साना राष्ट्रको कूटनीति खोज्दै साँगादेखि वार्सासम्म
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकका डा. सरोजकुमार अर्याल पोल्याण्डको वार्सा विश्वविद्यालयमा राजनीति विज्ञान तथा अन्तर्राष्ट्रिय अध्ययन संकायमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्।
- उनी युरोपेली संघ र पोल्याण्डको नेशनल साइन्स सेन्टरद्वारा अनुदान प्राप्त १० लाख युरोभन्दा बढीका तीन अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनामा आबद्ध छन्।
- डा. अर्यालले भर्खरै प्रकाशित पुस्तकमा नेपाललाई केवल बफर स्टेटका रूपमा मात्र नभई स्वतन्त्र कूटनीतिक क्षमता भएको राष्ट्रका रूपमा व्याख्या गरेका छन्।
विश्व राजनीतिमा अमेरिका, चीन वा रूस जस्ता महाशक्ति राष्ट्रहरूको विदेश नीति र प्रभावलाई लिएर हजारौं अनुसन्धान भइरहेका छन्। तर, पोल्याण्डको प्रतिष्ठित वार्सा विश्वविद्यालयमा अध्यापनरत एक नेपाली अनुसन्धानकर्ताको जिज्ञासा भने भिन्न छ। उनी खोजिरहेका छन्– महाशक्तिहरूको छायाँमा उभिएका नेपाल जस्ता साना राष्ट्रले विश्व राजनीतिमा वास्तवमा कस्तो भूमिका खेल्न सक्छन्?
ती अनुसन्धानकर्ता हुन्, सिन्धुपाल्चोकका डा. सरोजकुमार अर्याल। अन्तर्राष्ट्रिय सम्बन्धमा साना राष्ट्रहरूको कूटनीति, दक्षिण एशियाली क्षेत्रीय सुरक्षा र विश्व शक्ति सन्तुलनमा उनको अनुसन्धान केन्द्रित छ।
अहिले ३५ वर्षको उमेरमै उनी वार्सा विश्वविद्यालयको राजनीति विज्ञान तथा अन्तर्राष्ट्रिय अध्ययन संकायमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। साथै, उनी युरोपेली संघ र पोल्याण्डको राष्ट्रिय विज्ञान केन्द्र (नेशनल साइन्स सेन्टर) द्वारा प्राप्त १० लाख युरोभन्दा बढी बजेटका तीन अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनामा आबद्ध छन्।
युद्धको छायाँमा बितेको बाल्यकाल
सरोजको जन्म सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११, पानीचौरमा भएको हो। तत्कालीन सशस्त्र द्वन्द्वले सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक थियो सिन्धुपाल्चोक। पेशाले प्राथमिक तहका शिक्षक रहेका बुबाको मध्यमवर्गीय परिवारमा हुर्किएका सरोजको बाल्यकाल बन्दुकका आवाज र त्रास बीच बित्यो
गाउँको जनजागृति उच्च माध्यमिक विद्यालयमा पढ्दा कहिले विद्यालय बन्द हुन्थ्यो त कहिले पढाइकै बीचमा युद्धको खबर आउँथ्यो। ‘हत्या र बम विस्फोटका खबर सामान्य जस्तै थिए। बन्दुक पड्केको आवाज सुन्दै विद्यालय जानुपर्थ्यो’, उनी ती दिन सम्झिन्छन्।

विद्यालयमा तत्कालीन माओवादी कार्यकर्ता नियमितजसो पुगेर ‘जनशिक्षा’ का नाममा आफ्ना राजनीतिक विचार सुनाउँथे। यद्यपि, सदरमुकाम जोड्ने सडकछेउमै घर भएका कारण उनको परिवारले अन्य कतिपय गाउँलेले जस्तो प्रत्यक्ष र गम्भीर हिंसात्मक पीडा भने भोग्नुपरेन। संयोग कस्तो भने, २०६२/६३ को जनआन्दोलन शुरु भएकै दिन उनले एसएलसी परीक्षा सकेका थिए।
रिसेप्सनिस्टदेखि वार्साको प्राध्यापकसम्म
एसएलसी र प्लस टु गाउँमै पूरा गरेपछि सरोज उच्च शिक्षाका लागि २०६५ सालमा काठमाडौं पुगे। नयाँबजारस्थित सिग्मा कलेजमा अंग्रेजी साहित्य र ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन शुरु गरे। राजधानीको महँगो बसाइ धान्न उनले क्षेत्रपाटीको एउटा होटलमा ‘रिसेप्सनिस्ट’ को जागिर शुरु गरे।
‘भन्नलाई रिसेप्सनिस्ट थिएँ, तर सरसफाइदेखि होटलका प्रायः सबै काम गर्नुपर्थ्यो’, उनी मुस्कुराउँदै सम्झन्छन्।
स्नातकपछि अंग्रेजी साहित्यमै स्नातकोत्तर गर्ने उनको योजना थियो। तर, काठमाडौंको ग्लोबल कलेज इन्टरनेसनल र पोल्याण्डको वार्सा विश्वविद्यालय बीच सञ्चालित ‘डुअल डिग्री’ कार्यक्रमको सूचनाले उनको बाटो मोडिदियो। साथीको सल्लाहमा उनले अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्ने निधो गरे।

एक वर्ष काठमाडौंमा पढेपछि सन् २०१३ मा उनी पहिलो पटक पोल्याण्ड पुगे। सन् २०१५ मा स्नातकोत्तर सकेर नेपाल फर्किंदा विनाशकारी भूकम्पले घर भत्किसकेको थियो। परिवार टेन्टमा बसेको देखेपछि उनले केही समय नेपालमै ‘बिल्ड चेन्ज’ नामक संस्था मार्फत पुनर्निर्माणमा काम गरे।
सन् २०१९ मा उनको जीवनले फेरि नयाँ मोड लियो। वार्सा विश्वविद्यालयका प्राध्यापक ज्याकुब जयोउच्कोव्स्कीको सल्लाह र त्यहाँ शुरु भएको पूर्ण छात्रवृत्तिको नयाँ व्यवस्थाले उनलाई विद्यावारिधि (पीएचडी) का लागि पुनः पोल्याण्ड पुर्यायो। चार वर्षमै उनले ‘शीतयुद्धपछिको युगमा भारत र मध्य एशिया’ विषयमा पीएचडी पूरा गरे। डिसेम्बर २०२४ देखि उनी सोही विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा स्थायी सम्झौतामा नियुक्त भए।
साना राष्ट्रको सामर्थ्य र १० लाख युरोको परियोजना
अर्यालका लागि अनुसन्धान भनेको तथ्यहरूको थुप्रो संकलन गर्नु मात्र होइन। उनी इतिहासले दिएका प्रमाणलाई नयाँ सैद्धान्तिक दृष्टिकोणबाट पुनः व्याख्या गर्छन्।
‘मेरो लागि ऐतिहासिक प्रमाण महत्त्वपूर्ण त हुन्छ नै। तर ती तथ्यलाई कुनै सिद्धान्त प्रयोग गरेर नयाँ ढंगले व्याख्या गर्न सकिन्छ कि सकिंदैन भन्ने कुरा अझ महत्त्वपूर्ण हो’, उनी भन्छन्।
अहिले उनी संलग्न तीन अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको कुल बजेट १० लाख युरोभन्दा बढी छ। त्यसमध्ये पोल्याण्डको नेशनल साइन्स सेन्टरको करिब ५ लाख युरो अनुदान रहेको एउटा ठूलो परियोजनामा उनी ‘सह-अन्वेषक’ हुन्। यो परियोजनाले रूस–युक्रेन युद्धप्रति ग्लोबल साउथका प्रभावशाली मुलुक (भारत, इन्डोनेसिया, मेक्सिको, ब्राजिल र दक्षिण अफ्रिका) को प्रतिक्रिया र त्यसले अन्तर्राष्ट्रिय व्यवस्थामा पार्ने प्रभावको अध्ययन गरिरहेको छ।

त्यसैगरी, नेशनल साइन्स सेन्टरकै करिब साढे २ लाख युरोको अर्को परियोजनामा उनी ‘मुख्य अनुसन्धानकर्ता’ हुन्, जसले पोल्याण्ड र दक्षिण कोरिया बीचको रक्षा सहकार्यको रणनीतिक आयाम अध्ययन गर्छ। युरोपेली संघको प्रतिष्ठित ‘होराइजन युरोप’ अन्तर्गतको करिब ४ लाख युरो बजेटको तेस्रो परियोजनामा पनि उनी आबद्ध छन्।
अन्तर्राष्ट्रिय मान्यता र पुस्तक प्रकाशन
प्राज्ञिक क्षेत्रमा डा. अर्यालको अनुसन्धानले राम्रो मान्यता पाइरहेको छ। उनले वार्सा विश्वविद्यालयमा सन् २०२४, २०२५ र २०२६ मा लगातार तीन वर्ष प्रतिष्ठित ‘रेक्टर अवार्ड’ प्राप्त गरेका छन्। करिब ५५ हजार विद्यार्थी र १० हजार कर्मचारी भएको विश्वविद्यालयमा यो सम्मान पाउनु प्राज्ञिक निरन्तरताको उच्च मापन हो।
सन् २०२४ मै उनले पोल्याण्डको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयबाट ‘उत्कृष्ट युवा वैज्ञानिक अवार्ड’ प्राप्त गरे, जसअन्तर्गत उनले सन् २०२८ सम्म मासिक फेलोसिप (अनुदान) पाउनेछन्।

उनी हालसम्म ५ वटा अन्तर्राष्ट्रिय पुस्तकका लेखक तथा सहलेखक बनिसकेका छन्। मनिषजंग पुलामीसँगको सहलेखनमा भर्खरै (सन् २०२५) प्रकाशित उनको पुस्तक ‘नेपाल एन्ड मेजर पावर्स इन द हिमालयाज’ ले नेपाललाई ‘बफर स्टेट’ (दुई ढुङ्गा बीचको तरुल) का रूपमा मात्र नहेरी, आफ्नै कूटनीतिक क्षमता मार्फत विश्व राजनीतिमा प्रभाव पार्न सक्ने साना राष्ट्रका रूपमा व्याख्या गरेको छ।
राउटलेज र पालग्रेभ म्याकमिलन जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट उनका पुस्तकहरू प्रकाशित छन्। उनको छैटौं पुस्तक सन् २०२७ मा अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट प्रकाशित हुने तयारीमा छ। ३५ वर्षको उमेरमै उनले ४० भन्दा बढी उच्चस्तरीय जर्नल लेखहरू प्रकाशित गरिसकेका छन्।
नेपाल अध्ययनमा नयाँ दृष्टिकोणको खाँचो
जर्मनी, अष्ट्रेलिया, ताइवान र इन्डोनेसियाका विश्वविद्यालयमा आफ्ना अनुसन्धान प्रस्तुत गरिसकेका डा. अर्याल नेपाल बारे अन्तर्राष्ट्रिय मञ्चमा अझै सीमित बुझाइ रहेको ठान्छन्।
‘नेपाललाई धेरैजसो हिमाल र पर्यटनसँग मात्र जोडेर हेर्ने गरिएको छ। त्योभन्दा बाहिरको राजनीतिक र रणनीतिक पक्ष अझै कमै बुझिएको छ’, उनी भन्छन्। नेपाल अध्ययनमा प्रायः भारतकेन्द्रित दृष्टिकोण हावी रहेको औंल्याउँदै उनी थप्छन्, ‘नेपाललाई स्वतन्त्र बौद्धिक र रणनीतिक इकाइका रूपमा अध्ययन गर्न जरूरी छ।’
विदेशमै रहेर पनि उनी नेपालसँग जोडिन र नीतिनिर्माता तथा प्राज्ञिक क्षेत्रसँग सहकार्य गर्न सधैं उत्सुक छन्। ‘मेरो काम जहाँ उपयोगी हुन सक्छ, त्यहाँ म योगदान दिन चाहन्छु’, उनी भन्छन्।
विस्फोट र बन्दुकको आवाज बीच शुरु भएको एउटा गाउँले ठिटोको यात्रा आज युरोपको प्राज्ञिक बहसमा साना राष्ट्रहरूको आवाज बुलन्द गर्ने तहसम्म पुगेको छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी