+

माछा दानामा भारतीय दबदबा तोडिरहेका उद्यमी

कोभिड महामारी बीच जन्मिएको एउटा व्यावसायिक सोच अहिले माछाको दानामा भारतीय उत्पादनको वर्चस्वलाई चुनौती दिने उद्योग बनेको छ। आधुनिक प्रविधि सहित चितवनमा स्थापित यो उद्योगले किसानको लागत घटाइदिएको मात्र छैन, स्थापनको तीन वर्षमै बजारको ३३ प्रतिशत हिस्सा ओगट्दै नेपाललाई माछा दानामा आत्मनिर्भर बनाउने सम्भावना पनि देखाएको छ।
पूरा सूची
Shares
यश पुरी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा ५७ करोडको लागतमा सञ्चालित अन्नपूर्ण माछा दाना उद्योगले ‘मत्स्य राजा’ ब्रान्डमा दाना उत्पादन गरी बजारको ३३ प्रतिशत हिस्सा ओगटेको छ।
  • अन्नपूर्णले स्वदेशी दाना प्रयोगले किसानको माछा उत्पादन लागत प्रतिकिलो २२० रुपैयाँबाट १३० रुपैयाँमा झरेको र समय बचत भएको दाबी गरेको छ।
  • कच्चा पदार्थ आयातमा उच्च करको मार खेपिरहेको उद्योगले निकट भविष्यमा १० लाखभन्दा बढी कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ।

दुनियाँ कोभिड महामारीमा थियो। मानिसहरू घरभित्रै सीमित थिए, अर्थतन्त्र ठप्प थियो। मानिसहरू बीच भेटघाट पनि दुर्लभ थियो। त्यही उकुसमुकुसबीच भर्चुअल संवाद गरेर भावना र अनुभव साट्दै मानिसहरू दिन कटाइरहेका थिए।

तर मेकानिकल इन्जिनियर यश पुरी र उनका केही साथीहरू पनि भर्चुअल माध्यममा भेट्न थाले; उनीहरूले आफ्ना अनुभव मात्र साटेनन्, व्यावसायिक आइडियाहरूमाथि मन्थन गर्न थाले।

नेपालका कर्पोरेट हाउस सूर्य नेपाल र सिप्रदीमा झन्डै १२ वर्षको काम अनुभव बटुलेका पुरी र उनका साथीहरू नेपालमै केही उत्पादनशील उद्यम गर्ने विभिन्न अवधारणामा छलफल गर्दै थिए। ४-५ वटा अवधारणामाथि छलफल गरेपछि यो समूह एउटा निष्कर्षमा पुग्यो- माछा दाना उत्पादन गर्न चितवनमा उद्योग खोल्ने।

शुरुमा कोल्ड स्टोरेज खोल्ने कि भन्ने सोच पनि नआएको होइनपुरी भन्छन्, ‘तर माछाको उत्पादन र उपभोगमा रहेको ठूलो खाडल देखेपछि दाना उत्पादनमै हात हाल्ने सहमति भयो। किनकि देशभरका व्यावसायिक माछा फार्महरूमा भारतीय दानाको वर्चस्व थियो।’

९ लगानीकर्ता र ५७ करोडको उद्योग

२०७८ सालमा चितवनको खैरहनी नगरपालिका-३ मा ‘अन्नपूर्ण माछा दाना उद्योग’ को प्रक्रिया शुरु भयो। शुरुमा पुरी सहित उमेश थापा, चार्टर्ड एकाउन्टेन्टद्वय केशवकान्त पौडेल र प्रकाश काफ्ले तथा मेकानिकल इन्जिनियर मनोज जिसी गरी ५ जनाको अवधारणामा यो उद्योग अघि बढेको थियो।

पछि यसमा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अनिलकृष्ण श्रेष्ठ, निरञ्जन थापा, ३० वर्षदेखि माछा पाल्दै आएका चितवन कुमरोजका रमेश पाण्डे र रवि केसी गरी थप चार जना लगानीकर्ता जोडिए।

करिब ५७ करोड रुपैयाँको लगानीमा स्थापित यो उद्योग ४ बिघा क्षेत्रफलमा फैलिएको छ। जसमध्ये २ बिघामा उद्योग र बाँकी २ बिघामा गोदाम निर्माण गरिएको छ। प्रतिघण्टा ५ टन दाना उत्पादन गर्न सक्ने पूर्ण स्वचालित युरोपियन मेसिन अस्ट्रियाबाट ल्याइएको छ, जसलाई केवल दुई जना अपरेटरले सञ्चालन गर्न सक्छन्।

२०८० वैशाखदेखि व्यावसायिक रूपमा उत्पादन थालेको अन्नपूर्णले ‘मत्स्य राजा’ ब्रान्डमा दाना बजारमा ल्याएको छ। सञ्चालकहरूको दाबी अनुसार, छोटो समयमै यो उद्योगले नेपालको कुल माछा दाना बजारको ३३ प्रतिशत हिस्सा ओगटिसकेको छ। ‘पानीमा हाल्दा तैरिने दाना उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो दाना उद्योग हाम्रो हो’, पुरी दाबी गर्छन्।

माछालाई तैरिने दाना खुवाउनु राम्रो मानिन्छ। नार्कका निवृत्त वरिष्ठ मत्स्य वैज्ञानिक जयदेव विष्ट भन्छन्, ‘तैरिने दाना खुवाउँदा भुइँमा खेर जाने अंश कम हुनुका साथै माछाले दाना खाए-नखाएको थाहा पाउन र रोगको संक्रमण छ कि छैन भनेर पहिचान गर्न सहज हुन्छ।’

अहिले पनि वार्षिक करिब १० हजार मेट्रिक टन माछा दाना विदेशबाट आयात हुन्छ। अन्नपूर्णको वार्षिक क्षमता ३३ हजार मेट्रिक टनसम्म छ।

पूर्वको झापादेखि पश्चिम कञ्चनपुर र केही पहाडी जिल्लासम्म अन्नपूर्णको दाना पुग्ने गरेको छ। उद्योगले स्थापनाको पहिलो वर्ष (२०८०) मा ७ करोड ९० लाखको कारोबार गरेकोमा २०८१ सालमा आइपुग्दा यो आँकडा एकैपटक ३९ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा झन्डै ५२ करोडको कारोबार गरेको कम्पनीले ७ हजार ८ सय मेट्रिक टन दाना उत्पादन गरेको थियो। अब कम्पनीले निकट भविष्यमै १० लाख ९ हजार ५३१ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको तयारी समेत गरेको छ।

किसानको लागत घटाउने दाबी

अन्नपूर्णले माछाको तौल बढाउने तत्त्वहरू सहित ०.८ एमएमदेखि ६ एमएमसम्म १४ प्रकारका दाना र ह्याचरी पाउडर उत्पादन गर्दै आएको छ। १०, २० र ३५ केजीको प्याकेजिङमा उपलब्ध दानामध्ये ३५ केजीको प्याकेट बढी खपत हुन्छ, जसको मूल्य किसानलाई प्रतिकेजी ९० देखि ९५ रुपैयाँसम्म पर्छ।

परम्परागत दाना, ढुटो वा पिना खुवाइरहेका किसानलाई व्यावसायिक दानाको प्रयोग र फाइदाबारे बुझाउनु उद्योगको अर्को चुनौती हो। उद्योगको दाबी अनुसार, फर्मेन्टेड (तयारी) दाना खुवाउँदा माछाको वृद्धिदर बढेको छ भने ‘फिड कन्भर्सन रेसियो’ (एफसीआर) घटेको छ।

सामान्यतया परम्परागत २ केजी दाना खुवाउँदा १० महिनामा १ केजीको माछा तयार हुन्छ। भारतीय दाना १.८ केजी खुवाउँदा ८ महिना लाग्छपुरी भन्छन्, ‘तर हाम्रो १.२ देखि १.५ केजी दाना खुवाउँदा ६ महिनामै १ केजीको माछा तयार भएको छ।’

पहिले १०० ग्रामको पंगास माछाको भुरा हाल्दा १२० देखि १३० दिनमा १ केजी हुने गरेकोमा अहिले ९० दिनमै उत्पादन भइरहेको उद्योगको भनाइ छ। यसले किसानको उत्पादन लागत प्रतिकिलो २२० रुपैयाँबाट घटेर १३० रुपैयाँमा झरेको पुरी बताउँछन्। ट्राउट माछामा पनि १८ महिनामा २५० ग्राम हुने वृद्धिदर छोटिएर ९ महिनामा आइपुगेको उनको दाबी छ।

करको मार र कच्चा पदार्थको चुनौती

दाना उत्पादनका लागि मकै, ढुटो र गहुँ बाहेक अन्य अधिकांश कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्छ। १२ प्रकारका कच्चा पदार्थ, ढुसी लाग्न नदिने केमिकल र भिटामिन सहित २० थरी सामग्री आयात गरिन्छ। जसमा करिब ६० प्रतिशत कच्चा पदार्थ बाहिरबाटै आउँछ।

स्वदेशमै उत्पादन गरे पनि सरकारी कर नीतिका कारण भारतीय दानासँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको पुरीको गुनासो छ। ‘कच्चा पदार्थ आयात गर्दा औसतमा १०/११ प्रतिशत भन्सार महसुल पर्छ, तर विदेशी तयारी दाना जम्मा ५ प्रतिशत भन्सार तिरेर नेपाल भित्रिन्छउनी भन्छन्, ‘नेपालमै दाना उत्पादन गर्छु भन्दा ६ प्रतिशत अतिरिक्त कर छ, त्यो मर्का खेपेर पनि हामी विदेशी दानासँग प्रतिस्पर्धा गरिरहेका छौं।’

हाल नेपालमा करिब ८ वटा दाना उद्योग सञ्चालनमा छन्, जसमध्ये धेरैले पोल्ट्री र माछा दुवैको दाना उत्पादन गर्छन्। माछाको मात्रै दाना उत्पादन गर्ने र ठूला भुराका लागि फरक साइज, जस्तै भारतीय उद्योगले प्रायः नबनाउने २ एमएमको दाना, उत्पादन गर्ने रणनीति अन्नपूर्णले लिएको छ।

अहिले पनि वार्षिक करिब १० हजार मेट्रिक टन माछा दाना विदेशबाट आयात हुन्छ। अन्नपूर्णको वार्षिक क्षमता ३३ हजार मेट्रिक टनसम्म छ। तर, हाल बजारको माग अनुसार वार्षिक ७ हजार मेट्रिक टन मात्र उत्पादन भइरहेको छ।

३० जनालाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योग हाल दैनिक एक सिफ्ट मात्र चल्छ। आगामी वर्ष १२ हजार मेट्रिक टन उत्पादन गर्दै पाँच वर्षभित्र पूर्ण क्षमतामा चलाउने लक्ष्य राखिएको छ।

भविष्यको बाटो: भुरादेखि एक्वेरियमसम्म

नेपालमा माछाको वार्षिक खपत निकै कम छ। एक व्यक्तिले वार्षिक सरदर ४.६४ केजी मात्र माछा खान्छन्, जबकि विश्व स्वास्थ्य मापदण्ड अनुसार यो कम्तीमा २१ केजी हुनुपर्छ। छिमेकी भारत, चीन र बंगलादेशमा प्रतिव्यक्ति खपत ३२ केजीभन्दा बढी छ।

हाल नेपालमा वार्षिक १ लाख ३१ हजार ११२ मेट्रिक टन माछा उत्पादन हुन्छ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ हजार ८८६ मेट्रिक टन माछा आयात भएको थियो।

माछाको दानामा मात्रै वार्षिक १ अर्बभन्दा बढी रकम विदेश गइरहेको परिप्रेक्ष्यमा अन्नपूर्णले आफ्ना उत्पादनलाई अझै विस्तार गर्ने योजना बनाएको छ। उद्योगले छिट्टै ‘एक्वेरियम माछा’ का लागि खुवाउने दाना व्यावसायिक रूपमा उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

यसका साथै, दुई वर्षभित्र पंगास माछाको भुरा स्वदेशमै ठूलो परिमाणमा उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। हाल भारतबाट पंगासका करिब ३ करोड भुरा नेपाल आउने गरेका छन्।

अहिले समयमा भुरा नपाउँदा किसानको पोखरीको चक्र नै बिग्रिएको छपुरी भन्छन्, ‘हामी केवल दाना बेच्ने मात्र होइन, किसानका लागि दाना, भुरा, फार्म म्यानेजमेन्ट र फाइनान्स सबैको एकीकृत प्याकेज उपलब्ध गराउने मोडलमा काम गरिरहेका छौं।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।