+

पाटनको कुमारीघरदेखि अष्ट्रेलियाको कर्पोरेट हाउससम्म

पाटनको कुमारी घरमा जीवित देवीका रूपमा १० वर्ष बिताएकी चनिरा बज्राचार्यलाई खुट्टाले हिंड्नुपर्दैनथ्यो। अरूले बोकेर जात्रा घुमाउँथे। तर सिंहासनबाट जमिनमा ओर्लिएपछि आफ्नै खुट्टाले हिंड्नुपर्‍यो। कठिन शैक्षिक तथा सामाजिक संघर्ष पार गर्दै उनी अष्ट्रेलियाली कम्पनीमा सिनियर क्रेडिट एनालिस्ट बनेकी छन्। तर कर्पोरेट दुनियाँ बाहेक पृष्ठभूमिमा फर्किएर उनी संस्कृति संरक्षणमा पनि सक्रिय छिन्।
पूरा सूची
Shares
चनिरा बज्राचार्य
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वकुमारी चनिरा बज्राचार्यले जीवित देवी रहँदाको १० वर्षको अनुभव र त्यसपछिको संघर्षपूर्ण जीवनबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
  • सिंहासनबाट सामान्य जीवनमा फर्किएपछि विद्यालयको वातावरण र सामाजिक घुलमिलमा आफूलाई अभ्यस्त बनाउन ठूलो संघर्ष गर्नुपरेको उहाँले बताउनुभयो ।
  • हाल उहाँ अष्ट्रेलियाली कम्पनीमा सिनियर क्रेडिट एनालिस्टका रूपमा कार्यरत रहँदै चर्या नृत्यमार्फत संस्कृति संरक्षणमा सक्रिय हुनुहुन्छ ।

२०५७ चैत । कुमारी छानिंदा चनिरा बज्राचार्य भर्खर पाँच वर्षकी थिइन्। कुमारी भएको केही समयपछि रातो मच्छिन्द्रनाथको भोटो जात्रामा उनले तत्कालीन राजा वीरेन्द्रलाई भेटिन्।

त्यो दरबार हत्याकाण्ड हुनुभन्दा ९ दिनअघिको कुरा थियो। तर, हत्याकाण्ड हुनुभन्दा चार दिनअघिदेखि कुमारी चनिराको आँखाबाट अनवरत आँसु बग्न थाल्यो।

म भर्खरै कुमारी भएको र स्कूल छुटेर घरभित्रै बस्नुपरेकाले रोएको होला भनेर परिवारले फकाउने प्रयास गर्नुभयो’, चनिरा सम्झिन्छिन्। तर, जसो गर्दा पनि उनको आँसु थामिएन। यो देखेर पुजारी र बुढापाकाहरूले कुमारी रुनुलाई अनिष्टको संकेत माने।

नभन्दै चौथो दिन नारायणहिटी दरबार हत्याकाण्डको खबर फैलियो। ‘देवीलाई केही जुठो पर्‍यो होला भनेर परिवारले क्षमा पूजा गर्ने तर्खर गर्दैगर्दा त्यो खबर आएको थियो’, चनिरा भन्छिन्। अनौठो संयोग के भने, खबर आउनुभन्दा केही छिनअघि मात्रै चनिराले रुन बन्द गरेकी थिइन्।

नेपाली परम्परामा जीवित देवी रुनु वा रिसाउनुलाई देशमा कुनै नराम्रो घटना हुने संकेतसँग जोडिन्छ। यस्ता रहस्यमय र पारम्परिक विश्वासको केन्द्रमा रहेर १० वर्ष बिताएकी चनिरा आज भने एउटी सामान्य र आत्मनिर्भर युवतीका रूपमा आफ्नो ‘दोस्रो जीवन’ बाँचिरहेकी छिन्।

सिंहासनबाट भुइँमा झर्दाको संघर्ष

आफ्नो परिचय दिनुपर्दा चनिरा कहिल्यै नाम मात्र भन्दिनन्। उनी भन्छिन्, ‘म पूर्वकुमारी हुँ, र त्यो मेरो जीवनको सबैभन्दा ठूलो परिचय हो।’

१० वर्षसम्म जीवित देवीका रूपमा बिताएको समयलाई उनी बोझ मान्दिनन्। जात्रा–पर्वमा रथ वा खटमा नगर परिक्रमा गराइँदा हजारौं मानिस श्रद्धाले झुकेको दृश्य उनको स्मृतिमा ताजै छ। तर, जब उनी कुमारीको सिंहासनबाट सामान्य जीवनमा फर्किइन्, तब शुरु भयो उनको वास्तविक संघर्ष।

पूर्वकुमारी बनेपछि सबैभन्दा कठिन कुरा के थियो? यो प्रश्नमा उनको उत्तर अप्रत्याशित हुन्छ- ‘हिंड्न सिक्नु।’

१० वर्षसम्म सार्वजनिक कार्यक्रममा अरूले बोकेर हिंडाउने जीवन पछि आफ्नै खुट्टाले सडकमा हिंड्नु उनका लागि विल्कुलै नयाँ अनुभव थियो। ‘पहिलो पटक त मलाई किन फेरि बोकेर लैजानुभएन जस्तो पनि लागेको थियो’, उनी हाँस्दै भन्छिन्।

त्यसपछि शुरु भयो विद्यालय, साथीभाइ, कक्षाकोठा र सामाजिक घुलमिलको संघर्ष। कुमारी हुँदा बाहिरी संसारसँग सीमित सम्पर्क भएकाले शुरुका दिनमा उनी निकै संकोची थिइन्। एकपटक कक्षामा प्रस्तुति (प्रिजेन्टेसन) दिन उठ्दा दुई मिनेटसम्म उनी केही बोल्नै सकिनन्। ‘म चुपचाप उभिएर फेरि बसें’, उनी सम्झिन्छिन्।

सामान्य लुगा लगाउनु पनि उनलाई अनौठो लाग्थ्यो। वर्षौंसम्म रातो पहिरनमा अभ्यस्त उनलाई अरू रङका कपडा आफ्नै जस्तो लाग्दैनथे। कुमारी छँदाका कतिपय बानी आज पनि कायमै छन्। उनले आजसम्म छालाको जुत्ता लगाएकी छैनन् र छालाका सामग्री प्रयोग गर्दिनन्। कसैले खाइसकेको खाना साझा गरेर (जुठो) खाने बानी अझै बसेको छैन। यी कुनै बाध्यात्मक नियम नभएर उनको व्यक्तित्वकै हिस्सा बनिसकेका छन्।

अन्तरिक्षको सपना र शिक्षाको खाडल

सानो छँदा चनिराको सपना अन्तरिक्ष विज्ञान पढ्ने थियो। ग्रह, नक्षत्र र ब्रह्माण्डले उनलाई सानैदेखि आकर्षित गर्थ्यो। तर, विज्ञान पढ्न प्रयोगशाला चाहिन्थ्यो, जुन अवसर उनलाई कुमारी जीवनका कारण सहज रूपमा उपलब्ध भएन।

कुमारी हुँदा शिक्षक आएर घरमै पढाउने गर्थे। तर त्यहाँ न प्रयोगशाला थियो, न अतिरिक्त क्रियाकलाप। सहपाठीको अभावले उनको सामाजिकीकरणमा ठूलो असर पर्‍यो। ‘मलाई शुरुमा बाहिरी पढाइमा भिज्न निकै गाह्रो भयो’, उनी भन्छिन्।

जब म कुमारी वा ताराको भेषभूषामा नृत्य गर्छु, मलाई मेरो अतीतसँग फेरि भेट भएको जस्तो लाग्छ- चरिना बज्रचार्य

यही भोगाइले आज उनलाई अर्को पुस्ताका कुमारीहरूका लागि बोल्न बाध्य बनाएको छ। काठमाडौं, पाटन वा भक्तपुर जहाँसुकैका कुमारी भए पनि उनीहरूका लागि सरकारले एउटै स्तरको शैक्षिक व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ। कुमारी घरभित्रै कम्प्युटर शिक्षा, संगीत, कला र खेलकुदको व्यवस्था हुनुपर्ने उनी बताउँछिन्।

अंकसँगको प्रेम र कर्पोरेट यात्रा

विज्ञान पढ्ने बाटो सहज नभएपछि उनले अर्को रुचि रोजिन्- अंक र हिसाब। समय, विधि र शुद्धतामा आधारित कुमारी जीवनले उनलाई व्यवस्थित सोच्ने बानी सिकाएको थियो।

कुमारी जीवन सकिएपछि उनलाई पढाउने विद्यालयले नै स्वयंसेवक शिक्षकका रूपमा बोलायो। उद्देश्य थियो- उनी विस्तारै सामाजिक वातावरणमा घुलमिल होऊन्। शुरुमा उनी कक्षाकोठाभन्दा बाहिर बसेर गृहकार्य जाँचिदिने र प्रशासनिक काम गर्थिन्।

उनको काम गर्ने व्यवस्थित र त्रुटिरहित शैली देखेर विद्यालयले उनलाई प्रशासन र लेखातर्फ लगायो। करिब आठ वर्ष विद्यालयको लेखा शाखामा काम गर्दै उनले स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरिन्।

नयाँ चुनौती खोज्ने क्रममा उनले केही कम्पनीमा आवेदन पठाइन्। पहिलो प्रयासमै अन्तर्राष्ट्रिय कम्पनीबाट अवसर आयो। आज उनी एउटा अष्ट्रेलियाली कम्पनीमा ‘सिनियर क्रेडिट एनालिस्ट’ का रूपमा कार्यरत छिन्। वित्तीय जोखिमको विश्लेषण र ग्राहकको आर्थिक अवस्था मूल्याङ्कनमा उनको भूमिका रहन्छ।

रोचक कुरा, जागिरका लागि आवेदन दिंदा उनले आफ्नो सीभीमा पूर्वकुमारीको परिचय कतै खुलाएकी थिइनन्। ‘पहिले मेरो कामले चिनोस् भन्ने चाहन्थें’, उनी भन्छिन्। पछि मात्रै सहकर्मीहरूले उनी नेपालको जीवित देवी थिइन् भन्ने थाहा पाए।

भ्रम चिर्दै, संस्कृति जोगाउँदै

कलेज पढ्न थालेपछि धेरैले उनलाई एउटै प्रश्न सोध्थे- ‘तपाईंलाई त कुमारी डान्स आउँछ होला नि?’

कुमारी डान्स’ भन्ने कुनै छुट्टै नृत्य हुँदैन। तर यही प्रश्नले उनलाई चर्या नृत्यतर्फ डोर्‍यायो। झण्डै एक दशकदेखि चर्या नृत्य अध्ययन गरिरहेकी उनी आज यसको प्रशिक्षक पनि हुन्। ‘जब म कुमारी वा ताराको भेषभूषामा नृत्य गर्छु, मलाई मेरो अतीतसँग फेरि भेट भएको जस्तो लाग्छ’, उनी भन्छिन्।

इन्टरनेटमा कुमारी परम्पराबारे भेटिने नकारात्मक र ‘बालशोषण’ जस्ता टिप्पणीले उनलाई सधैं बिथोल्थ्यो। त्यही भ्रम चिर्न उनी विदेशी पर्यटक, पत्रकार र अनुसन्धानकर्तासँग प्रत्यक्ष संवाद गर्छिन्।

विभिन्न ट्राभल एजेन्सीसँगको सहकार्यमा उनले हजारौं विदेशी पर्यटकलाई आफ्नो अनुभव सुनाइसकेकी छिन्। ‘परम्परामा सुधार आवश्यक छ भने तथ्यका आधारमा होस् तर, सुधार तथ्यका आधारमा होस्, भ्रम होइन’, उनको स्पष्ट धारणा छ।  

उनी वज्र डान्स मण्डल मार्फत बालबालिकालाई चर्या नृत्य सिकाउँछिन् भने ‘रत्नाकर धाः बाजा खलः’ को सचिवका रूपमा परम्परागत नेवाः बाजा संरक्षणमा पनि सक्रिय छिन्।

चनिराका लागि महिला सशक्तीकरण आदर्शका कुरा मात्र होइनन्। ‘महिला आर्थिक रूपमा सक्षम हुनैपर्छ। आफ्नै कमाइ भयो भने मात्र निर्णय गर्ने आत्मविश्वास आउँछ’, उनी भन्छिन्।

कुनै समय कक्षामा उभिएर दुई मिनेटसम्म एउटा शब्द बोल्न नसक्ने बालिका आज अन्तर्राष्ट्रिय कम्पनीमा विश्लेषक छिन् र सयौंलाई संस्कृति सिकाउँछिन्। जीवनले उनलाई देवी र साधारण नागरिक गरी दुईवटा परिचय दियो। आज उनी सिंहासनको त्यो सम्मानलाई समाज र संस्कृतिको हितमा रूपान्तरण गर्दै आफ्नै खुट्टामा उभिएकी छिन्।

लेखक
संगिता श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरकी वरिष्ठ उपसम्पादक हुन्। उनी कला र संस्कृतिबारे लेख्छिन्।