीआमा

पोषण शाखामा भर्ना भएका बालबालिकालाई चौबीसै घण्टा विशेष निगरानी चाहिन्छ। उनीहरूलाई हरेक ३–३ घण्टाको फरकमा खाना खुवाउनुपर्छ।

खाना बनाउन त छुट्टै कर्मचारी हुन्छन्, तर कतिपय बच्चाका आमा अशक्त हुन्छन् वा साथमा हुँदैनन्दीपा भन्छिन्, ‘उनीहरूलाई खुवाउने, नुहाइदिने र दिसापिसाब गराउने सबै काम नगरी हुँदैन, तर त्यसमा मलाई झन्झट लाग्दैन।

बिरामीको फोहोर सफा गर्न उनलाई कहिल्यै घिन लागेन। १० वर्षको अवधिमा उनले सयौं कुपोषित बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर स्याहारसुसार गरिन्।बच्चा भनेपछि म हुरुक्कै हुन्छु। उनीहरूको एकदमै माया लाग्छ, त्यसैले अरूका सन्तानलाई आफ्नै सम्झेर उपचार गरेकी छु‘, उनी भन्छिन्।

कतिपय परिवार यस्ता हुन्छन् जोसँग टिकट काट्ने र औषधि किन्ने पैसा समेत हुँदैन। विपन्न परिवारका लागि उनी आफ्नै खल्तीबाट खर्च समेत गर्छिन्।नर्स होऊन् वा डाक्टर, सबैले जस्तासुकै बिरामीसँग प्रेमपूर्ण र सम्मानजनक व्यवहार गर्न सक्नुपर्छ। औषधिले मात्र सञ्चो हुने होइनहौसला पनि मिल्यो भने बिरामीलाई सहज हुन्छउनी भन्छिन्, ‘मैले पनि आफ्नो जागिरलाई ड्युटी पूरा गर्ने र तलब पकाउने हिसाबले कहिल्यै लिइनँ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।