‘पिरियड प्यान्टी’ बाट घटाउँदै तनाव, जाेगाउँदै वातावरण
News Summary
Generated by OK AI. Editorially reviewed.- दिलिशा श्रेष्ठले आफ्नै स्वास्थ्य समस्या र असुविधाबाट प्रेरित भई नेपालमै पहिलोपटक पुनःप्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड 'फ्लोयी' को स्थापना गरेकी छिन् ।
- फ्लोयीको प्रयोगले ५० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् भने ५ लाखभन्दा बढी डिस्पोजेबल प्याड वातावरणमा फालिनबाट जोगिएको कम्पनीले जनाएको छ ।
- कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म सामुदायिक विद्यालयका किशोरीहरूलाई ३ हजारभन्दा बढी महिनावारी पेन्टी निःशुल्क वितरण गरिसकेको छ ।
फ्लोयी ब्रान्ड बनेको लगभग चार वर्ष बितिसक्यो। आज पनि आउने हरेक धन्यवाद सन्देशले संस्थापक दिलिशा श्रेष्ठलाई वर्षौंअघिको एउटा असहज दिन सम्झाइदिन्छ।
कसैले लेखेकी हुन्छिन्, ‘अब महिनावारीका बेला पनि निर्धक्क भएर यात्रा गर्न पाएँ।’ धेरै आमाले लेखेका हुन्छन्, ‘मेरी छोरीले अब महिनावारीका कारण कक्षा छुटाउनुपरेन।’
यस्ता सन्देशहरू उनका लागि ग्राहकका सामान्य प्रतिक्रिया मात्र होइनन्। ती त आफूले वर्षौंअघि शुरु गरेको यात्राले कसैको जीवनमा साँच्चै परिवर्तन ल्याइरहेको प्रमाण हुन्।
हरेक नयाँ सन्देशले उनलाई फेरि त्यही प्रश्नतिर फर्काइदिन्छ, जसले उनको जीवनको दिशा नै बदलिदिएको थियो- ‘यदि महिनावारी महिलाको शरीरको प्राकृतिक प्रक्रिया हो भने, त्यसलाई सहज बनाउने साधन किन यति असहज छन्?’
यो प्रश्न कुनै अनुसन्धान केन्द्रमा जन्मिएको थिएन। कुनै व्यापारिक योजना बनाउँदा पनि आएको थिएन। यो त आफ्नै जीवनमा पटक–पटक दोहोरिएको असहजताबाट जन्मिएको दिलिशाको प्रश्न थियो।
महिनावारी शुरु हुने दिनहरू दिलिशाका लागि सहज हुँदैनथे। बजारमा पाइने स्यानिटरी प्याड प्रयोग गर्दा छालामा र्यास आउँथ्यो, पोल्थ्यो र संक्रमण हुने डर सधैं रहन्थ्यो। महिनावारी शुरु हुनुभन्दा केही दिनअघिदेखि नै फेरि त्यही असहजता झेल्नुपर्ने चिन्ताले उनलाई सताउन थाल्थ्यो।

तर, त्यो पीडा उनको मात्र थिएन। घरभित्र, विद्यालयमा, कलेजमा र कार्यालयमा हजारौं महिलाले उही असहजता भोगिरहेका थिए। फरक यति मात्र थियो, धेरैले त्यसलाई ‘महिनावारी त यस्तै हो’ भनेर स्वीकार गरिसकेका थिए।
दिलिशाले भने त्यसलाई सामान्य मान्न सकिनन्। उनी पीडासँग सम्झौता गर्नेहरूमा होइन, त्यसको कारण खोज्नेहरूमा पर्थिन्। धेरै प्रश्नको उत्तर समयले दिन्छ। तर केही प्रश्न यस्ता हुन्छन्, जसको उत्तर आफैं खोज्नुपर्छ।
दिलिशाले पनि त्यही बाटो रोजिन्। त्यही खोजको नतिजास्वरूप नेपालकै पहिलो पुनःप्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड ‘फ्लोयी’ जन्मियो। आज फ्लोयी प्रयोग गर्ने महिलाको सङ्ख्या ५० हजार नाघिसकेको छ भने यसको प्रयोगले ५ लाखभन्दा बढी डिस्पोजेबल स्यानिटरी प्याड वातावरणमा थुप्रिनबाट जोगिएको छ।
२५ वर्षकै उमेरमा महिला उद्यमीका रूपमा स्थापित उनको कथा कुनै व्यापारिक योजनाबाट होइन, आफ्नै पीडालाई स्वीकार गर्न नसकेको क्षणबाट शुरु भएको थियो।
काठमाडौंको यात्रा र शिक्षा
धादिङ दिलिशाको जन्मथलो हो। पहाडको शान्त परिवेश, परिवारको माया र समुदायको आत्मीयता बीच उनको बाल्यकाल बित्यो। सामान्य परिवारमा हुर्किएकी उनी सानैदेखि मिलनसार, मिहिनेती र अरूलाई सहयोग गर्न रुचाउने स्वभावकी थिइन्।
उच्च शिक्षाका लागि उनी काठमाडौं आइन्। एउटा सानो जिल्लाबाट राजधानी पुग्दा उनले केवल ठेगाना मात्र बदलिनन्, सोच्ने दृष्टिकोण पनि विस्तार गर्दै लगिन्। उनले कक्षा ११ देखि स्नातकोत्तरमा ‘अन्तर्राष्ट्रिय व्यवस्थापन’ (आईएमबीए) सम्मको अध्ययन पूरा गरिन्।
उनका लागि शिक्षा केवल डिग्री हासिल गर्ने माध्यम थिएन। ‘शिक्षाले किताबको ज्ञानभन्दा धेरै कुरा सिकायो’ उनी भन्छिन्, ‘फरक पृष्ठभूमिका मानिससँग काम गर्न, उनीहरूबाट सिक्न र आफ्ना निर्णयलाई फराकिलो दृष्टिकोणबाट हेर्न सक्ने क्षमता विकास गरिदियो। कक्षाकोठामा सिकेको ज्ञानसँगै वास्तविक जीवनका अनुभवले पनि आज म यहाँसम्म आइपुग्न ठूलो भूमिका खेलेका छन्।’
कलेज पढ्दादेखि नै उनीभित्र केही नयाँ गर्ने हुटहुटी थियो। १७ वर्षको उमेरदेखि काम गर्दै आत्मनिर्भर बन्दै गएकी उनलाई समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसको जीवनमा केही अर्थपूर्ण परिवर्तन ल्याउने काम गर्न सके हुन्थ्यो भन्ने लागिरहन्थ्यो।
लकडाउनले उब्जाएको प्रश्न
२०७६ चैत, कोभिड–१९ महामारीका कारण देश लकडाउनमा थियो। धेरैका लागि त्यो समय अन्योल र डरको भए पनि दिलिशाका लागि आत्मचिन्तनको बन्यो।
महिनावारीका क्रममा आफूले भोग्ने समस्या त उनीसँग पहिल्यै थियो। लकडाउनका बेला उनले त्यसलाई अझ गहिरिएर अध्ययन गर्न थालिन्। महिलाहरूसँग कुरा गरिन्, साथीहरूसँग अनुभव सोधिन्। विदेशी अध्ययन-अनुसन्धान पढिन् र महिनावारीमा प्रयोग हुने उत्पादन बारे जानकारी खोजिन्। त्यसपछि उनलाई स्पष्ट भयो- यो समस्या उनको मात्र रहेनछ।
धेरै महिलाले प्याड प्रयोग गर्दा र्यास, एलर्जी, सङ्क्रमण र असहजता भोगिरहेका रहेछन्। अर्कोतर्फ, उनलाई अर्को कुराले पनि झस्कायो। हरेक महिना प्रयोग गरिएका प्याडहरू अन्ततः कहाँ पुग्छन्? एउटी महिलाले आफ्नो जीवनभर कति हजार प्याड प्रयोग गर्लिन्? ती सबै अन्ततः फोहोर बन्छन् र वर्षौंसम्म नकुहिने प्लास्टिकको थुप्रोमा बदलिन्छन्। स्वास्थ्यको समस्या एकातिर थियो, वातावरणको समस्या अर्कोतिर।

समस्यालाई पार लगाउने सहज विकल्प खोजिरहँदा विदेशमा ‘पिरियड पेन्टी’ लोकप्रिय बन्दै गएको उनले देखिन्। महिलाहरूले त्यसलाई सुरक्षित, आरामदायी र वातावरणमैत्री विकल्पका रूपमा प्रयोग गरिरहेका थिए। तर नेपालमा यस्तो उत्पादन थिएन।
त्यसपछि उनले एउटा निर्णय गरिन्- ‘यदि बजारमा आफूले खोजेको समाधान छैन भने, किन आफैं नबनाउने?’
अनुसन्धान र ‘बहार’ को साथ
निर्णय लिन सजिलो थियो, तर व्यवहारमा उतार्न सहज थिएन। उनीसँग न त तयार व्यावसायिक योजना थियो, न ठूलो लगानी नै। तर आइडियामाथिको विश्वास भने थियो।
उनले विभिन्न देशका उत्पादन अध्ययन गरिन्। कपडाको बनावटदेखि रगत सोस्ने तह, स्वास्थ्य सुरक्षादेखि डिजाइनसम्म सबै कुरा बुझ्न खोजिन्। स्नातक पढ्दै गर्दा नेपाली कपडाको म्यानुफ्याक्चर कम्पनीमा काम गरेकीले उनलाई कपडाको गुणस्तरको बारेमा केही ज्ञान थियो। जसले गर्दा उनलाई पिरियड पेन्टी बनाउन कस्तो कपडा प्रयोग गर्ने भनेर तय गर्न सजिलो भयो।
तर नेपालमा यस्तो उत्पादन बनाउने पूर्वाधार लगभग थिएन। मार्गदर्शन गर्ने विज्ञ कम, परीक्षण गर्ने प्रयोगशाला सीमित थिए। अर्थात्, उनी हिंड्न लागेको बाटोमा अघि कसैको पाइला परेको थिएन।
‘सबैभन्दा ठूलो चुनौती बजारको नभई अनुभव र अध्ययनको थियो’ उनी सम्झिन्छिन्, ‘उत्पादन बनाउनुअघि त्यसले महिलाको स्वास्थ्यमा कुनै जोखिम नपारोस् भन्ने सुनिश्चित गर्नुपर्ने थियो।’
उनले आफ्नो योजना सुनाउँदा ‘नेपाल यसको लागि तयार छैन’, ‘यो यहाँ चल्दैन’ जस्ता टिप्पणीहरू सुन्नुपर्यो। कतिपयले विषय नै संवेदनशील भएकाले यसमा लगानी गर्नु जोखिमपूर्ण हुने तर्क गरे। तर दिलिशा रोकिइनन्।

यही कठिन समयमा केही मानिस उनको जीवनमा ढाडस बने। सबैभन्दा महत्त्वपूर्ण नाम थियो- बहार कुमार। इम्प्याक्ट हब काठमाडौंका पूर्व निर्देशक बहार कुमारले शुरुदेखि नै ‘फ्लोयी’ को सम्भावनामा विश्वास गरे। अरूले ‘बजार तयार छैन’ भनिरहँदा उनले ‘आइडियालाई अझ बलियो बनाऊ’ भने।
‘कहिलेकाहीं एउटा व्यक्तिले तपाईंमाथि गरेको विश्वासले तपाईं आफैंमाथिको विश्वासभन्दा ठूलो शक्ति दिन्छ’, दिलिशा खुलेर स्वीकार्छिन्।
उनले आफ्नै पकेट खर्चबाट अनुसन्धानलाई अघि बढाइन्। कहिले कपडा किनिन्, कहिले नमूना तयार गरिन्। हप्तौंको मिहिनेत एउटै परीक्षणमा असफल हुन्थ्यो। तर प्रत्येक असफलताले उनलाई नयाँ कुरा सिकायो।
महानगरको साथदेखि कम्पनी दर्तासम्म
यही क्रममा उनले आफ्नो अवधारणा काठमाडौं महानगरपालिका र यूएनडीपीको सहकार्यमा सञ्चालन भएको ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने अभियानमा प्रस्तुत गरिन्। महिनावारी, महिला स्वास्थ्य र वातावरणलाई जोडेर नेपालमै पहिलो पटक ‘पिरियड पेन्टी’ बनाउने उनको योजनाले निर्णायकको ध्यान खिच्यो। अन्ततः उनको कम्पनी छनोट मात्र भएन, आर्थिक सहयोग समेत प्राप्त भयो।
आफ्नै पकेट खर्चबाट अघि बढिरहेको अनुसन्धानले पहिलो पटक संस्थागत साथ पाएको थियो। रकम आउन केही ढिलाइ भए पनि त्यसले उत्पादनलाई अन्तिम रूप दिन ठूलो भूमिका खेल्यो।
त्यसपछि उनले आफ्ना आइडिया केही साथीलाई सेयर गरिन्। ४ जना साथीले आइडिया मन पराएर जनही ५-५ लाख रुपैयाँ लगानी गरे। यसरी कुल २० लाखको लगानीमा २०७९ सालमा ‘फ्लोयी’ दर्ता भई सञ्चालनमा आयो।

उत्पादन अन्तिम चरणमा पुग्दै गर्दा यसलाई के नाम दिने भन्ने प्रश्न अगाडि थियो। दिलिशा चाहन्थिन्, नाम केवल ब्रान्डको परिचय नहोस्, त्यसले उनीहरूको उद्देश्य पनि बोलोस्।
अन्ततः उनीहरू ‘फ्लोयी’ (Flowyy) मा पुगे। अंग्रेजी शब्द ‘फ्लो’ को अर्थ हो- प्रवाह। महिलाको शरीरमा हुने प्राकृतिक रक्तस्राव पनि एउटा स्वाभाविक ‘फ्लो’ नै हो।
‘महिनावारीका कारण महिलाको जीवनको प्रवाह नरोकिओस्, उनीहरू पढ्न, काम गर्न र यात्रा गर्न पहिले झैं स्वतन्त्र रहून् भन्ने हाम्रो चाहना थियो’ उनी भन्छिन्, ‘त्यही सोचलाई जीवन्त राख्न ‘फ्लो’ मा ‘वाई’ थपेर ब्रान्डको नाम ‘फ्लोयी’ राखियो।’
टिकटकले दिएको बजार
उत्पादन हातमा थियो, तर बजारमा यसलाई कसरी पुर्याउने? अधिकांश महिलाले महिनावारी पेन्टीबारे सुनेकै थिएनन्। दिलिशाले ठूलो विज्ञापन अभियान चलाउनुको साटो सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम र टिकटक) लाई माध्यम बनाइन्।
‘यस्तो पनि हुन्छ र?’, ‘रगत सोस्छ त, चुहिंदैन?’ जस्ता अविश्वासले भरिएका प्रश्नहरूको उनले सरल भाषामा जवाफ दिन थालिन्।
फ्लोयीको पेन्टी महिनावारीमा मात्र नभई सुत्केरी (डेलिभरी) पछि हुने रक्तस्रावमा पनि प्रयोग गर्न सकिन्छ। महिनावारी सुक्ने बेलामा पटक–पटक हुने रक्तस्राव र सेतो पानी बग्ने समस्यामा पनि यो पेन्टी उपयोगी हुनसक्ने दिलिशा बताउँछिन्।

त्यसै बीच टिकटकमा राखिएको एउटा भिडियो अप्रत्याशित रूपमा भाइरल भयो। केही घण्टामै करिब तीन सय वटा महिनावारी पेन्टीको अर्डर आयो। त्यो फ्लोयीका लागि केवल व्यावसायिक सफलता थिएन, नेपाली महिलाले नयाँ विकल्पलाई स्वीकार्न थालेको पहिलो संकेत थियो।
त्यसपछि ग्राहकको सङ्ख्या बढ्दै गयो। एउटै महिलाले चारदेखि ६ वटासम्म किन्न र आफ्ना साथीभाइलाई सिफारिस गर्न थाले। फ्लोयीको प्रचार विज्ञापनले भन्दा धेरै प्रयोगकर्ताको अनुभवले गरिरहेको थियो।
आफूलाई ‘एक्सिडेन्टल इन्टरप्रेनर’ भन्न रुचाउने दिलिशाले व्यवसायलाई कहिल्यै नाफा कमाउने माध्यमका रूपमा मात्र हेरिनन्।
व्यवसायभन्दा परको लक्ष्य
आज फ्लोयी सफल नेपाली ब्रान्डका रूपमा स्थापित हुँदै गए पनि यसको उद्देश्य बिक्रीको सङ्ख्यामा मात्र सीमित छैन। नेपालका धेरै सामुदायिक विद्यालयमा किशोरीहरू अझै पनि महिनावारी भएकै कारण विद्यालय छुटाउन बाध्य छन्।
यही यथार्थ बुझेर दिलिशाले कम्पनीकै पहलमा सामुदायिक विद्यालयका किशोरीलाई निःशुल्क पिरियड पेन्टी वितरण गरिन्। उनका अनुसार अहिलेसम्म ३ हजारभन्दा बढी पेन्टी वितरण भइसकेका छन्। नागार्जुनस्थित श्री सीताराम माध्यमिक विद्यालयका २०० भन्दा बढी छात्रा र सिन्धुपाल्चोकको एक सामुदायिक विद्यालयका किशोरीहरूले यो सुविधा पाएका छन्।

कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) मोडल मार्फत यो अभियान विस्तार गर्ने योजना भए पनि सम्बन्धित निकायबाट अपेक्षित साथ नपाएको उनको गुनासो छ। ‘एउटा पेन्टीले कुनै किशोरीको पढाइ निरन्तर राख्न सक्छ भने, त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो’, उनी भन्छिन्।
दिलिशा नेपालमा महिलाले महिनावारी, यौन तथा प्रजनन स्वास्थ्य, विश्वसनीय जानकारी, सुरक्षित उत्पादन र आवश्यक परामर्श एउटै प्लेटफर्मबाट सहज रूपमा पाउन सक्ने ‘विमेन हेल्थ इकोसिस्टम’ निर्माण गर्न चाहन्छिन्।
‘फ्लोयी मेरो लागि एउटा उत्पादन मात्र होइन। मानिसहरूले यसलाई महिलाको स्वास्थ्य र आत्मविश्वाससँग जोडिएको उद्देश्यका रूपमा चिनून् भन्ने म चाहन्छु’, उनी भन्छिन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी